प्रेमिकासँगको बिदा छोट्याउँदै मार्कोस विश्वकपमा सहभागी

शनिबार, ३० जेठ, २०८३
डिजिटल संस्करण
  • अर्जेन्टिनी प्रशिक्षक स्कोलानीले २६ खेलाडी घोषणा गर्दा टोटनह्यामका मार्कोस सेनेसी परेका थिएनन् । प्रेमिका केलिसीसँगै बिदा मनाउन इविजामा पुगेका मार्कोसलाई अचानक स्कोलानीले टोलीमा समावेश गरेका छन् । 

अर्जेन्टिनी प्रशिक्षक लियोनल स्कोलानीको प्रारम्भिक विश्वकप खेल्ने २६ खेलाडीमा टोटनह्यामका मार्कोस सेनेसी थिएनन् । स्कोलानीले फिफालाई बुझाएको अन्तिम सूचीमा उनी वैकल्पिक खेलाडीमा समेत रहेनन् । डिफेन्डर लियो वालेर्डी चोटका कारण खेल्न नसक्ने भएपछि तत्कालै स्कोलानीले टोटनह्यामका मार्कोसलाई अन्तिम समयमा टोलीमा समावेश गरेका छन् । अन्तिम सूचीमा नरहँदा विश्वकप खेल्ने सपना गुमाइसकेका मार्कोसले आफ्नी प्रेमिका केलिसी बाउर्ससँगै इविजामा छुट्टी मनाउन पुगेका थिए ।

प्रेमिका बाउर्स पनि बोर्नेमाउथकी महिला टोलकी प्रभावशाली खेलाडीमा पर्छिन् । विश्वकप चलिरहँदा व्यावसायिक लिगहरू हुँदैन । विश्वकपमा नपरेका खेलाडीहरू परिवार, साथीभाइ तथा प्रेमिकासँगै छुट्टी मनाउँदै बिदा कटाउँछन् । यस्तै योनजा पूरा गर्न मार्कोस र केलिसी पनि इविजामा होलिडे मनाउन पुगेका हुन् । यसपटक उनीहरूको होलिडे संक्षिप्त भएको छ । 

अर्जेन्टिनी प्रशिक्षक स्कोलानीले विश्वकप खेल्ने सूचीमा समावेश गरेको जानकारी पाएपछि मार्कोसले तत्कालै बिदा कट गरेका छन् । बुधबार राति डिनरका लागि बाहिर जाने क्रममा स्कोलानीको फोन आएको मार्कोसले बताएका छन् । ‘प्रशिक्षकको कल आउँदा शंका लागेको थियो । विश्वकप खेल्ने बाटो खुलेको आभास भएको थियो,’ मार्कोसले भने, ‘प्रशिक्षकले मलाई विश्वकप खेल्न आउनुपर्यो भन्नुभयो । मसँग त्यसवेला शब्द नै थिएन । केवल ओके मात्र भनें ।’

विश्वकप खेल्ने सपना पूरा
सुरुवातमा स्कोलानीले उपाधि रक्षा गर्ने टोली बनाउँदा मार्कोस फर्ममा रहँदा पनि परेनन् । त्यसवेला उनी दुःखी बनेका थिए । यही पीडा भुलाउन उनी प्रेमिकासँग इविजामा पुगेका हुन् । धेरै समयपछि बिदा मनाउने अवसर पाउँदा पनि यी फुटबलर जोडी दुःखी छैनन् । बिदा भनेको फेरि–फेरि आउँछ । तर, विश्वकप खेल्ने पटक–पटक आउँदैन । यसैलाई मध्यनजर गरी मार्कोसले अमेरिका जान तयारी गरे । ‘हामी मियामीबाट भर्खर आएका छौँ, यहाँ हामी होलिडेमा थियौँ,’ मार्कोसले भनेका छन्, ‘एकदम आनन्दित भएको छु,’ खुसी हुँदै उनले भने ।

मार्कोसकी प्रेमिका केलिसीले पनि प्रेमीको सपना पूरा गर्न आफू तयार भएको बताइन् । ‘हामी दुवै यतिवेला निकै खुसी छौँ । होलिडे मनाउन आएका हामी अब विश्वकपको रंगशालामा पुग्नेछौँ,’ उनले भनिन्, ‘अहिले सपना कि विपनाजस्तो लागेको छ ।’ विश्वकपमा आफ्नो प्रेमीका लागि प्रार्थनासमेत गरेको उनले बताइन् । ‘जब विश्वकपका लागि अर्जेन्टिनाका खेलाडी घोषणा हुँदै थियो । मैले भगवान्सँग उसका लागि प्रार्थना गरेकी थिएँ । त्यसवेला मेरो प्रार्थना सफल भएन, तर ढिलै भए पनि अहिले पूरा भयो,’ केलिसीले भनिन्, ‘प्रशिक्षकको फोन आउँदा हामी पलज भयौँ ।’ अर्जेन्टिनाले आगामी बुधबार अल्जेरियासँग विश्वकपको पहिलो खेल खेल्नेछ । 

See More On

सुझावित समाचार