झापाको दमक नगरपालिका– १० मा बनाउने भनिएको ‘विज्ञान पार्क’ डेढ करोड रुपैयाँ खर्च गरेपछि अलपत्र बनेको छ । विज्ञानसम्बन्धी सम्पूर्ण सामग्री राखेर प्रदेशस्तरीय विज्ञान पार्क निर्माण गर्ने भनिए पनि यसको काम अघि बढेको छैन । संघीय सरकारको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय झापामार्फत निर्माण सुरु गरिए पनि ६ वर्षदेखि अलपत्र अवस्थामा छ ।
दमक– १० स्थित सिंहदेवी माध्यमिक विद्यालयको डेढ बिघा जग्गामा निर्माण सुरु गरिएको यो विज्ञान पार्कका लागि सरकारले एक करोड ६० लाख ८४ हजार ३१७ रुपैयाँमा प्रशासनिक भवन र पार्कका लागि कम्पाउन्ड वालको काम गरिएको सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय, झापाका प्रमुख प्रदीप सिंहले जानकारी दिए । आर्थिक वर्ष ०७६/७७ र ०७७/७८ मा आएको बजेटले यो काम भएको उनले बताए । यद्यपि, यसको डिपिआरबारे जानकारी नभएको उनको भनाइ छ । पार्क निर्माणबारे हालको प्रगति जानकारी नभएको उनले बताए ।
दमक नगरपालिकाले पार्कको डिपिआरसमेत तयार गरेको छैन । भवन निर्माण र कम्पाउन्ड वाल निर्माणपछि भने केही पनि काम नभएको दमक नगरपालिकाले जनाएको छ । योजना कार्यान्वयन संघीय सरकारको भएका कारण स्थानीय तहले थप लगानी नगरेको नगरपालिकाको भनाइ छ ।
भवन निर्माणपछि अलपत्र बनेको यो विज्ञान पार्कको प्रशासनिक भवन हाल जीर्ण बन्दै गएको छ । यो विज्ञान पार्क सम्पन्न गर्न अब करिब पाँच करोड लाग्ने सिंहदेवी माध्यमिक विद्यालयका प्रध्यानाध्यापक सोमनाथ बरालले जानकारी दिए । ‘सुरुमा बजेट आएपछि केही काम भयो । तर, पछि बजेट नआउँदा अहिले अलपत्र बनेको छ । प्रदेशस्तरीय विज्ञान पार्क र केटाकेटीका लागि फन पार्क बनाउने योजना थियो,’ उनले भने, ‘यहाँ कक्षा १२ सम्मका विद्यार्थीका लागि विज्ञान प्रयोगशाला बनाउने योजना थियो । देशभरका विद्यार्थीको अवलोकन स्थल बनाउने योजनाका साथ काम अघि बढेको थियो ।’ कम्पाउन्ड वालभित्र बनेको प्रशासनिक भवनबाहेकको जग्गा विद्यालयले खेती गर्न ठेक्कामा दिएको छ । ठेक्काबापत वार्षिक ४५ मन धान आउने र त्यसले विद्यालयको आन्तरिक खर्चमा केही टेवा पुर्याएको प्रअ बराल बताउँछन् ।
विज्ञान पार्क दुईवटा प्रतिनिधिसभा निर्वाचनमा चुनावी एजेन्डा बनेको थियो । गत २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पनि प्रधानमन्त्री बालेन्द्र शाहले यसलाई चुनावी एजेन्डा बनाएका थिए । उनको वाचापत्रमा उल्लेख भए पनि बजेट पर्ने निश्चित छैन । जसका कारण स्थानीय निराश छन् । ‘सुरुमा त बन्छ कि जस्तो लागेको थियो, तर यत्रो वर्ष अलपत्र भयो । अब त के बन्ला र ? चुनावमा भोट माग्दा त यो पार्क पनि बनाउने भन्थे । अहिले त कुरा नै पो हरायो,’ दमक– १० की लक्ष्मीदेवी न्यौपाने भन्छिन्, ‘यो पार्क बने मान्छेहरू हेर्ने आउने थिए । गाउँको विकास हुने थियो भनेको त कथा मात्रै बन्यो ।’
संघीय सरकारसँग पहल गर्दा पनि पार्क अलपत्र बनेको दमक– १० का वडाध्यक्ष राजेन्द्र भण्डारीले जानकारी दिए । पार्क निर्माण भए दमकको ग्रामीण क्षेत्रमा रहेको यो वडाको विकास हुने उनको भनाइ छ । ‘हामी निर्वाचित भएर आउनुअघिदेखि नै पार्क अलपत्र छ । पार्क निर्माण भए यहाँ प्रदेशभरिका विद्यार्थीको आकर्षणको केन्द्र बन्थ्यो । विज्ञानका प्रयोगशालाहरू पनि बन्थे । प्रदेशभरिका विद्यार्थीका लागि दमक एउटा हब हुन्थ्यो । विद्यार्थीका लागि अध्ययन अध्यापनको स्थल बन्ने थियो । दमककै गहनाको विषय बन्ने थियो । तर, अहिले अलपत्र बन्न पुगेको छ,’ उनले भने, ‘ग्रामीण क्षेत्रमा रहेको यो वडा पनि सहरसँग जोडिने थियो । विज्ञानलाई समाजसँग पनि जोड सहज हुने थियो ।’