- आफ्नै डिपोजिटबाट कारोबार गर्न खोजेको हो कि ऋण लिएर गर्न खोजेको हो भन्ने छुट्याउन सक्ने सामर्थ्य हालको टिएमएस प्रणालीमा छैन, त्यसैले लगानीकर्तालाई मार्जिन सुविधा दिन धमाधम नयाँ सफ्टवेयर राख्दै ब्रोकर
- स्वीकृति लिएकाबाहेक थप २४ ब्रोकर मार्जिन सुविधाका लागि आवेदन दिएर बसेका नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले ब्रोकरमार्फत मार्जिन सुविधा लिएर सेयर कारोबार गर्न पाउने गरी अनुमतिपत्र दिएका ३१ ब्रोकरमध्ये एउटा मात्रै कर्जा प्रवाह गर्न सक्षम भएको छ ।
नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार हालसम्म ३१ वटा ब्रोकर कम्पनीले मार्जिन कारोबारको स्वीकृत लिइसकेका छन् र थप ब्रोकरहरू अनुमति लिने प्रक्रियामा सामेल भएका छन् । तर, हालसम्म ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिजले मात्रै लगानीकर्तालाई यस्तो कर्जा तथा कारोबार सुविधा उपलब्ध गराइरहेको छ । समग्र कारोबार बढ्न नसकेका कारण पनि मार्जिन सुविधाको माग बढ्न नसकेको ब्रोकरहरूको भनाइ छ ।
मार्जिन कारोबारको स्वीकृति लिएका अधिकांश ब्रोकरसँग सेयर खरिद–बिक्री गर्ने ट्रेड म्यानेजमेन्ट सिस्टम (टिएमएस) प्रणालीमा आवश्यक कप्राविधिक व्यवस्था नभएकाले यो सेवा प्रवाह गर्न नसकेका हुन् । स्टक ब्रोकर धर्मराज सापकोटाका अनुसार लगानीकर्ताले आफ्नै डिपोजिटबाट कारोबार गर्न खोजेको हो कि ऋण लिएर गर्न खोजेको हो भन्ने विषय टिएमएस प्रणालीले छुट्याउनुपर्ने हुन्छ । अधिकांश ब्रोकरहरूले ‘वाईको सोलुसन्स प्रालि’ र ‘डिजीहब प्रालि’द्वारा निर्माण गरिएको टिएमएस प्रयोग गर्दै आइरहेका छन् । यी दुवै कम्पनीको टिएमएसमा मार्जिन सुविधासम्बन्धी व्यवस्था समावेश गर्न बाँकी रहेकाले सफ्टवेयर निर्माणकै चरणमा छ ।
यो सफ्टवेयर पूर्ण रूपमा तयार भएपछि मात्र ब्रोकरहरूमार्फत मार्जिन सुविधा कार्यान्वयनमा आउनेछ । यद्यपि, ५८ नम्बरको ब्रोकर नासा सेक्युरिटिजको भने आफ्नै छुट्टै टिएमएस प्रणाली रहेकाले सहज रूपमा मार्जिन सुविधा कार्यान्वयनमा ल्याएको हो । नासा सेक्युरिटिजले ग्राहकका लागि दुई करोड रुपैयाँसम्मको ऋण संरचना सार्वजनिक गरिसकेको छ । योजनाको उदाहरणअनुसार यदि कुनै ग्राहकले १० लाख रुपैयाँको मार्जिन सुविधा लिन चाहेमा ३० प्रतिशत अर्थात् तीन लाख रुपैयाँ प्रारम्भिक मार्जिन आफैँले बुझाउनुपर्छ र बाँकी सात लाख रुपैयाँ नासाले ऋणस्वरूप उपलब्ध गराउँछ ।
मार्जिन सुविधाका लागि यस्तो छ मापदण्ड
धितोपत्र बोर्डले मार्जिन कारोबार सहजीकरण निर्देशिका, २०८२ जारी गर्दै यो सुविधा लिनका लागि ३० प्रतिशत प्रारम्भिक मार्जिन राख्नु अनिवार्य गरिएको छ । त्यस्तै, १८ वर्षभन्दा माथिका व्यक्ति मात्र यसका लागि योग्य हुने व्यवस्था छ । यसअन्तर्गत सेबोनद्वारा स्वीकृत सूचीभित्रका कम्पनीहरूको सेयर मात्र किन्न पाइन्छ । यो ऋणको ब्याजदर सेवा शुल्कसहित प्रतिमहिना एक प्रतिशत तोकिएको छ । जसमा ग्राहकलाई आकर्षित गर्न दुई महिनाको योजनामा २.५ प्रतिशत र तीन महिनाको योजनामा पाँच प्रतिशत छुटको व्यवस्थासमेत गरिएको छ । तर, एकपटक भुक्तानी गरिसकेको ब्याज तथा सेवा शुल्क भने फिर्ता हुँदैन, यद्यपि लगानीकर्ताले आफ्नो ऋण समयअगावै आंशिक वा पूर्ण रूपमा चुक्ता गर्न भने सक्छन् ।
यस सुविधामा मार्जिन कलसम्बन्धी कडा व्यवस्थासमेत रहेको छ । निर्देशिकाअनुसार लगानीकर्ताले बजारमा सेयरको मूल्य घटबढ हुँदा न्यूनतम २० प्रतिशत मर्मत मार्जिन सधैँ कायम राख्नुपर्छ । यदि सेयर बजार घटेर लगानीकर्ताको पोर्टफोलियोको मूल्य यो तोकिएको २० प्रतिशतको स्तरभन्दा तल पुगेमा ब्रोकर कम्पनीले मार्जिन कल जारी गर्छ । यस्तो अवस्थामा लगानीकर्ताले भोलिपल्ट बिहान ११ बजेभित्र थप रकम जम्मा गर्नुपर्छ वा थप सेयर धितोका रूपमा राख्नुपर्ने हुन्छ । यदि तोकिएको समयभित्र थप रकम वा सेयर जम्मा नगरिएमा ब्रोकर कम्पनीले आफैँ सेयर बिक्री गरेर आफ्नो घाटा समायोजन गर्ने अधिकार राख्छ ।