हुम्लामा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणको शिलान्यास

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण

कर्णाली प्रदेशकाे हुम्ला जिल्लाको चंखेली गाउँपालिका– २ मा नेपाल–भारत मैत्री अस्पताल भवन निर्माणका सागि शिलान्यास भएको छ ।  अस्पताल भवन भारत सरकारको आर्थिक सहयोग करिब १४ करोड ८० लाख रुपैयाँमा  निर्माण हुँदै छ । यो उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयन हुम्लाको चंखेली गाउँपालिकामार्फत गरिने भारतीय दूतावासले जनाएको छ। 

चंखेली गाउँपालिकाका अध्यक्ष तथा अन्य सरोकारवालाहरूले भारत सरकारद्वारा प्रदान गरिँदै आएको विकास सहयोगको प्रशंसा गरे र यो नयाँ संरचनाले चंखेली गाउँपालिकामा स्वास्थ्य सेवाहरूमा राम्रो पहुँच पुर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भिडियोमार्फत भवनकाे शिलान्यास गरेका थिए। उनले एक भिडियो सन्देशमार्फत परियोजनाका सम्पूर्ण सरोकारवालाहरूलाई शुभकामना व्यक्त गर्दै साझा विकास र समृद्धि हासिल गर्न नेपाल सरकार र नेपाली जनतासँग मिलेर काम गर्ने भारत सरकारको दृढ प्रतिबद्धता दोहोर्याएका छन् ।

उच्च प्रभाव सामुदायिक विकास परियोजना कार्यक्रमको सुरुवात भएयता नेपालका सबै सातवटै प्रदेश र ७४ वटा जिल्ला समेट्ने गरी करिब ६ सयवटा परियोजना सञ्चालन भएका छन् ।

नेपाल–भारत मैत्री अस्पताल भवन परियोजना हुम्लामा तेस्रो उच्च प्रभाव सामुदायिक विकास परियोजना हो । यसअघि भारत सरकारले सर्केगाडस्थित श्री सरस्वती माध्यमिक विद्यालयको हाताभित्र पुस्तकालय भवन निर्माणका लागि र चंखेली–दार्मास्थित श्री महादेव उच्च माध्यमिक विद्यालयमा प्रयोगशाला तथा पुस्तकालय भवन निर्माण गर्न अनुदान सहयोग उपलब्ध गराएको थियो ।

भारत सरकारले सन् २०२४ जुलाईमा हुम्ला जिल्लाका चंखेली, सर्केगाड र सिमकोट गाउँपालिकाका निर्वाचित प्रतिनिधिहरू सम्मिलित १० सदस्यीय टोलीका लागि भारतमा अध्ययन भ्रमणको पनि आयोजना गरेको थियो ।

सुझावित समाचार