आफन्तबाटै असुरक्षित

पछिल्ला ६ आर्थिक वर्षमा ३,५०२ व्यक्तिको हत्या हुँदा १,३४४ परिवारभित्रकै सदस्यबाट

आइतबार, ३१ जेठ, २०८३
डिजिटल संस्करण

आवेगको आगोमा बालबालिका पनि

  • प्रहरी तथ्यांक : आर्थिक वर्ष ०७७/७८ देखि ०८२/८३ वैशाखसम्म २११ बालक र १४२ बालिका आफन्तबाटै मारिएका छन् ।

मुलुकभर हरेक वर्ष औसतमा करिब ६ सयजनाको हत्या हुने गरेकामा तीमध्ये ३८.३८ प्रतिशत घटना परिवारभित्रकै सदस्य वा नाता–सम्बन्धमा आबद्ध व्यक्तिबाट हुने गरेको पाइएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार पारिवारिक विवाद, घरेलु हिंसा, सम्पत्ति विवाद, सम्बन्धगत तनावलगायत विभिन्न कारणले नाता–सम्बन्धभित्रै हत्या हुने गरेका छन् ।

तथ्यांकले परिवारभित्र हुने हत्यामध्ये श्रीमान्बाट श्रीमतीको हत्या हुने घटना सबैभन्दा बढी रहेको देखाएको छ । घरेलु सम्बन्धमा उत्पन्न हुने द्वन्द्व, हिंसा र अविश्वासका कारण यस्ता घटना दोहोरिने गरेको प्रहरीको विश्लेषण छ ।

मुलुकभर प्रत्येक वर्ष सरदर ६ सयजनाको हत्या हुने गरेकामा ३८.४१ प्रतिशत हत्या परिवारभित्रकै नाता–सम्बन्धबाट हुने गरेको पाइएको छ । नेपाल प्रहरीको तथ्यांकअनुसार एक ठोस नभई विभिन्न कारणले नाता–सम्बन्धबाटै हत्या हुने गरेको छ ।

पछिल्लो ७० महिनामा मुलुकभर एक हजार ९४० पुरुष र एक हजार २०९ महिला गरी तीन हजार ५०२ जनाको हत्या भएको छ । यसमा २११ बालक र १४२ बालिका छन् । प्रहरीका अनुसार ती हत्यामा एक हजार ३४४ जनाको अर्थात् ३८.४१ प्रतिशत हत्या परिवारभित्रकै नाता–सम्बन्धबाट भएको पाइएको छ ।

नेपाल प्रहरीका केन्द्रीय सह–प्रवक्ता दीपशमशेर जबराले औसतमा ३८ प्रतिशत हत्या परिवारभित्रै नाता–सम्बन्धबाट हुने गरेको बताए । ‘मुलुकभर प्रत्येक वर्ष सरदर ६ सयजनाको हत्या हुने गरेको देखिन्छ,’ ‘त्यसमध्ये ३८ प्रतिशत हत्या परिवारभित्रकै सदस्यबाट हुने गरेको देखिन्छ ।’

प्रहरीका अनुसार वैदेशिक रोजगार, बढ्दो बेरोजगारी, प्रविधिको दुरुपयोग, मादक पदार्थ सेवनजस्ता घटनाले परिवारभित्रको सौहार्दता कम बनाएको छ । सोही कारण यस्ता घटना हुने गरेको देखिन्छ ।’

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी जबराले परिवारभित्र पनि सबैभन्दा धेरै हत्या श्रीमान्बाट श्रीमतीको हुने गरेको बताए । यस अवधिमा श्रीमानले मात्रै ५४७ श्रीमतीको हत्या गरेका छन् । त्यस्तै, श्रीमतीबाट पनि श्रीमान्को हत्या भएका छन् । यस अवधिमा श्रीमतीले १०४ श्रीमान्को हत्या गरेको देखिन्छ ।

छोराबाट बाबुआमाको पनि हत्या भएको छ । तथ्यांकअनुसार यस अवधिमा छोराबाट १६२ बाबुआमाको हत्या भएको छ । त्यसबाहेक बाबुआमाले पनि आफ्ना छोराछोरीको हत्या गरेका छन् । यस अवधिमा बाबुआमाबाट ७२ छोराछोरीको हत्या भएको छ ।

यस अवधिमा काकाकाकीबाट २२ भतिजभतिजी र दाजुबाट ५२ भाइबहिनीको हत्या भएको छ । त्यसबाहेक ३८५ हत्या भने परिवारभित्रकै अन्य नाता–सम्बन्धबाट भएको देखिन्छ ।

त्रिभुवन विश्वविद्यालय समाजशास्त्र केन्द्रीय विभागका प्रमुख डा. पासाङ शेर्पाका अनुसार हत्यासम्बन्धी प्रत्येक घटनालाई एउटै दृष्टिकोणबाट विश्लेषण गर्न मिल्दैन । परिवारभित्र हुने हत्याका कारण सम्बन्धको प्रकृतिअनुसार फरक–फरक हुन सक्छन् ।

‘श्रीमान्–श्रीमतीबिच भएको हत्या, बाबुआमा र छोराछोरीबिच भएको हत्या तथा अन्य नाता–सम्बन्धमा भएका हत्याका कारण फरक–फरक हुन सक्छन् । श्रीमान्–श्रीमतीबिच तनावको कारण अवैध सम्बन्ध हुन सक्छ भने बाबुआमा र छोराछोरीबिच सम्पत्तिसम्बन्धी विवाद कारण बन्न सक्छ,’ उनले भने, ‘परिवारभित्रका अन्य नाता–सम्बन्धमा भएका हत्याका कारण पनि भिन्न हुन सक्छन् । तर, अधिकांश घटनाको पृष्ठभूमिमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा आर्थिक पक्ष जोडिएको देखिन्छ, जसको सम्बन्ध बेरोजगारी, गरिबी र वैदेशिक रोजगारसँग समेत हुन सक्छ ।’

नेपाल प्रहरीको तथ्यांकअनुसार पछिल्लो ७० महिनामा मुलुकभर कर्तव्य ज्यानसम्बन्धी तीन हजार ३६३ मुद्दा दर्ता भएका छन् । तीमध्ये एक हजार २९२ घटनामा परिवारभित्रकै सदस्य संलग्न रहेको देखिएको छ । यो कुल दर्ता भएका घटनाको ३८.४१ प्रतिशत हो ।

तथ्यांकअनुसार उक्त अवधिमा श्रीमान्बाट श्रीमतीको हत्या भएका ५२६ घटना दर्ता भएका छन् भने श्रीमतीबाट श्रीमान्को हत्या भएका १०० घटना दर्ता भएका छन् । त्यसैगरी, छोराबाट बाबुआमाको हत्या भएका १५६ तथा बाबुआमाबाट छोराछोरीको हत्या भएका ६९ घटना दर्ता भएका छन् ।

यस्तै, काकाकाकीबाट भतिजाभतिजीको हत्या भएका २१ तथा दाजुभाइ वा दाजुबाट भाइबहिनीको हत्या भएका ५० घटना दर्ता भएका छन् । बाँकी ३७० घटना भने परिवारभित्रका अन्य नाता–सम्बन्धसँग सम्बन्धित रहेका छन् ।

नेपाल प्रहरीका केन्द्रीय सहप्रवक्ता एसएसपी जबराले भने मुद्दा दर्ताको आधारमा हेर्दा करिब ३८ प्रतिशत कर्तव्य ज्यानका घटनामा परिवारभित्रकै सदस्य संलग्न देखिन्छन् । यसले हत्याजस्तो गम्भीर अपराधमा पनि पारिवारिक सम्बन्धभित्रको द्वन्द्व महत्वपूर्ण कारकका रूपमा रहेको संकेत गर्छ ।

नाता–सम्बन्धभित्रबाट भएका हत्याका पछिल्ला सात घटना

घटना १ : सामाजिक सञ्जालमा ‘नेपाली ब्रो’बाट परिचित ३८ वर्षीय कुमार थापाले तारकेश्वर नगरपालिका– ६, लोलाङको पैँयुटारमा गत शुक्रबार ४२ वर्षीया ईश्वरी भुजेलको हत्या गरेका छन् । मृतक भुजेल थापाकी श्रीमती हुन् । प्रेमविवाह गरेका दुईबिचको सम्बन्ध सुमधुर थिएन । यही क्रममा भुजेलले थापाविरुद्ध प्रहरीमा वैवाहिक बलात्कारको मुद्दा दर्ता गरेकी थिइन् । त्यसबाहेक दुईबिच सम्पत्तिसँग सम्बन्धित विवाद पनि चल्दै थियो ।

ईश्वरी भुजेल

यही क्रममा थापाले भुजेललाई बेलुका बाटो ढुके । उनलाई घरमा लिएर गए । भुजेललाई चक्कु र रड प्रहार गरे । चोटका कारण भुजेल घटनास्थलमै ढलिन् । उनलाई उपचारका लागि महाराजगन्जस्थित शिक्षण अस्पताल लगियो । तर, उनको उपचार हुन सकेन । भुजेल नेपाली सेनाको सुबेदार हुन् । उनी शुक्रबार कार्यालयबाट घर फर्केकी थिइन् । सोही क्रममा थापाले उनको बाटो ढुकेका थिए । घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले थापासहित नुवाकोट तारकेश्वर गाउँपालिका– ४ का ३६ वर्षीय विक्रम थापामगर, काठमाडौं महानगरपालिका– १६, बालाजुका ४० वर्षीय पुजन थापा क्षेत्री र जुम्लाको हिमा गाउँपालिका– १ घर भएकी २५ वर्षीया प्रतीक्षा आचार्यलाई पनि पक्राउ गरेको छ । हत्यामा संलग्न थापा पनि नेपाली सेनाका पूर्वजवान हुन् । पछि उनले जागिर छाडेका थिए । त्यसपछि उनी रेस्लिङमा संलग्न भएका थिए ।

घटना २ : सिन्धुली कमलामाई नगरपालिका– ४, धुराबजारकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनको हत्या भयो । प्रहरीले घटनाको अनुसन्धान गर्‍यो । अनुसन्धानपछि खुल्यो– बम्जनको हत्या उनकै नन्द ३५ वर्षीया मीना बम्जनले गरेकी थिइन् । घटनामा उनकी सासू मायारानी बम्जन पनि संलग्न थिइन् । सुशीलाको गत ६ पुसको साँझ करिब ४ बजे धुराबजारस्थित दुईतले घरको किचनमा पेट्रोल खन्याएर आगो लगाई हत्या गरिएको थियो । घटनालगत्तै प्रहरीले उनकी नन्द मीनासहित सासू मायारानीलाई पक्राउ गरेको थियो । त्यस वेलासम्म उनीहरूले घटनामा संलग्नता नभएको दाबी गर्दै आएका थिए । अनुसन्धानपछि भने मीनाले घटना स्वीकार गरेकी थिइन् ।

सुशीला बम्जन

प्रहरीका अनुसार मीनाले घटना हुनु केही घण्टाअघि मात्रै नजिकैको बजारबाट प्लास्टिकको दुईवटा बोतलमा चार लिटर पेट्रोल किनेर ल्याएकी थिइन् । सात वर्षीय दुई छोरा र छोरीलाई ट्युसन सेन्टरबाट घर ल्याएकी सुशीला किचेनमा प्रवेश गरेकी थिइन् । सोही क्रममा मीनाले लुकाएर राखिएको पेट्रोल सुशीलाको शरीरमा खन्याएकी थिइन् । आगो लगाएर बाहिर निस्केकी उनले किचनको ढोका बन्द गरेकी थिइन् । सुशीला भने बन्द किचेनमा गुहार माग्दै थिइन् । 

दृश्य देख्न नसकेपछि प्यारालाइसिसबाट थलिएका सुशीलाका ससुरा दुर्गाबहादुर बम्जन ह्विलचियरमै गुडेर किचेनको ढोका खोल्न पुगेका थिए । जल्दै गरेकी सुशीला सोही क्रममा बाहिर निस्केकी थिइन् । सोही चोटका कारण उनको मृत्यु भएको थियो ।

घटना ३ : जिल्ला हुलाक कार्यालय खोटाङका प्रमुख कुलप्रसाद आचार्य आफ्ना दुवै छोरा सरकारी सेवामा अधिकृत भएको हेर्न चाहन्थे । जवान हुँदासम्म पनि खर्चको सबै दायित्व व्यहोरेर छोराहरूलाई लोकसेवा तयारी कक्षामा लगाए । तर, अन्तमा उनै छोराले उनको प्राण लिए । 
६ पुस ०८१ मा जेठा छोरा २६ वर्षीय मिलन आचार्यले ‘डम बेल’ले प्रहार गरी कुलप्रसादको हत्या गरेका थिए । ६ पटक नायब सुब्बा र एकपटक अधिकृत परीक्षामा असफल भएका मिलन तनावमा थिए । कुलप्रसादले मिलनलाई जागिर खान दबाब दिँदै आएका थिए । दबाब झेल्न नसकेका उनले अन्ततः बुबा मात्र होइन, भाइ २२ वर्षीय प्रवीण आचार्यको पनि हत्या गरे । गत ८ पुसमा उनीहरूको मृत शरीर भक्तपुरको सूर्यविनायकस्थित घरमा फेला परेको थियो ।

घटना ४ : ओखलढुंगा खिजिदेम्बा गापा– ६ की ८२ वर्षीया ठगमाया सुनुवार १३ वर्षीय नातिलाई गाली गरिरहन्थिन् । गत ७ मंसिरको साँझ सुनुवार नातिसँगै थिइन् । अगेनामा आगो ताप्दै बसेकी सुनुवारले नातिलाई पुनः गाली गर्न थालिन् । झोक्किएका नातिले आगो फुक्ने ढुंग्रो हातमा लिए । र, हजुरआमाको टाउकोमा प्रहार गरे । सोही चोटका कारण उनको ज्यान गयो । हत्यामा संलग्न नातिलाई अहिले बाल सुधारगृह पठाइएको छ ।

घटना ५ : काभ्रे रोशी गापा– ३, भन्ज्याङ गाउँकी साहिँलाकाजी भनिने पाल्छङ लामाकी श्रीमती ६९ वर्षीय माइली लामाको मृतशरीर घरको भान्सा कोठामा भेटियो । गत १६ कात्तिकमा मृत अवस्थामा भेटिएकी माइलीको टाउकोमा गम्भीर चोट थियो । उनको कानमा रहेको सुनको गहना गायब थियो । अनुसन्धानका क्रममा खुल्यो–उनको हत्यामा आफ्नै कान्छा छोरा २८ वर्षीय फुर्साङ लामा संलग्न रहेछन् । कानमा लगाएको सुनको रिङ र नगद लुट्न उनले आमा माइलीलाई लोहोरो प्रहार गरी हत्या गरेका थिए ।

घटना ६ : ताप्लेजुङ मेरिङ्देनका ५६ वर्षीय श्याम बहादुर लिम्बूलाई आफ्नै छोरा ३० वर्षीय सुमन लिम्बूले गत १७ असोजमा बाम्फक प्रहार गरे । गहिरो चोटका कारण उनी घटनास्थलमा नै ढले । अन्तत उनको मृत्यु भयो । प्रहरीका अनुसार घरायसी विवाद बढ्दै जाँदा सुमन उत्तेजित भएका थिए । रिस थाम्न नसकेपछि उनले दाउरा काट्ने बम्फक हातमा लिए । र, बुबालाई प्रहार गरे ।

घटना ७ : ललितपुर कोन्जोमसोम गापा– ३, दलचोककी २१ वर्षीया प्रमिला भण्डारीले काखमा रहेकी २३ महिनाकी छोरी प्रिन्सिकालाई मरणासन्न हुने गरी पिटिन् । उत्तेजित बनेकी उनको रिस अझै थामिएन । उनले बेहोस छोरीलाई लिएर दलचोकस्थित सिलिंगेबेँसी आपबोट हुँदै बग्ने ठोस्ने खोला पुगिन् । र, छोरीलाई सोही खोला फ्याँकिन् । प्रिन्सिकाको मृत्यु भयो । प्रमिला पक्राउ परिन् ।
 

See More On

सुझावित समाचार