भारतले नेपाली चियाको निर्यातमा अवरोध गरेपछि ८३ वटा चिया उद्योग बन्द भएको विषय प्रतिनिधिसभामा उठेको छ। नेपाली कांग्रेसका सांसद नरेन्द्रकुमार केरुङले सदनको आकस्मिक समयमा बोल्दै चिया उद्योग संकटमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
सांसद केरुङका अनुसार नेपाली किसानले उत्पादन गरेको करिब तीन लाख किलो चिया भारतमा रोकिएको छ भने थप सात लाख किलो चिया उद्योगहरूको गोदाममै थन्किएको अवस्थामा रहेको छ।
निर्यात अवरुद्ध हुँदा चिया उद्योगका मजदुर तथा चिया टिप्ने श्रमिकहरूको रोजगारी प्रभावित भएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि सरकारले तत्काल पहल गर्नुपर्ने माग गरे। साथै, उनले नेपाल र भारतबिच सरकार-सरकार जिटुजी स्तरमा संवाद गरी चिया निर्यातमा देखिएको अवरोध हटाउन आग्रह गरे।
चिया निर्यात रोकिँदा उद्योग सञ्चालन, श्रमिकको रोजगारी र किसानको आम्दानीमा प्रत्यक्ष असर परेको भन्दै सांसद केरुङले सरकारले तत्काल कूटनीतिक पहलमार्फत समस्या समाधान गर्नुपर्ने बताएका छन्।