विराटनगर विमानस्थलभित्र सञ्चालन भइरहेका चार हाेटेलले जरिवाना तिरेका छन् । यात्रुसँग अत्यधिक मूल्य असुल्ने गरेको पाइएपछि चारवटा होटेललाई अनुमन टोलीले जरिवाना गरेको हाे ।
अनुमगनका क्रममा यात्रुहरूसँग तोकिएको भन्दा दोब्बरदेखि तेब्बर बढी मूल्य असुल्ने गरेको पाइएपछि विराटनगर विमानस्थलभित्र सञ्चालन भइरहेका ममता होटेल, ग्यालेक्सी क्याफे एन्ड होटेल, गरिमा क्याफे र अनुकूल होटेल एन्ड भान्साघरलाई संयुक्त अनुमगन टोलीले उपभोक्ता हितविरुद्धको कसुरमा जनही तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।
मोरङका सहायक प्रमुख जिल्ला अधिकारी सरोज कोइरालाका अनुसार तोकिएको मूल्यभन्दा अत्यधिक बढी मूल्यमा सामग्री बिक्री गरेको पाइएपछि विराटनगर विमानस्थलभित्रका चारवटा पसललाई उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार जनही तीन लाखका दरले जरिवाना गरिएको बताए।
यात्रुहरूबाट तोकिभन्दा अत्यधिक बढी मूल्य असुलेर कालोबजारी गरेको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालय मोरङ, बाणिज्य कार्यालय, प्रहरी र उपभोक्ता संरक्षण मञ्चको टोलीले विमानस्थलभित्र सञ्चालन भइरहेका होटेल तथा पसलहरूको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा विराटनगर विमानस्थलको बोर्डिङ कक्षमा सञ्चालित ममता होटेलले एक सय रुपैयाँ पर्ने डेरी मिल्क चकलेटलाई दुई सय रुपैयाँमा बिक्री गरेको पाइएको थियो । यसैगरी, क्यान्टिन कक्षमा रहेको ग्यालेक्सी क्याफे एन्ड होटेलले ५० रुपैयाँ पर्ने कोकलाई १६० रुपैयाँमा बिक्री गरेको थियो ।
यसैगरी विमानस्थलपरिसरमा रहेको गरिमा क्याफेले ५० रुपैयाँको कोकलाई ८० रुपैयाँ र अनुकूल होटेल एन्ड भान्साघरले आठ रुपैयाँ पर्ने चकलेटलाई १७ रुपैयाँमा बिक्री–वितरण गरेको पाइएपछि अनुगमन टोलीको जरिवाना गरेको हो ।