रास्वपा पर्साको सभापतिमा बुद्धिप्रसाद पन्त

मंगलबार, २६ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पर्सा जिल्ला सभापतिमा बुद्धिप्रसाद पन्त (हरि) निर्वाचित भएका छन्। जिल्ला नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनमा पन्त नेतृत्वको प्यानलले जित निकालेको हो। निर्वाचन समितिका संयोजक डा. नन्दन यादवका अनुसार सभापति पदमा पन्तले १६६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी सुशीलकुमार कानुले ११८ मत प्राप्त गरे। पन्तले ४८ मतको अन्तरले जित निकालेका हुन्। पन्त र कानु क्रमशः पर्सा निर्वाचन क्षेत्र नं. १ र २ का प्रतिनिधिसभा सदस्य हुन्। दुवै पक्ष प्यानलसहित निर्वाचनमा होमिएका थिए।

उपसभापति पदमा पन्त समूहकै दिलीपकुमार कुर्मी १६२ मतसहित विजयी भए। उनका प्रतिद्वन्द्वी रंदीप श्रीवास्तवले ११४ मत प्राप्त गरे। सचिव पदमा सुदीशकुमार प्रजापति १६० मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी शिवकुमार साहले ११६ मत प्राप्त गरे। सहसचिव पदमा कृष्णा पासवान १४९ मतसहित विजयी हुँदा निरजकुमार साह ११३ मतमा सीमित भए।

सदस्य पदतर्फ तुलसा पौडेल अधिकारी १६० मत प्राप्त गर्दै सर्वाधिक लोकप्रिय उम्मेदवार बनिन्। सदस्यमा प्रियंका कुमारी कुर्मी, पूर्णबहादुर सापकोटा, कामोध्या चौधरी र शशीदेवी थरुनी पनि निर्वाचित भएका छन्।

पर्साका चार सांसदमध्ये हरि पन्तले पार्टीका पुराना नेतृत्व र कार्यकर्ताको साथ लिएर निर्वाचनमा प्रतिस्पर्धा गरेका थिए। यता सुशीलकुमार कानुलाई क्षेत्र नं. ३ का सांसद रामाकान्त चौरसिया, क्षेत्र नं ४ का सांसद टेकबहादुर शाक्य तथा नेता सुधीर पटेलको समर्थन थियो।

सुझावित समाचार