अस्पतालपरिसरमा लटरम्म फलफूल

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण
  • चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालपरिसरमा सात सयभन्दा बढी लिचीका रुख छन् उत्तिकै संख्यामा आँपका रुख छन्  

अस्पताल भन्नेबित्तिकै धेरैको मनमा सेता भवन र भिडभाडको दृश्य आउँछ । उपचारको चटारो, बिरामीको भिड र पीडाको अनुभूति आउँछ । तर, चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालपरिसरमा पुग्दा यो दृश्य फरक देखिन्छ । वरिपरि हरियाली । रुखका डालीडालीमा चराचुरुंगीको चिर्बिर । लटरम्म फलेका आँप, कटहर र लिची । यही हरियालीको काखमा रोगसँग लडिरहेका छन् कैयौं क्यान्सरका विरामीहरू । काठमाडौं तथा अन्य सहरी क्षेत्रका स्वास्थ्य संस्थाहरू अस्तव्यस्त र साँघुरो भइरहेको वेला उक्त अस्पताल भने निकै फराकिलो र शान्त छ । सोहीकारण, क्यान्सरजस्तो जटिल रोगका बिरामी र आफन्तलाई वातावरणले पनि निको हुने आशा थप्छ ।

अस्पतालभित्र कैयौँ हरियाली रुख र फूल फुलिरहेका बगैँचाहरू छन्, जसले उपचारका लागि पुगेका बिरामी र आफन्तलाई थकान मात्रै होइन, रोगको पीडासमेत कम गराउँछ । कैयौँ बिरामी यस परिसरभित्र रहेको हरियाली बगैंचा र फूलहरू नियाल्छन् । क्यान्सरबाट थलिएको शरीरलाई अझ बलियो पार्छन् । बाँच्ने आशा र हौसला बढाउँछन् ।

हाल अस्पतालपरिसरमा लटरसम्म लिची पाकेका छन् । यहाँ पुगेका विरामीका आफन्तहरू अस्पतालको नजिकै रहेको लिची बगैँचामा पुग्छन् । चितवन घुम्न आएकाहरू पनि लिची र आँपको स्वाद लिन यही अस्पताल परिसरभित्रको बगैँचामा आउँछन् । ७५ बिघा क्षेत्रफलमा रहेको अस्पतालको हरियाली क्षेत्र पनि फराकिलो छ । बिचबिचमा बगैँचा छन् । फल फल्ने प्रजातिका रुखैरुख छन् । क्यान्सर उपचारका लागि चार दर्जनभन्दा बढी ब्लकहरू छन् । बिचबिचमा हरियाली रुख र चउर समेत छ, जसले यहाँ पुगेका बिरामीका आफन्तलाई शितलता मात्रै होइन, थकाइ र तनावमुक्त गराउँछ । ‘अहिले तराई क्षेत्रमा गर्मी हुने समय हो, चितवनमा पनि गर्मी छ, तर यहाँ पर्याप्त रुख बगैँचा छन्, फलफूल छानीछानी खान पाइन्छ,’ अस्पतालपरिसरमा भेटिएका दाङका श्यामकुमार थापाले भने, ‘अस्पतालभित्रको वातावरण निकै राम्रो छ, बिरामीलाई यो वातावरणले हौसला दिन्छ, शान्त र हरियाली हेर्दा आनन्द लाग्छ ।’ उनी यसअघि भाइलाई लिएर उपचारका लागि भक्तपुरस्थित क्यान्सर अस्पताल पुगेका थिए । त्यहाँको भिडले बिरामीलाई झन् कठिन भएकाले हाल चितवनमा उपचारका लागि ल्याएका छन् । ‘यहाँ अलिकति गर्मी छ तर खुला छ, अस्पतालको खुला वातावरणले पनि बिरामीलाई फरक पार्दोरहेछ,’ उनले सुनाए, ‘अस्पतालको जग्गा धेरै रहेछ ।’

यहाँ अस्पतालपरिसरमा ठुलो क्षेत्रफल भएकाले अस्पतालभित्र बिरामी कुरेर मात्रै बस्दा दिक्क लाग्नेहरू बगैँचातिर निस्किन्छन् । ‘हरियालीले ढाकिएको परिसरले बिरामी र आगन्तुक दुवैलाई छुट्टै अनुभूति दिन्छ, प्रकृति र उपचार एकअर्काका सहयात्री बनेजस्तो लाग्छ, यहाँ उपचारका लागि देशैभरका क्यान्सरका बिरामी र आफन्त आउनुहुन्छ,’ अस्पतालका निमित्त कार्यकारी निर्देशक डा. उमेश नेपालले भने, ‘बिरामीलाई ठेलमठेल भएर बस्नुपर्दैन । ठुलो क्षेत्रफलमा फैलिएको अस्पतालवरपर हराभरा छ, वातावरणले पनि बिरामीको उपचारमा फरक पार्छ, त्यसकारण पनि अस्पतालवरपर शान्त हुनुपर्छ, हराभरा बगैँचा हुनुपर्छ ।’

अस्पतालकै नाममा रहेको जग्गामा सात सयभन्दा बढी लिचीका रुख छन् भने उत्तिकै संख्यामा आँप छन् । अहिले लिचीको सिजन चलिरहेको छ । यही मौकामा अस्पतालपरिसरमा रहेको लिची बेच्न भ्याइनभ्याइ छ । त्यस्तै आपँको सिजन पनि नजिकै आउँदै छ । लटरम्म फलेका आँपले पनि अस्पताल हराभरा देखिएको छ । अस्पतालका सूचना अधिकारी गृही नारायण महतोका अनुसार अस्पतालको क्षेत्रफल ७५ बिघामा फैलिएको छ । अत्यन्तै फराकिलो क्षेत्र भएकाले अस्पतालले हरियालीको बिचबिचमा ६३ वटा अस्पतालका ब्लक बनाएको छ । ती ब्लकहरूमा उपचार हुन्छ । बिरामी र कुरुवाका लागि छुट्टै भवन छ । उनीहरूलाई त्यहाँ चिकित्सकले काउन्सिलिङसमेत दिन्छन् । अस्पतालको बेड संख्या पाँच सयभन्दा बढी छ । तर, यति बेड संख्याले अपुग्ने सूचना अधिकारी महतोको भनाइ छ । ‘अस्पतालको स्रोतसाधन सीमित छ, तर जग्गा मनग्गे छ, यहाँभित्र ठुलो बगैँचा र हराहरा क्षेत्र छ, क्यान्सरजस्तो जटिल रोगका बिरामीको उपचारको थलो फराकिलो र शान्त चाहिन्छ । त्यस हिसाबका यस अस्पताल क्षेत्रको वातावरण निकै राम्रो छ,’ सूचना अधिकारी महतोले भने,‘दिक्क भएका बिरामी र आफन्त यस वरपरको हराभर हेरेर पनि केहीबेर आनन्दित हुन सक्छन्, अस्पतालले यहाँको बगैँचा संरक्षण गर्न पनि उत्तिकै मिहिनेत गरिरहेको छ ।’

क्यान्सर रोग विशेषज्ञ डा. सुदीप श्रेष्ठका अनुसार क्यान्सरजस्तो जटिल रोगसँग संघर्ष गरिरहेका बिरामीका लागि अस्पतालको वातावरण निकै महत्वपूर्ण र आवश्यक हुन्छ । यही आवश्यकतालाई बुझेजस्तै गरी अस्पतालपरिसरमा फैलिएका आँप, कटहर र लिचीका बोटहरूले बिरामी र उनका परिवारलाई छहारी, ताजापन र केही क्षणको मानसिक आरामप्रदान गरिरहेको छ । ‘क्यान्सरको उपचार केवल शल्यक्रिया, केमोथेरापी वा रेडियोथेरापीमा सीमित हुँदैन, बिरामीको मानसिक अवस्था, आत्मबल र सकारात्मक सोच पनि उपचार प्रक्रियाका महत्वपूर्ण पक्ष हुन्,’ अस्पतालका सूचना अधिकारी महतोले भने, ‘अस्पतालको हरियाली वातावरणले यही पक्षलाई बलियो बनाउन सहयोग गरिरहेको छ, उपचारको तनाव, पीडा र अनिश्चितताबिच केही समय प्रकृतिसँग बिताउन पाउनु आफैँमा राहतको अनुभूति हो ।’

उनका अनुसार पछिल्लो समय विश्वभरका स्वास्थ्य संस्थाहरूले ‘हिलिङ इन्भाइरोन्मेन्ट’ अर्थात् उपचारमैत्री वातावरणको अवधारणालाई महत्व दिन थालेका छन् । हरियाली, खुला स्थान र प्राकृतिक दृश्यले बिरामीको मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विभिन्न अध्ययनले समेत देखाएका छन् । भरतपुरस्थित क्यान्सर अस्पताल त्यही अवधारणाको एउटा नमुना रहेको सूचना अधिकारी महतोको भनाइ छ । हाल काठमाडौंका कोचाकोच संघीय अस्पतालहरूबाट उपचार लिँदा हैरान भएका बिरामी यहाँ पुग्दा भने भिडभाड र ठेलमठेलबाट मुक्ति पाएको महसुस गर्छन् । सूचना अधिकारी महतोका अनुसार यहाँका फलफूल अस्पतालले नै केही वर्ष पहिले रोपेको थियो । यसले यहाँको जमिनको सदुपयोग पनि भएको छ । उनका अनुसार अस्पतालपरिसरको ठुलो भूभाग हरियालीले ढाकिँदा गर्मी कम महसुस हुन्छ भने बिरामी र कुरुवाले स्वच्छ हावा खान पाउँछन् । 

फलफूलबाट वार्षिक १५ लाख कमाइ 
अस्पतालले यहाँभित्र रहेका लिची, आँप र कटहरका रुखबाट आम्दानी गर्छ । वर्षैपिच्छे लटरसम्म फल्ने फलफुल टिपेर बेच्न अर्कैलाई भाडामा दिएको छ । यस पटक १५ लाखमा भाडामा दिएको छ । विगतमा दुई लाखमा मात्रै भाडामा दिने गरिएको थियो । तर, लाखौँ आम्दानी हुने फलफुल सित्तैमा भाडामा लगाएको भन्दै विरोध भएको थियो । 

See More On

सुझावित समाचार