नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि सरकारी वकिलको बहस

बिहिबार, २८ जेठ, २०८३
डिजिटल संस्करण

नक्कली भुटानी शरणार्थी बनाई करोडौँको ठगी गरेको विषयमा बिहीबार पनि सरकारी वकिलले सुनुवाइ जारी राखेका छन् । मुद्दा दर्ता भएको तीन वर्षपछि बुधबारबाट यस मुद्दामा जिल्ला अदालत काठमाडौंमा सुनुवाइ सुरु भएको थियो ।

बुधबार अबेर मुद्दाको सुनुवाइ सुरु मात्र भएकोमा बिहीबार पेसी सूची प्रकाशित भएपछि बिहानैदेखि न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनुवाइ सुरु भएको थियो। जिल्ला न्यायाधिवक्ता हरिबहादुर पुन र सहायक जिल्ला न्यायाधिवक्ता छविलाल चालिसे तथा रोशन सुनुवारलाई बहसको जिम्मेवारी दिइएको छ । 

मुद्दाका प्रतिवादी सन्देश शर्माले अमेरिका पठाइदिने प्रलोभन दिएको भनी जाहेरवालाले जाहेरीमा लेखाइदिएको चालिसेले इजलासलाई बताएका थिए । जसमा न्यायाधीश खड्काले प्रश्न गरे, ‘जाहेरवालाले भनेको कुराको प्रमाण पनि छ कि ओकेलेको मात्र हो?’ जवाफमा चालिसेले चेक दिएको, ३ पटक ९०–९० लाखको चेक दिइएको बताएका थिए । 

पुनः न्यायाधीशले शर्माले दिएको चेक साटिएको वा नसाटिएको सोधेका थिए । चालिसेले भने, ‘सुरुको चेकहरू डिफल्ट भयो । त्यसपछि ३० लाखवाला चाहिँ स्टप भएको छ ।’ शर्मालाई रकम नगदै दिएको भनी अन्य जाहेरवाला र साक्षीहरूले पनि भनेको चालिसेले बताएका थिए । 

सुनुवारले पटक-पटक भुटानी शरणार्थीको स्थितिबारे अध्ययन भएको, तर पछिल्लोपटक पुनः पठाउने भन्ने विषय उठेपछि ठगीको सिलसिला सुरु भएको बताएका थिए । प्रतिवादीहरुको भाइबर, ह्वाटसेपजस्ता माध्यमबाट यो विषयमा कुराकानी भएको प्रमाण रहेको इजलासलाई उनले जानकारी गराए । 

‘यो प्रोजेक्ट जसरी पनि पास गर्नुपर्छ भनेर सानु भण्डारीको मोबाइलमा अडियो भेटिएको छ,’ उनले भने, ‘प्रतिवादीहरूबिच गृह मन्त्रालयका पत्रहरू, मन्त्रिपरिषद्को निर्णय र यससम्बन्धी समाचार आदानप्रदान भएको देखिन्छ ।’

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै करोडौँ असूल गरेको अभियोगमा सरकारी वकिल कार्यालय काठमाडौंले ०८० जेठ १० मा पहिलोपटक मुद्दा दायर गरेको थियो । यसपछि थप दुई मुद्दासमेत दायर भएकोमा तीनवटैको सुनुवाइ सुरु भएको छ । अब शुक्रबार पनि बहस निरन्तर रहनेछ।

सुझावित समाचार