पोखरा, भरतपुर र लुम्बिनीलाई सिल्भर ट्रयांगलको रूपमा विकास गर्न समझदारी

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

देशका महत्वपूर्ण तीन सहर पोखरा, भरतपुर र लुम्बिनीलाई जोडेर सिल्भर ट्रयांगलको रुपमा विकास गरिने भएको छ। यसका लागि तीन सहरको बिच पोखरामा आयोजित कार्यक्रममा समझदारी-पत्रमा हस्ताक्षर भएको छ।

पर्यटनको राजधानी पोखरा, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको भरतपुर र भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीबिच आपसी अनुभव तथा ज्ञान आदानप्रदान, संस्कृति संरक्षण र प्रवर्द्धन तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रियस्तरमा संयुक्त रुपमा पर्यटन प्रवर्द्धन, विकासलगायतका काम गर्ने साझा उद्देश्यका साथ समझदारीपत्रमा हस्ताक्षर भएको हो।

पोखरा महानगरपालिकाका नगर प्रमुख धनराज आचार्य, भरतपुर महानगरपालिकाका कार्यवाहक नगरप्रमुख चित्रसेन अधिकारी र लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगरप्रमुख कल्पना हरिजनले समझदारी-पत्रमा हस्ताक्षर गरेका छन्। समझदारी-पत्रमा साक्षीका रूपमा पोखराका प्रमुख प्रशासकीय अधिकृत मुक्तिराम अर्याल, भरतपुरका आर्थिक विकास महाशाखा प्रमुख तेजेन्द्रप्रसाद पौडेल र लुम्बिनीका प्रमुख प्रशासकीय अधिकृत तारा ज्ञवालीेले हस्ताक्षर गरेका छन्।

ट्राभल मार्टदेखि विटुवि र जिटुजीसम्मका विषय
समझदारीपत्रमा तीन नगरले ट्राभल मार्टदेखि बिटुबि र जिटुजी आयोजना गर्नेसम्मका उद्देश्य राखेका छन्। तीन नगरले आफ्नो वार्षिक नीति, योजना एवं बजेटमा सिल्भर ट्रयांगलको प्रवर्द्धन र विकासलाई जोड दिने, सिल्भर ट्रयांगल सहकार्यको नेतृत्व तथा समन्वय प्रत्येक वर्ष पालैपालो प्रणालीमा तीनै नगरले गर्ने, प्रत्येक वर्ष पालैपालो सिल्भर ट्रयांगल  पर्यटन मेला (ट्राभल मार्ट) आयोजना गर्ने, आवश्यकताअनुसार नियमित रूपमा व्यवसाय–देखि–व्यवसाय (बिटुबी) तथा सरकार–देखि–सरकार (जिटुजी) बैठक तथा सहकार्य सञ्चालन गर्ने, तीनै पक्षको संयुक्त पहलमा सिल्भर त्रिकोणको प्रवर्धन, ब्रान्डिङ र बजार विस्तार अभियान सञ्चालन गर्ने विषय उल्लेख छ।

यसैगरी, प्रत्येक सहरमा अन्य दुई सहरका प्रमुख पर्यटकीय गन्तव्यहरू समेट्ने डिजिटल सूचना बोर्डहरु स्थापना गर्ने, तीनै गन्तव्यलाई समेट्ने गरी एकीकृत पर्यटन प्याकेज विकास गर्ने, संयुक्त पर्यटन प्रचार सामग्री (ब्रोसर, डिजिटल सामग्री) निर्माण तथा वितरण गर्ने, पर्यटन व्यवसायी, होटेल, ट्राभल एजेन्सी तथा स्थानीय समुदायबिच सहकार्य र सञ्जाल विस्तार गर्ने, सांस्कृतिक, शैक्षिक तथा पर्यटन आदानप्रदान कार्यक्रम सञ्चालन गर्ने, पर्यटन प्रवर्धनका लागि तीनवटै पक्षले संयुक्त र¿पमा समन्वय गर्ने, अन्तर प्रदेशीय कनेक्टिभिटीमा विशेष जोड दिने उद्देश्य राखिएको छ।
 

सुझावित समाचार