- अमेरिकी प्रशासनले सोमालियालगायत राष्ट्रहरूमाथि लगाएको ‘भ्रमण प्रतिबन्ध’का कारण रेफ्री अर्टान मियामी विमास्थलबाट फर्काइए
सन् २०२५ का अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित सोमालियाका उमर अब्दुल कादिर अर्टानलाई अमेरिकाको मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाटै मंगलबार फिर्ता पठाइएको छ । फिफा विश्वकपम खेल सञ्चालन गर्न अमेरिका पुगेका अर्टान मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काइएको बिबिसीले जनाएको छ । उनी अहिले टर्कीमा पुगेका छन् ।
अमेरिकी अध्यागमन विभागले उनलाई रोक्नुको कारण दिएको छैन । तर, राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सोमालियालगायत केही राष्ट्रहरूमाथि लगाएको ‘भ्रमण प्रतिबन्ध’का कारण रेफ्री अर्टान विमास्थलबाट फर्किन बाध्य भएका हुन् । फिफाले पनि अर्टान अब विश्वकपमा सहभागी हुन नसक्ने जनाएो छ । ‘कुनै पनि देशले कसलाई भिसा दिने वा आफ्नो देश छिर्न दिने भन्ने कुरा सम्बन्धित देशकै अधिकार हो,’ फिफाले भनेको छ, ‘यसमा फिफाले हस्तक्षेप गर्न सक्दैन, यसकारण रेफ्री अर्टानले विश्वकपमा खेल खेल्नाउन वञ्चित भएका छन् ।’
यसैगरी, ह्वाइट हाउसका सल्लाहकार जिउलियानीले सुरक्षाका कारण रेफ्रीलाई रोक्ने निर्णय सही भएको बताए । ‘हामीले हाम्रो सूचीमा रहेका राष्ट्रका नागरिकहरूलाई अमेरिका आउन प्रतिबन्ध गरेका छौँ । यसमा सबै अमेरिकनले समर्थन गरेका छन् ।’ यसैगरी, सोमालियाको खेलकुद मन्त्रालय र फुटबल संघले अमेरिकी प्रशासनको कदमप्रति आपत्ति जनाएका छन् । अर्टानले अमेरिका उड्नुअघि सबै वैध कागजात र कूटनीतिक राहदानी प्रयोग गरेको संघले जनाएको छ । सोमाली फुटबल संघले यसबारे फिफासँग स्पष्टीकरण मागेको छ ।
अर्टानको पक्षमा प्रधानमन्त्री हसन
अफ्रिकाकै उत्कृष्ट रेफ्रीलाई मियामीबाट विनाकारण फर्काउँदा सोमालियाका प्रधानमन्त्री हसन अली खैरेले अमेरिकाको निर्णयप्रति निराशा व्यक्त गरेका छन् । उनले विश्वकै एक उत्कृष्ट रेफ्रीले विश्वकप खेलाउन नपाउँदा अफ्रिकी महादेश नै स्तब्ध भएको बताए । ‘अफ्रिकाका उत्कृष्ट रेफ्री तथा विश्वकै उत्कृष्ट रेफ्रीमध्ये एक उमर अर्टानले विश्वकपमा खेल सञ्चालन गर्न नपाउने खबरले अत्यन्त दुःखी भएको छु,’ सहनले भने, ‘अर्टानले आफ्नो प्रतिभा, अथक मिहिनेत, व्यावसायिक प्रतिबद्धता र इमान्दारिताका कारण यो सफलता प्राप्त गरेका हुन् । हामीलाई आशा छ समाधान निस्कने आशा अझै बाँकी छ । अफ्रिका र सम्पूर्ण विश्व तपाईंको साथमा छ ।’
रेफ्रीले ठुलो अवसर गुमाए
टर्की पुगेका रेफ्री अर्टानले जीवनमा ठुलै अवसर गुमाएको बताएका थिए । ‘यति ठुलो अवसर गुमाउनु परेको छ,’ उनले भनेका छन्, ‘अब भविष्यका चुनौतीमा ध्यान दिनेछु । मलाई सहयोग गर्ने फिफा र अफ्रिकी फुटबल महासंघलाई धन्यवाद दिँदै विश्वकपमा खटिने मेरा साथीहरूलाई सफलताको शुभकामना दिन चाहन्छु ।’ अर्टान सन् २०१८ देखि फिफाको रेफ्री हुन् । उनले अफ्रिका कप अफ नेसन्स जस्ता ठुला प्रतियोगिताहरू सफलतापूर्वक खेलाइसकेका छन् । यसपटकको विश्वकपका लागि छानिएका ५२ मुख्य रेफ्रीहरूको सूचीमा उनी पनि अटाएका थिए ।