अदालतको कागजात किर्ते गर्ने एक पक्राउ

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

काठमाडौं जिल्ला अदालतको लेटर हेड किर्ते गरेको अभियोगमा गोरखा आरुघाट गाउँपालिका–७ का २६ वर्षीय विवश अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ। 

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अधिकारीलाई  टोखा नगरपालिका–३ बाट सोमबार पक्राउ गरेको हो। प्रहरीका अनुसार उनले अदालतको लेटर हेडमा मुद्दाको अन्तिम निर्णय भएपछि दुई करोड १३ लाख रुपैयाँ विवश अधिकारीको खातामा स्थानान्तरण गर्न भन्दै लिखत तयार गरेका थिए।

त्यस्तै, सेवा शुल्कबापत अदालतले अधिकारीलाई एक लाख ६ हजार ५०० रुपैयाँ भुक्तानी गर्नुपर्ने भन्दै अर्को लिखत तयार गरेका थिए। उक्त लिखतमा न्यायाधीश, स्रेस्तेदार र शाखा अधिकृतको दस्तखत थियो भने अदालतको छाप पनि लगाइएको थियो। लिखतमा प्रयोग भएका सबै हस्ताक्षर र छाप किर्ते रहेको सिआइबीका सहप्रवक्ता एसपी योगेन्द्रकुमार खड्काले बताए।

घटनाको सूचनापछि अदालतले सिआइबीमा जाहेरी दिएको थियो। सोही जाहेरीपछि सिआइबीले घटनाको अनुसन्धान गरेको थियो। घटनामा कैफियत फेला परेपछि सिआइबीले अधिकारीलाई पक्राउ गरेको जनाएको छ।

सुझावित समाचार