सन् १९६७ : संयुक्त राष्ट्र संघको मध्यस्थतामा इजरायल र अरबी देशबिच ६ दिनदेखि जारी सशस्त्र द्वन्द्व (जुन युद्धलाई ‘६ दिने युद्ध’का नामले चिनिन्छ) अन्त्य भयो । अरबी राष्ट्रहरूको गठबन्धन (इजिप्ट, सिरिया, जोर्डन, इराक) नराम्ररी पराजित भएको यस युद्धमा इजरायलले इजिप्टको सिनाई प्रायद्वीप, सिरियाको गोलान हाइट कब्जामा लियो । गाजा र पश्चिम किनारा पनि त्यसै वेलादेखि इजरायली कब्जामा आएको हो ।
सन् १७८६ : चीनको सिचुआन प्रान्तमा दश दिनअघि आएको भूकम्पका कारण खसेको पहिरोले थुनेको दादु नदी एक्कासि फुट्दा आएको बाढीले झन्डै एक लाखको ज्यान लियो ।
सन् १७९४ : फ्रान्समा ‘ल अफ २२ प्राइरियल’ जारी गरियो । फ्रान्सेली क्रान्तिपछि गठित सरकारले आरोपीमाथि कानुनी प्रक्रिया छोट्याउन ल्याएको यस कानुन पारित भएसँगै क्रान्तिविरोधीका नाममा मृत्युदण्ड पाउनेको संख्या ह्वात्तै बढ्यो ।
सन् १९१६ : ब्रिटिस सहयोगमा हासेमाइट वंशको नेतृत्वमा हेजाज क्षेत्रका अरबले अटोमन साम्राज्यविरुद्ध विद्रोह गरे ।
सन् १९४० : इटलीका तत्कालीन शासक बेनिटो मुसोलिनीले फ्रान्स र बेलायतविरुद्ध युद्धको घोषणा गरे । योसँगै इटली औपचारिक रूपमा दोस्रो विश्वयुद्धमा प्रवेश गर्यो ।
सन् १९८५ : एक हजार ९९ दिनदेखि छिमेकी लेबनानमा सैन्य नियन्त्रण कायम गरी बसिरहेको इजरायलले आफ्नो सेना फिर्ता गर्न सुरु गर्यो ।
सन् १९९९ : नेटोको व्यापक बमबारीपछि ‘विवादित क्षेत्र’बाट आफ्नो सेना फिर्ता गर्ने सर्बियाली राष्ट्रपति सोलबोदान मिलोसेभिकको घोषणासँगै कोसोभो युद्ध अन्त्य भयो ।