स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँग जर्मन सरकारको आर्थिक सहयोग तथा विकास मन्त्रालयअन्तर्गत दक्षिण एसिया महाशाखा तथा विकास प्रमुख बार्बरा सेफर र नेपालका लागि जर्मनीका राजदूत उडो भोल्जले भेट गरेका छन्।
भेटमा जर्मनीका विकास साझेदार संस्था केएफडब्ल्यू, जिआइजेड तथा पिटिबी नेपालका प्रमुख एवं प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो। भेटवार्ताका क्रममा नेपाल-जर्मनीबिच द्विपक्षीय सम्बन्ध, विकास सहकार्य तथा स्वास्थ्य क्षेत्रका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ। स्वास्थ्य पूर्वाधार विकास, स्वास्थ्य सेवा सुदृढीकरण तथा विभिन्न विकास परियोजनामार्फत जर्मन सरकारले नेपाललाई पुर्याउँदै आएको सहयोगबारे छलफल गरिएको स्वास्थ्यमन्त्रीको सचिवालयले जनाएको छ।
छलफलमा बोल्दै मन्त्री मेहताले नेपालको स्वास्थ्य क्षेत्रको विकास र सेवा विस्तारमा जर्मन सरकारबाट प्राप्त निरन्तर सहयोग तथा साझेदारीप्रति धन्यवाद व्यक्त गरिन्। उनले सरकारका प्राथमिकताका क्षेत्रमा विकास साझेदारहरूको सहकार्यले सेवा प्रवाहलाई थप प्रभावकारी, गुणस्तरीय र नागरिकमैत्री बनाउन महत्त्वपूर्ण योगदान पुग्ने बताइन्।
जर्मन प्रतिनिधिमण्डलले नेपालको विकास प्रयासप्रति आफ्नो प्रतिबद्धता पुनः व्यक्त गर्दै स्वास्थ्यसहित सरकारका प्राथमिकताका काममा सहयोग, साझेदारी र सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनायाे।