नारायणी यातायातका कर्मचारीको लापरबाहीले अधिकांश सेवाग्राही ट्रायल दिनबाट वञ्चित

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण

नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका केही जिम्मेवार कर्मचारीको लापरवाहीका कारण अधिकांश सेवाग्राही ट्रायल परीक्षामा सहभागी हुन नपाएको गुनासो गरेका छन्।

गत मंगलबार मोटरसाइकलको लिखित परीक्षामा पास भएका सेवाग्राहीमध्ये बुधबार र शनिबारको ट्रायलमा करिब २० जना सहभागी हुन नपाएको गुनासो गरेका हुन्।

परवानीपुर गाउँपालिका–३ का १६ वर्षीय हरिओम यादवले लिखित परीक्षा पास गरेर बुधबार ट्रायल दिन गए पनि लाइनमा बसेकै बेला समय सकिएको भन्दै कर्मचारीहरूले फर्काएको बताए।

उनले बुधबार बिहान ६ देखि ८ बजेसम्म सञ्चालन भएको ट्रायल परीक्षामा सहभागी हुन लाइनमा बसेर पालो आउने बेलामा कर्मचारीहरूले समय सकिएको बताएपछि फर्किएको जानकारी दिए।

उनका अनुसार बुधबार ट्रायल दिन नपाएपछि सोही रसिद लिएर शनिबार ट्रायल दिन जाँदा नयाँ रसिद नभएको भन्दै पुनः फर्काइएको थियो।

शनिबार बिहान पनि पूर्वनिर्धारित बिहान ६ देखि ७ बजेसम्मको ट्रायल परीक्षामा अधिकांश सेवाग्राही ट्रायल दिनबाट वञ्चित भएको उनको भनाइ छ।

शुक्रबारको लिखित परीक्षामा पास भएका ८० जनामध्ये अधिकांशले एक घण्टाको समयमा ट्रायल दिन नपाएको अर्का सेवाग्राही मन्दीप कुमारले बताए।

उनका अनुसार ट्रायलका लागि १५० रुपैयाँको रसिद काटेर लाइनमा बसे पनि ट्रायल दिन नपाइएको हो। ट्रायल दिन नपाए पनि रसिदको रकम फिर्ता नभएको भन्दै उनले गुनासो गरे।

लिखित परीक्षा प्रमुखको जिम्मेवारी पाएका कम्प्युटर अधिकृत शेख रजाउल हकले बुधबार र शुक्रबारको लिखित परीक्षामा सहभागी संख्या तथा उत्तीर्ण संख्या बारे आफूलाई जानकारी नभएको बताए।

ट्रायल प्रमुख तथा सहायक शाखा अधिकृत रामसुन्दर महतोले निर्धारित समयमा आउने सेवाग्राहीलाई मात्र ट्रायलमा सहभागी गराइने र ढिलो आउनेलाई फर्काइने बताए।

उनले कर्मचारीहरू निर्धारित समयमा खटिने भएकाले सेवाग्राहीअनुसार चल्न नसकिने बताए। साथै शनिबारको ट्रायलमा कतिजना पास भए भन्ने प्रश्नमा कार्यालयमा आउन भन्दै फोन काटिदिए।

यातायात कार्यालयका कर्मचारीहरूले लिखित परीक्षाको नतिजा सार्वजनिक गरे पनि ट्रायलको नतिजा सार्वजनिक नगरेको सेवाग्राहीको गुनासो छ। उनीहरूले केही ढिलो गरेर नतिजा सार्वजनिक गर्ने बताए पनि अहिलेसम्म नतिजा सार्वजनिक गरिएको छैन। यस विषयमा नारायणी यातायात व्यवस्था कार्यालय वीरगञ्जका कार्यालय प्रमुख कुशेश्वर साहसँग जानकारी लिन खोज्दा उनी सम्पर्कमा आउन चाहेनन्।

ट्राफिक लाइट बिग्रिएपछि एक घण्टा ढिलो ट्रायल सुरु

शनिबार ट्रायल परीक्षा सुरु हुने समयमा ट्राफिक लाइट बिग्रिएपछि ट्रायल एक घण्टा ढिलो सुरु भएको सेवाग्राहीहरूले बताएका छन्। बिहान ५ बजेदेखि नै ट्रायल दिन लाइनमा बसेका सेवाग्राहीहरूले ट्राफिक लाइटकै कारण घण्टौँ लाइनमा बस्नुपरेको बताएका छन्।

सेवाग्राही यादवका अनुसार निर्धारित समयमा ट्रायल दिन पुगे पनि कर्मचारीहरूले मनपरी ढंगले समय सकिएको भन्दै ट्रायल नै नलिई फर्काउने गरेका छन्। उनले ट्राफिक लाइट बिग्रिएर ट्रायल एक घण्टा ढिलो सुरु हुँदा सेवाग्राहीले भोग्नुपरेको दुःखको जिम्मेवारी कसले लिने भन्दै प्रश्न गरे।

ट्रायल प्रमुख महतोले प्राविधिक समस्याका कारण ट्रायल परीक्षा ढिलो सुरु भएको र त्यसैले सेवाग्राहीहरूलाई लाइनमा बस्नुपरेको बताए।

सुझावित समाचार