घरेलु टोली मेक्सिकोले फिफा विश्वकप– २०२६ को उद्घाटन खेलमा सानदार जित निकालेको छ । शुक्रबार बिहान जित निकाल्ने क्रममा मेक्सिकोले दक्षिण अफ्रिकालाई २–० ले हरायो । अज्टेका रंगशालामा ८१ हजार घरेलु दर्शकबिच मेक्सिकोको जितमा जुलियन किनोनेस र राउल हिमिनेजले गोल गरेका थिए ।
यही खेलमा तीन खेलाडीलाई सिधै रातो कार्ड देखाइएको थियो । सन् २००६ पछि पहिलोपटक एकै खेलमा तीन रातो कार्ड देखाइएको हो । यसअघि सन् २०१८ र सन् २०२२ मा प्रतियोगिताभर मात्र चार रातो कार्ड देखाइएको थियो ।
दक्षिण अफ्रिकाका मिडफिल्डरद्वय स्फेफेलो सिथोले र थेम्बा ज्वाने तथा मेक्सिन डिफेन्डर सेजार मोन्टेसले रातो कार्ड पाएका थिए ।
खेलको नवौँ मिनेटमै आयोजकले अग्रता बनायो । विंगर किनोनेसले अग्रता दिलाए । सन् २००६ पछि विश्वकपको उद्घाटन खेलमै कम समयमा गोल निस्किएको याे पहिलोपटक हो । हिमिनेजले ६६औँ मिनेटमा हेडरमार्फत गोल गर्दै २–० को सहज जित दिलाएका हुन् ।
जितसँगै मेक्सिकोले समूह ‘ए’मा तीन अंक जोडेको छ । अब, दोस्रो खेलमा मेक्सिकोले बिहीबार दक्षिण कोरियासँग खेल्नेछ । सोही दिन दक्षिण अफ्रिकाले चेक रिपब्लिकसँग प्रतिस्पर्धा गर्नेछ ।