नुवाकोटको बेलकोटगढी नगरपालिकामा गम्भीर आर्थिक लापरबाही र अनियमितता भेटिएको छ। महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको गत आर्थिक वर्ष ०८१/८२ को वार्षिक लेखापरीक्षण प्रतिवेदनले बेलकोटगढीको वित्तीय अनुशासन कमजोर देखाएको हो।
महालेखाको ६३औं वार्षिक प्रतिवेदनअनुसार नगरपालिकामा कुल अद्यावधिक बेरुजु ३९ करोड ८३ लाख आठ हजार ३४९ रुपैयाँ पुगेको छ। गत आवमामात्र एक करोड तीन लाख ४७ हजार २२५ रुपैयाँ बेरुजु देखिएको छ। उक्त बेरुजुमध्ये पाँच लाख १६ हजार रुपैयाँ असुल उपर गर्नुपर्ने महालेखाले औंल्याएको छ। असुलउपर गर्नुपर्ने प्रकृतिको बेरुजुलाई हिनामिनासरह मानिन्छ। त्यस्तै ६१ लाख ५७ हजार ६४७ रुपैयाँ अनियमित भएको र ३४ लाख २५ हजारको कागजात पेस नभएको प्रतिवेदनमा उल्लेख छ।
नगरपालिकाले वर्षान्तमा मात्रै कुल बजेटको ६५.५४ प्रतिशत रकम खर्च गरेको छ। जबकी प्रथम त्रैमासमा १०.१० प्रतिशत तथा दोस्रो र तेस्रो त्रैमासमा क्रमशः ५.२ र १९.५४ प्रतिशत खर्च गरेको थियो। अन्तिम त्रैमासमा १५ करोड ५३ लाख ६५ हजार ७१ रुपैयाँ खर्च हुँदा त्यसको ३६.५ प्रतिशत असारमा मात्र खर्च भएको छ। हतारमा काम गराउँदा कामको गुणस्तरमा असर पर्ने देखिएकाले वर्षान्तमा खर्च गर्ने परिपाटी नियन्त्रण गर्न महालेखाले सुझाएको छ।
दरबन्दीविना कर्मचारी भर्ना गरी झण्डै २३ लाख खर्च
नगरपालिकाले दरबन्दी नै नभएको पदमा कर्मचारी भर्ना गरेर २२ लाख ९५ हजार ९०४ रुपैयाँ खर्च गरेको छ। नगरपालिकाले दरबन्दीवेगर चारजना ल्याब टेक्निसियन र तीनजना सुरक्षित आप्रवासन रिटर्नी स्वयंसेवक भर्ना गरेको हो।
स्थानीय सरकार सञ्चालन ऐनअनुसार स्थानीय तहले आफ्नो अधिकार क्षेत्र र कार्यबोझको विश्लेक्षण गरी संगठन तथा व्यवस्थापन सर्वेक्षणको आधारमा स्थायी प्रकृतिको कामको लागि तथा सेवा करारबाट लिइने कर्मचारीको दरबन्दी प्रस्ताव गर्नुपर्छ। अस्थायी दरबन्दी सिर्जना गर्न भने मिल्दैन।
नियमविपरीत उपभोक्ता समितिबाट ठेकेदारलाई काम
नगरपालिकाले श्रमदान नहुने निर्माण कार्यहरुमा उपभोक्ता समिति संलग्न गराई १७ लाख ७४ हजार १८५ रुपैयाँ खर्च गरेको छ। सार्वजनिक खरिद ऐन, २०६४ अनुसार उपभोक्ता समिति वा लाभग्राही समुदायले पाएको काममा निर्माण व्यवसायी वा सव कन्ट्राक्टरलाई संलग्न गराउन पाइँदैन।
नगरपालिकाले सिग्देल टोलदेखी रानीटारसम्मको सडक, वडा नं ८ मा निर्मित सडकको मर्मतसम्भार, दियाले–सिखर्वोरिया सडक ग्रावेल, प्रहरी चौकी बाघखोर सिरानटोल सडक र वडा नं ५ मा निर्मित सडकको मर्मत सम्भार उपभोक्ता समितिमार्फत गराउने सम्झौता गरेको थियो। तर उपभोक्ता समितिमार्फत भएको काममा लागत अनुमानमा रहेको जनसहभागिताको अंशकट्टा गरेर मात्र भुक्तानी दिनुपर्नेमा त्यसो नगरी बढी भुक्तानी गरेको २९ हजार ५३५ रुपैयाँ असुल गर्न भनिएको छ।
बालविकास सहजकर्तालाई दिएको १२ लाख अनियमित
नगरपालिकामा बालविकास सहजकर्तालाई दिइएको पारिश्रमिक समेत अनियमित देखिएको छ। विद्यार्थी संख्या र वालविकास सहजकर्ता अनुपात नमिलाई प्रतिव्यक्ति १७ हजारका दरले बढी कार्यरत ५ जनालाई भुक्तान गरेको कुल १२ लाख ५ हजार रुपैयाँ नियमसम्मत नदेखिएको प्रतिवेदनमा उल्लेख छ।
कानुनअनुसार न्यूनतम २५ जनासम्म विद्यार्थी संख्या भएकोमा १ जना र सोभन्दा बढी भएमा मात्र थप बाल विकास सहयोगी कार्यकर्ता राख्न पाइन्छ। तर पञ्चासे मावि, कामरु देवी मावि, ईन्द्रेश्वर आवि, महादेव मावि रातामाटे र शक्ति माविमा हुनुपर्नेभन्दा एक–एकजना बढी बालविकास सहजकर्ता नियुक्त गरिएको छ।
इन्धन र सवारी साधन मर्मतमा ३०/३० लाख खर्च
बेलकोटगढीले एक वर्षमा इन्धनमा गरेको करिब ३० लाख रुपैयाँलाई पनि महालेखाले अनियमित ठहर गरेको छ। इन्धनमा २९ लाख ८६ हजार ८२८ रुपैयाँ खर्च गरेको नगरपालिकाले त्यति नै रकम सवारीसाधन मर्मतमा खर्च गरेको छ। तर, सवारी साधनअनुसार वार्षिक इन्धन खर्च र उपयोगको विवरण खुल्ने गरी अभिलेख राख्नुपर्नेमा त्यसो गरिएको छैन।
कार्यालयमा रहेको चल्ती, जिन्सी मालसामान मर्मत गर्नुपरे कार्यालय प्रमुखबाट मर्मत आदेश स्वीकृत गराई अभिलेख तयार गर्नुपर्ने व्यवस्था छ। तर, कार्यालय प्रमुखको मर्मत आदेश स्वीकृत वेगर नै नगरपालिका कार्यालयले एकै वर्षमा सवारी साधन मर्मततर्फ पनि २९ लााख ८६ हजार ८२८ रुपैयाँ खर्च देखाएको प्रतिवेदनमा उल्लेख छ।
कर्मचारीले बुझे दोहोरो भत्ता
बेलकोटगढी नगरपालिकाले आव ०८१/८२ मा कर्मचारीलाई दोहोरो भत्ता उपलब्ध गराई ४८ हजार ५०४ रुपैयाँ अनियमित गरेको छ। प्रमुख प्रशासकीय अधिकृत हरेन्द्र कुमार श्रेष्ठसहित चार कर्मचारीले दोहोरो भत्ता बुझेको प्रतिवेदनमा उल्लेख छ। दैनिक भ्रमण भत्ता बुझेको अवधिमा प्रोत्साहन भत्ता बापतको रकम कट्टी गरेर भुक्तानी गर्नुपर्नेमा नगरपालिकाले त्यसो नगरेकाले सोबराबरको रकम असुल गर्न महालेखाले निर्देशन दिएको छ।