नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ बमोजिम नेपाल लेखामान बोर्ड को अध्यक्षमा वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट (सिए) रमेशकुमार नियुक्त गरेको छ।
सिन्धुपाल्चोकको चौतारा नगरपालिकाका धिताललाई सरकारले लेखा व्यवसाय तथा वित्तीय प्रतिवेदन प्रणालीलाई अझ व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यका साथ उक्त जिम्मेवारी सुम्पिएको हो।
अर्थ मन्त्रालयका अनुसार धितालसँग लेखापरीक्षण, वित्तीय परामर्श, जोखिम व्यवस्थापन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय वित्तीय प्रतिवेदन मान कार्यान्वयनको क्षेत्रमा दुई दशकभन्दा बढी अनुभव रहेको छ। नेपालमा लेखामान कार्यान्वयन, बैंक तथा वित्तीय संस्थाहरूमा प्रणाली लागू गर्न उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका छन्। साथै, सूचना प्रविधि (आइटी) लेखापरीक्षणलाई थप विशिष्टीकृत र प्रभावकारी बनाउन पनि उनको उल्लेखनीय योगदान रहेको बताइएको छ।
धितालले आफ्नो व्यावसायिक यात्रा विश्वप्रसिद्ध ‘बिग फोर’ वित्तीय परामर्श कम्पनीमध्ये एक अर्न्स्ट एन्ड यंग मुम्बईबाट सुरु गरेका थिए। उनले नेपाल राष्ट्र बैंक, नेपाल विद्युत् प्राधिकरण, नेपाल एयरलाइन्स, बिमा प्राधिकरणलगायतका संस्थाका साथै दर्जनौँ बैंकिङ, वित्तीय तथा बहुराष्ट्रिय कम्पनीहरूको लेखापरीक्षण र परामर्श सेवामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन्। यसबाहेक, एसियाली विकास बैंकका विभिन्न परियोजनामा समेत उनले विभिन्न जिम्मेवारी सम्हालिसकेका छन्।
व्यावसायिक नेतृत्वका दृष्टिले पनि धिताल सक्रिय रहँदै आएका छन्। उनी नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघमा उपाध्यक्ष तथा महासचिवको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका छन्। साथै, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाको अनुशासन समितिलगायत विभिन्न समितिमा रहेर काम गरेका उनी हाल परीक्षा समिति सदस्यका रूपमा कार्यरत छन्।