आन्तरिक किचलोको दलदलमा ठुला विपक्षी दल : कांग्रेसमा रटान एकताको, अभ्यास फरक पार्टीको

संस्थापन र इतर पक्षले सातै प्रदेशमा गरे छुट्टाछुट्टै भेला

सोमबार, १ असार, २०८३
डिजिटल संस्करण

कानुनी र संगठनात्मक रूपमा कांग्रेस एउटै पार्टी भए पनि नेताहरूबिचको अविश्वास, गुटगत ध्रुवीकरण र समानान्तर गतिविधिले फरक पार्टीको झल्को दिन थालेको छ । विराटनगरमा आइतबार आयोजित इतर पक्षको प्रदेशस्तरीय भेलामा नेताहरूले कांग्रेस ‘व्यावहारिक रूपमा फुटिसकेको’ अभिव्यक्ति दिए । भनाइमा मात्रै होइन, व्यवहारमै कांग्रेसमा अलग पार्टीको अभ्यास भइरहेको छ । 

कांग्रेसमा गुटबन्दी नयाँ अभ्यास होइन, तर अहिले विभाजनउन्मुख देखिएको छ । संस्थापन र इतरपक्षल छुट्टाछुट्टै प्रदेशस्तरीय भेला सम्पन्न गरेका छन् । युवा भेला पनि छुट्टाछुट्टै भएका छन् । संस्थापन पक्ष १५औँ महाधिवेशनको तयारीमा अगाडि बढ्दा इतरपक्ष राष्ट्रिय भेलाको तयारीमा छ । कोशी भेलामा पूर्वमहामन्त्री एवं बिपी पुत्र डा. शशांक कोइरालाले पार्टी विभाजित भइसकेको घोषणा नै गरे । ‘लामो संघर्ष र ठुलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी छ । यो पार्टी आफैँ नटुक्रिएको, बरु यसलाई टुक्र्याइएको छ,’ कोइरालाले भने ।

इतरपक्षका नेता मीन विश्वकर्माले एकता कि विभाजन भन्ने सवाल संस्थापन पक्षमा भर पर्ने बताए । एकताको पक्षमा आफूहरूले धैर्य गरेको पनि उनको दाबी छ । ‘राष्ट्र विषम् परिस्थितिमा छ । यस्तो वेला कांग्रेस एकताबद्ध हुनुपर्छ भनेर हामीले जोड दिएका छौँ । हामीलाई विभाजित कांग्रेस होइन, एकताबद्ध र बलियो कांग्रेस चाहिएको छ । तर, विभाजित गर्ने कि एकता त्यो उहाँहरू (संस्थापन)कै काँधमा छ,’ उनले भने, ‘उहाँहरू एकलौटी रूपमा अघि बढ्नुभयो भने हामी पनि सोहीअनुसार अगाडि बढ्नुपर्ने हुन्छ । त्यसको विकल्प के नै रहन्छ र ?’

कांग्रेसमा सदस्यता अद्यावधिक धमाधम चलिरहँदा इतरपक्षका नेताहरूले नवीकरण गरेका छैनन् । कांग्रेस सहमहामन्त्री प्रकाश स्नेहीले विधि, विधान र सर्वोच्च अदालतको आदेशसमेत नमान्ने गतिविधिले निकास ननिस्कने बताए । विगतमा ७० प्रतिशतभन्दा कम सदस्यता नवीकरण भएको स्मरण गर्दै उनले योपटक ७० प्रतिशतभन्दा बढी सदस्यता अद्यावधिक भइरहेको बताए ।

निवेदन दिएर अझै अद्यावधिक गर्ने ठाउँ रहेको भन्दै कार्यक्रम राखेर गाली गर्दै हिँड्ने अभ्यास राम्रो नभएको चेतावनी दिए । ‘विधि, विधानलाई सबैले मान्नुपर्छ । सर्वोच्च अदालतको आदेशलाई सबैले सम्मान गर्नुपर्छ । तर, त्यसभन्दा बाहिर गएर जथाभावी बोल्दै हिँड्नु राम्रो होइन । निर्णयमा असहमति राख्न पाइन्छ, तर कार्यक्रम राखेर सभापतिलाई तल्लोस्तरको गाली गर्दै हिँडेर निकास निस्कँदैन । विशेष महाधिवेशनबाट कांग्रेस अगाडि बढिसक्यो । राज्यका निकायले मान्यता दिइसके । पश्चगमनको बाटोमा हिँड्न सकिँदैन,’ उनले भने ।  

क्रियाशील सदस्यताको काम भइरहेकाले त्यसलाई सर्वसम्मत टुंग्याउने ठाउँ रहेको पनि स्नेही बताउँछन् । कुनै पनि विषय पार्टीको विधानमा रहेर मिलाउन तयार रहेको उनले बताए । ‘जसरी हुन्छ, पार्टी फुटाएरै छाड्छौँ भन्ने हो भने त्यसको अर्थ के हुन्छ र ? त्यस्तो हो भने केही व्यक्तिले पार्टी छाड्दैमा केही फरक पर्दैन । हामी भिजन, दृष्टिकोणसहित अगाडि बढेका छौँ । उहाँहरू कार्यक्रम राखेर धम्क्याएर, तर्साएर हिँड्नुभएको छ, त्यसरी कहीँ पुगिँदैन,’ उनले भने । 

विश्लेषक प्राडा प्रेम शर्मा कांग्रेसमा प्रजातान्त्रिक अभ्यासमाथि नै प्रश्न उठ्ने गतिविधि भएको टिप्पणी गर्छन् । ‘कांग्रेसमा नयाँ र पुरानो पुस्ताको ठुलो ग्याप छ । पुरानाले नयाँलाई हेप्ने, नयाँको नेतृत्व नस्विकार्ने समस्या देखिएको छ । जमाना कहाँ पुगेको छ भन्ने पनि हेक्का नभएको देखिन्छ । विधिवत् रूपमा कांग्रेस फुटेको छैन । यस्तो अवस्थामा कांग्रेस फुट्छ भन्ने पनि लाग्दैन । तर, एकले अर्काको नेतृत्व स्विकार्न अप्ठेरो परेको छ,’ उनले भने । 

लिगेसीको कुरा उठ्ने कांग्रेसमा रुख चिह्न र चारतारे झण्डा संस्थापनतिर हुने र यो विरासतबाहेक अरूको अस्तित्व नै नहुने उनी बताउँछन् । ‘पुराना नेताहरूले विद्यावारिधि गर्नुभएको छ । तर, उहाँहरूले विधान र समयको मागलाई स्विकार्न सकेको देखिएन । प्रजातान्त्रिक अभ्यास पनि देखिएन । आफू पछि परिन्छ कि भन्ने लघुताभास देखिन्छ । त्यसैले, नयाँ पुस्ता अगाडि बढेको उहाँहरूले पचाउन सक्नुभएको छैन । समानान्तर गतिविधि बार्गेनिङको टुल हुन सक्छ,’ उनले भने ।

कतिले गरे सदस्यता अद्यावधिक ?
कांग्रेसका ६ लाख ८७ हजार ९३१ क्रियाशील सदस्यले सदस्यता अद्यावधिक गरेका छन् । जसमध्ये ५ लाख ३८ हजार ६२२ क्रियाशील सदस्यहरूले एनसी आइडी कार्ड प्राप्त गरिसकेको र १ लाख ४९ हजार ३०९ ले पेस गरेको स्वयं अद्यावधिक फारम डिजिटल प्रणालीमा प्रविष्ट भई वडा तहमार्फत अद्यावधिकको प्रक्रियामा रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिले जनाएको छ ।

कांग्रेसको १४औँ महाधिवेशनमा ८ लाख ८२ हजार ८१६ क्रियाशील सदस्य थिए । तीमध्ये १५ महाधिवेशनका लागि गत पुससम्म नवीकरण, नयाँ सदस्य बनेका र अद्यावधिक गर्न योग्य संख्या ७ लाख ८२ हजार २०९ रहेको कांग्रेसले जनाएको छ । क्रियाशील सदस्यता व्यवस्थापन समितिका सदस्य एवं सहमहामन्त्री प्रकाश स्नेहीका अनुसार सदस्यता व्यवस्थापन केन्द्रीय समितिको शनिबार बसेको बैठकले अनलाइनमार्फत प्रविष्ट भएका फारम वडा तहबाट ५ असारभित्र अनुमोदन गरिसक्न निर्देशन दिएको छ । 

‘अनलाइनमार्फत प्रविष्ट भएका फारम वडा तहबाट असार ५ गतेभित्र अनुमोदन गरिसक्न सदस्यता व्यवस्थापन केन्द्रीय समितिले निर्देश गरेको छ । तोकिएको समयसीमाभित्र वडा तहबाट अनुमोदन नभएमा विधानबमोजिम क्रियाशील सदस्यता प्राप्त गर्न÷नवीकरण गर्न योग्य सदस्यहरूलाई केन्द्रले स्वतः अनुमोदन गर्ने व्यवस्था मिलाइनेछ,’ उनले भने ।

इन्टरनेटको पहुँच अति कम भएका उच्च हिमाली क्षेत्रका केही जिल्लाहरू, विकट पहाडी जिल्लाका केही पालिकाहरू तथा क्रियाशील सदस्यता अद्यावधिक ढिलाइ भएका बारा र खोटाङ जिल्लाका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने समय ७ असारसम्म कायम गरिएको छ । त्यस्तै, विदेशस्थित नेपाली जनसम्पर्क समितिहरूका हकमा क्रियाशील सदस्यता अद्यावधिक गर्न १० असारसम्मको समय दिइएको छ । क्रियाशील फारम तथा अनलाइनमार्फत नयाँ क्रियाशील सदस्यता वितरण २० असारसम्म कायम गरिएको छ ।

क्रियाशील सदस्यता नवीकरण गरी अद्यावधिक गरिएका र नयाँ क्रियाशील सदस्यता वितरण गर्दा बुझाउनुपर्ने विधानबमोजिम तोकिएको शुल्क नबुझाई अद्यावधिक भएको वा नयाँ क्रियाशील सदस्यता प्रविष्टि गर्दा शुल्क नबुझाएको भए त्यस्ता क्रियाशील सदस्यहरूलाई यथाशीघ्र शुल्क बुझाउन लगाउन सम्बन्धित तहका सभापतिहरूलाई समितिले निर्देशन दिएको छ । तोकिएको शुल्क नबुझाउने क्रियाशील सदस्यले १५औँ महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने पनि समितिले स्पष्ट पारेको छ । 

क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र विविध कारणले वडाबाट नवीकरण र अद्यावधिक गर्न छुट हुन गएको भए सोको निरन्तरतासहित अद्यावधिक गर्न चाहने क्रियाशील सदस्यहरूले २० असारभित्रमा आफू क्रियाशील सदस्य रहेको प्रमाणसहित केन्द्रीय कार्यालयमा निवेदन दिन सक्ने स्नेहीले जानकारी दिए ।

जसले गरेनन् सदस्यता अद्यावधिक ?
निवर्तमान सभापति शेरबहादुर देउवा, निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, पूर्वउपसभापतिद्वय विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्रीद्वय डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलालगायत इतरपक्षका नेताहरूले सदस्यता अद्यावधिक गरेका छैनन् । प्रकाशशरण महत, बलबहादुर केसी, डा. मीनेन्द्र रिजाल, एनपी साउद, मीन विश्वकर्मा, रामहरि खतिवडा, सुजाता परियार, मोहन बस्नेत, सीता गुरुङ, केदार कार्की, कुन्दनराज काफ्लेलगायतका नेताहरूले पनि सदस्यता अद्यावधिक नगरेको एक सदस्यले जानकारी दिए ।

 विश्लेषक प्राडा प्रेम शर्मा भन्छन्–समानान्तर गतिविधि बार्गेनिङको टुल हुन सक्छ
कांग्रेसमा नयाँ र पुरानो पुस्ताको ठुलो ग्याप छ । पुरानाले नयाँलाई हेप्ने, नयाँको नेतृत्व नस्विकार्ने समस्या देखिएको छ । जमाना कहाँ पुगेको छ भन्ने पनि हेक्का नभएको देखिन्छ । विधिवत् रूपमा कांग्रेस फुटेको छैन । यस्तो अवस्थामा कांग्रेस फुट्छ भन्ने पनि लाग्दैन । तर, एकले अर्काको नेतृत्व स्विकार्न 

अप्ठ्यारो परेको छ । लिगेसीको कुरा कांग्रेसमा धेरै उठ्छ । कांग्रेसको विरासत रुख चिह्न र चारतारे झन्डा संस्थापनतिर हुन्छ । त्यो झन्डाबाहेक अरूको अस्तित्व हुँदैन । पुराना नेताहरूले विद्यावारिधि गर्नुभएको छ । तर, उहाँहरूले विधान र समयको मागलाई स्विकार्न सकेको देखिएन । प्रजातान्त्रिक अभ्यास पनि देखिएन । आफू पछि परिन्छ कि भन्ने लघुताभास देखिन्छ । त्यसैले, नयाँ पुस्ता अगाडि बढेको उहाँहरूले पचाउन सक्नुभएको छैन । समानान्तर गतिविधि बार्गेनिङको टुल हुन सक्छ ।

कोशी भेलामा पूर्वमहामन्त्री एवं  बिपीपुत्र डा. शशांक कोइरालाले भने– लामो संघर्ष र ठुलो बलिदानबाट बनेको कांग्रेस अहिले टुक्रिएको अवस्थामा पुग्नु पीडादायी छ । यो पार्टी आफैँ नटुक्रिएको, बरु यसलाई टुक्र्याइएको छ ।

कांग्रेस सहमहामन्त्री प्रकाश स्नेही भन्छन्–जसरी हुन्छ, पार्टी फुटाएरै छाड्छौँ भन्ने हो भने त्यसको अर्थ के हुन्छ र ? त्यस्तो हो भने केही व्यक्तिले पार्टी छाड्दैमा केही फरक पर्दैन । हामी भिजन, दृष्टिकोणसहित अगाडि बढेका छौँ । उहाँहरू कार्यक्रम राखेर धम्क्याएर, तर्साएर हिँड्नुभएको छ, त्यसरी कहीँ पुगिँदैन ।

सुझावित समाचार