२३औँ विश्वकपको भव्य उद्घाटन

शुक्रबार, २९ जेठ, २०८३
डिजिटल संस्करण
  • मेक्सिकोको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित विश्वकपको भव्य उद्घाटन हुँदा गायिका सकिराले प्रतियोगिताको आधिकारिक गीत ‘लेट्स गो’ प्रस्तुत गरेकी थिइन्

२३औँ संस्करणको फिफा विश्वकप फुटबल प्रतियोगिताको बिहीबार राति भव्य उद्घाटन भएको छ । पहिलोपटक तीन राष्ट्रद्वारा आयोजित विश्वकपको मेक्सिको ऐतिहासिक रंगशाला एस्टेकामा विभिन्न सांस्कृतिक कार्यक्रमसहित उद्घाटन गरिएको हो । इतिहासमै तीनवटा विश्वकप खेल आयोजना गर्ने एस्टेका रंगशाला पहिलो बनेको छ । सन् १९७० र १९८६ मा मेक्सिकोले विश्वकप गर्दा यसै रंगशालामा फाइनल खेल भएको थियो । त्यसवेला मेक्सिकोले एक्लै फुटबलकै सबैभन्दा ठुलो प्रतियोगिता आयोजना गरेको थियो । यसपटक भने सहआयोजकका रूपमा रह्यो । 

अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रूपमा आयोजना गरेको यस विश्वकपको औपचारिक सुरुवातसँगै विश्वभरका फुटबल समर्थकको ध्यान अहिले मेक्सिकोमा केन्द्रित भएको छ । रंगशालामा हजारौँ दर्शकले उत्साहपूर्ण उद्घाटन समारोह हेरेका थिए । समारोहमा सांस्कृतिक कार्यक्रममा सहभागी कलाकार विभिन्न रंगीविरंगी पोसाकमा सजिएका थिए । दर्शकको हुटिङ र उत्साहले रंगशालाको माहोल रोमाञ्चक देखिएको थियो । 

एस्टेका रंगशालामा विश्वप्रसिद्ध गायिका सकिराले प्रतियोगिताको आधिकारिक गीत ‘लेट्स गो’ प्रस्तुत गर्दै मञ्च तताइन् । उनीसँगै नाइजेरियाली गायक बर्ना ब्वायले पनि मञ्चमा सहभागी भएर आफ्नो प्रस्तुति दिए । यी दुई चर्चित कलाकारको जोडीले रंगशालामा उपस्थित हजारौँ दर्शकलाई झुमाएको छ । यसैगरी, क्यानडाको बहुसांस्कृतिक समाज, विभिन्न समुदाय र राष्ट्रिय पहिचानलाई संगीत तथा दृश्यमार्फत प्रस्तुत गरिएको छ । समारोहमा अलानिस मेरिसेट, अलेसिया कारा, माइकल बुब्ले, जेसी रेयेज, नोरा फतेह, एलियाना सन्जोय, भेगेड्रिम र विलियम प्रिन्सलगायत कलाकारले प्रस्तुति दिएका थिए । मेक्सिकोमा भएको उद्घाटन समारोहमा मेक्सिकन तथा ल्याटिन अमेरिकनको सांगीतिक प्रस्तुत देखाइएको थियो । यसपटक विश्वकपलाई आप्रवासन विवाद, महँगा टिकट, नयाँ प्रविधि, जलपान विश्रामको विवादले प्रभावित बनाएको छ । फिफाले विश्वकपमा पहिलोपटक ४८ राष्ट्रलाई सहभागी गराइएको छ । 

रंगशालाबाहिर प्रदर्शन 
विश्वकपमा मेक्सिकोको इस्टाडिओ एस्टेका रंगशालामा इतिहासले भरिएका धेरै कथा छन् । यस मैदानमा सन् १९८६ मा अर्जेन्टिनी खेलाडी डिएगो म्याराडोनाले इंग्ल्यान्डविरुद्ध हातेगोल गरेका थिए । यहाँ नै एकल प्रयासमा म्याराडोनाले अर्जेन्टिनालाई दोस्रोपटक विश्वकप विजेता बनाएका थिए । फेरि यस रंगशालामा कीर्तिमानी तेस्रोपटक विश्वकप आयोजना हुँदै छ । यस अर्थमा मेक्सिकोले तीनपटक आयोजनाको अवसर पाएको हो । यसअघि दुईपटकको विश्वकपमा मेक्सिकोलाई आयोजकका रूपमा त्यति धेरै समस्या थिएन । 

तर, २३औँ संस्करणमा सहआयोजक हुँदा मेक्सिको समस्याले घेरिएको छ । दक्षिण अफ्रिकाविरुद्धको उद्घाटन खेलअघि मेक्सिकन समर्थकले रंगशालाबाहिर आक्रोश व्यक्त गरेका छन् । विश्वकपको उद्घाटन भव्य बनाउँदा रंगशालाबाहिर तनावको सामना गर्नुपरेको हो । सहज रूपमा रंगशालाभित्र प्रवेश गर्न नपाउँदा समर्थक रिसाएका छन् । उनीहरूले रंगशालामा आफ्नो सिटसम्म पुग्न विभिन्न सुरक्षा घेरा पार गरेको एजेन्सीले जनाएको छ । 

‘उद्घाटन समारोह भइरहँदा इस्टाडियो रंगशालाबाहिर समर्थकहरू लाइनमै देखिन्थे,’ अलजजिराले भनेको छ, ‘फिफा र अमेरिकाको दबाबमा विश्वकप खेल हुने प्रत्येक रंगशालामा सुरक्षा व्यवस्था कडा बनाइएको छ । यसको मार समर्थकमाथि परेको छ ।’ भूराजनीतिक तनाव कारण कडा सुरक्षा व्यवस्था अपनाउनुपरेको हो । ‘अमेरिकासँग सिमाना जोडिएकाले पनि विश्वकप आयोजकमध्ये एक मेक्सिकोले सुरक्षा व्यवस्था सामान्यभन्दा कडा बनाएको हो,’ अलजजिराले लेखेको छ, ‘यसमा सिमानाकै सन्दर्भ आउँछ, तर खेलमैदानमा भूराजनीति जोड्नु राम्रो होइन ।’ सन् १९६० र १९८६ को विश्वकपको मुख्य आयोजक मेक्सिकोले तेस्रोपटक भव्य बनाउने उद्देश्य राखेको छ । तर, उद्घाटन समारोह चलिरहँदा नै उसले आफ्नै नागरिक आलोचनामा उत्रिएका छन् ।

म्याराडोनाको उदय भएको इस्टाडिओ रंगशालामा भव्य उद्घाटन भएको थियो । रंगशालाभित्र प्रवेश गर्न पाएका समर्थक खुसीले गदगद भए । अहिलेसम्मकै उत्कृष्ट उद्घाटन समारोह प्रत्यक्ष रूपमा हेर्न पाउँदा उनीहरू खुसी भएका हुन् । तर, बाहिरको दृश्य फरक थियो । हजारौँ मेक्सिकन समर्थक टिकट नपाउँदा र पाएका पनि सुरक्षा घेरामा फस्दा आक्रोशित बनेका थिए । अझ यसमा सयौँ हुल्याहा समर्थक आयोजकसँगै नाराबाजी गर्दै बसेका देखिन्थे । विरोध मेक्सिकन सरकारको नीतिविरुद्ध थियो । सरकारले समयमा तलब, पेन्सनसँगै श्रम सुधारलाई बेवास्ता गर्दै विश्वकप आयोजनामा मात्र ध्यान दिएको भन्दै शिक्षकहरूले विरोध जनाएका छन् । 

शिक्षक संघ कोअर्डिनेडोरा नेसियोनल डे ट्राजाडोरेसले रंगशालाबाहिर र मुख्य सकडमा प्रदर्शन गरेको थियो । ‘हामी विश्वकपको विरोधी होइनौँ । यस्ता प्रतियोगिता हुनुपर्छ, जसले राष्ट्रको गौरव बढाउँछ । तर, यसका कारण देशभित्र परेका समस्यामा सरकारले ध्यान दिनुपर्छ,’ शिक्षक संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘शिक्षकहरूले मात्र नभएर अन्य सरकारी निकायमा काम गर्ने कर्मचारीले पनि समयमा तलब पाउन सकेका छैनौँ । वर्षौँदेखि बढ्न नसकेको पेन्सन र श्रममा सुधार गर्न बाँकी छ ।’ 

See More On

सुझावित समाचार