सात प्रदेशका गोदाममा कति छ युरिया र डिएपी मौज्दात ?

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

कृषि सामग्री कम्पनी लिमिटेडले देशभरका गोदाममा नौ करोड ८२ लाख ३५ हजार चार सय ५० किलो रासायनिक मल मौज्दात रहेको जानकारी दिएको छ । कम्पनीले ५० किलो दरका बोरामा मल उपलब्ध गराउँदै आएको छ । त्यसैले गोदाममा १९ लाख १९ लाख ६४ हजार बोरा मल रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले गोदामबाट जिम्मेवार सहकारी र स्थानीय तहले समयमै मल नउठाएको पनि दाबी गरेको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशका शाखा कार्यालयमा दुई लाख ३९ हजार ९० बोरा युरिया र ४१ हजार आठ सय ५२ बोरा डिएपी मौज्दात छ । त्यस्तै, पोटास ३२ लाख ४८ हजार आठ सय ५० केजी मौज्दात रहेको कम्पनीको तथ्यांक छ ।

मधेश प्रदेशका शाखा कार्यालयमा ६ लाख २२ हजार ६ सय २४ बोरा युरिया र दुई लाख २९ हजार एक सय २४ बोरा डिएपी मौज्दात रहेको मन्त्रालयले जानकारी दिएको छ । बागमतीमा ८१ हजार आठ सय ६६ बोरा युरिया र ११ हजार नौ सय ८३ बोरा डिएपी, गण्डकीमा आठ हजार एक सय ३२ बोरा युरिया र दुई हजार ६ सय १६ बोरा डिएपी, लुम्बिनीमा तीन लाख सात सय १७ बोरा युरिया र ९२ हजार आठ सय ७६ बोरा डिएपी, कर्णालीमा चार हजार दुई सय ४५ बोरा युरिया र एक हजार चार सय ४३ बोरा डिएपी तथा सुदूरपश्चिममा ४९ हजार ८२ बोरा युरिया र पाँच हजार आठ सय ६५ बोरा डिएपी मौज्दात रहेको मन्त्रालयले जनाएको छ ।

कृषि सामग्री कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक विष्णुप्रसाद पोखरेलले रासायनिक मलको उपलब्धतामा ठुलो समस्या नरहेको बताए । ‘अहिले रोपाइँको सिजन नभएकाले मलको माग हुन सकेको छैन,’ उनले भने, ‘गोदाममा रहेको मल बिस्तारै पालिकाको समन्वयमा सहकारीतर्फ परिचालन भइरहेको छ ।’ उनले रोपाइँका लागि युरिया मल पर्याप्त रहेको र डिएपी केही कम परिमाण मौज्दात रहेको बताए ।

सुझावित समाचार