इरानसँग सम्बन्धित ढुवानीलाई अवरुद्ध गर्ने वासिंटनको अभियानका क्रममा ओमानबाट अघि बढेको तेल ट्यांकर रोक्न अमेरिकाले गरेको सैन्य कारबाहीमा तीन भारतीय नाविकको मृत्यु भएको भारतीय अधिकारीले बिहीबार बताए । भारतीय ढुवानीमन्त्री सर्वानन्द सोनोवालले तीन नाविकको मृत्यु भएको पुष्टि गरे । ‘दुःखको कुरा, बेपत्ता भएका तीन भारतीय नाविकको शव फेला परेको छ । उनीहरूको पहिचानसमेत भएको छ,’ मन्त्री सोनोवालले भने । अमेरिकी सेनाको केन्द्रीय कमान्ड (सेन्टकम)ले यसअघि नै ओमान खाडीमा पलाउको झन्डा लगाइएको तेल ट्यांकर ‘एमटी सेटेबेलो’मा अमेरिकी विमानले सटिक आक्रमण गरेको बताएको थियो ।
नयाँदिल्लीले भारतमा रहेका अमेरिकी कूटनीतिज्ञ बेलाएर घटनाप्रति ‘कठोर विरोध’ जनाएको रोयटर्सले दुई भारतीय स्रोतलाई उद्धृत गर्दै लेखेको छ । बुधबार आक्रमणमा परेको ‘एमटी सेटेबेलो’ ट्याङ्करमा कुल २४ भारतीय चालक दल सवार थिए, जसमध्ये २१ जनालाई उद्धार गरिएको थियो । समाजिक संजाल एक्समा पोस्ट गर्दै भारतका ढुवानी मन्त्री सर्वानन्द सोनोवालले मृतक तीन जनाको शव चाँडै देश ल्याइने बताएका छन् ।
भारतीय अधिकारीका अनुसार जहाजमाथि आक्रमण भएलगत्तै ओमानी सेना त्यहाँ पुगेका थिए । तिनले नै २४ जना चालक दललाई जमिनमा ल्याएको र तीनजनाको मृत्यु भएको भारतीय अधिकारीले बताए । योसँगै अमेरिकाले यो साता हर्मुज क्षेत्रमा आक्रमण गरेका जहाजको संख्या तीन पुगेको छ । र, यी तीनैवटा जहाजमा सवार सबै चालक दल भारतीय रहेका थिए । भारतीय अधिकारीका अनुसार मारिनेको नाम क्याडेट आदित्य शर्मा, फिटर शिवानन्द चौरासिया र प्रमुख इन्जिनियर पटनाला सुरेश रहेको छ ।