सन् १९९८ मा रोनाल्डोले ब्राजिललाई ब्याक टु ब्याक फाइनल पुर्याउन उत्कृष्ट प्रदर्शन गरेका थिए । सेमिफाइनलसम्म फिट रहेका रोनाल्डो फ्रान्सविरुद्धको फाइनलमा औसत देखिए । ब्राजिल फ्रान्ससँग ३–० ले पराजित भयो । यद्यपि, विश्वकप उपाधि जित्न नसके पनि प्रतियोगिताभर प्रेरणादायी प्रदर्शन गरेका कारण उनी उत्कृष्ट खेलाडी घोषित भएका थिए ।
विश्वकपमा उत्कृष्ट डेब्यु
विश्वकप इतिहासमा दुई राष्ट्रले उत्कृष्ट डेब्यु गरेका छन् । सन् १९६६ मा पोर्चुगलले पहिलोपटक विश्वकप खेल्दा तेस्रो स्थान रक्षा गरेको थियो । यसैगरी सन् १९९८ मा क्रोएसियाले विश्वकप डेब्युमै तेस्रो स्थान हात पारेको थियो ।
सर्वाधिक छनोट खेल्ने
इक्वेडरका स्ट्राइकर इभानले विश्वकप छनोटमा धेरै खेल खेलेर फरक रेकर्ड राखेका छन् । उनले सन् १९९४ देखि २००२ सम्म दक्षिण अमेरिकाबाट ६८ पटक छनोट खेलमा सहभागिता जनाएका छन् ।
धेरै जित हात पार्ने
जर्मन स्ट्राइकर मिरोस्लाम क्लोजको नाममा दुई रेकर्ड छ । पहिलो उनले विश्वकपमा व्यक्तिगत सर्वाधिक १६ गोलको कीर्तिमान राखेका छन् । यसैगरी विश्वकपमा एक खेलाडीले धेरै खेल जित्ने रेकर्ड पनि उनकै नाममा छ । सन् २००२ देखि २०१४ सम्म सहभागिता जनाउँदा उनले १७ खेलमा जित निकाले ।
रोसीले जिते दुई उपाधि
सन् १९८२ देखि विश्वकपमा खेलाडीलाई प्रदान गर्ने व्यक्तिगत पुरस्कारमा एउटा विधा थप भयो । त्यो थियो– प्रतियोगिताभर उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई ‘उत्कृष्ट खेलाडी’ उपाधि । स्पेनले आयोजना गरेको विश्वकपमा इटालीका पाओलो रोसीले उत्कृष्ट खेलाडी उपाधि र गोल्डेन बुटसमेत हात पारे । गोल्डेन बुट जित्दा उनले सर्वाधिक ६ गोल गरेका थिए । उनको ६ गोलको सहयोगमा इटाली विश्व च्याम्पियन बन्यो ।
पहिलोपटक २४ राष्ट्र
फिफाले सन् १९७८ पछि विश्वकपलाई परिमार्जित र सहभागीको संख्या बढाउने नीति बनायो । सन् १९८२ को विश्वकपमा पहिलोपटक सहभागिता संख्या बढ्यो । यसपटक १६ बाटै २४ टिमबिच प्रतिस्पर्धा भयो । ५२ खेलमा १४६ गोल भए । रंगशालामा दर्शकको औसत संख्या ४० हजार ५७१ रह्यो ।