हुलाक सेवाको प्रभावकारिता बढाउन क्षमता विकास तथा अन्तरक्रिया

बुधबार, २७ जेठ, २०८३
डिजिटल संस्करण

परम्परागत सञ्चारमाध्यमका रूपमा परिचित हुलाक सेवाको प्रभावकारिता र सेवाग्राहीमैत्री सेवा प्रवाहलाई थप सुदृढ बनाउने उद्देश्यले जिल्ला हुलाक कार्यालय महोत्तरीले क्षमता विकास तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।

जलेश्वरस्थित जिल्ला हुलाक कार्यालयको सभा हलमा सोमबार सम्पन्न कार्यक्रममा कार्यालयका कर्मचारी तथा सञ्चारकर्मीहरूबिच हुलाक सेवाको वर्तमान अवस्था, चुनौती र सुधारका सम्भावनाबारे छलफल गरिएको थियो। कार्यालय प्रमुख रामचन्द्र साहको अध्यक्षतामा आयोजित कार्यक्रममा सेवाको गुणस्तर अभिवृद्धि, कार्यसम्पादनमा प्रभावकारिता तथा नागरिकको विश्वास कायम राख्ने विषयमा विशेष जोड दिइएको थियो।

कार्यक्रममा सहजीकरण गर्दै प्रशिक्षक राकेश चौधरीले प्रविधिको विकाससँगै परिवर्तन भइरहेको सेवा प्रणालीमा हुलाक सेवाले आफूलाई समयानुकूल रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याए। उनले सेवाग्राहीको अपेक्षा र संस्थागत उत्तरदायित्वलाई केन्द्रमा राखेर सेवा प्रवाह गर्नुपर्ने धारणा व्यक्त गरे।

अन्तरक्रियामा सहभागी सञ्चारकर्मी तथा कर्मचारीहरूले हुलाक सेवालाई अझ प्रभावकारी, विश्वसनीय र पहुँचयोग्य बनाउन सूचना प्रवाह तथा जनचेतनामूलक गतिविधि बढाउनुपर्ने सुझाव दिएका थिए।

सुझावित समाचार