नेप्सेसँँगै कारोबार रकममा गिरावट

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

साताको पहिलो कारोबार दिन नेप्से परिसूचक २०.२७ अंकले घटेर दुई हजार ७३५.१४ विन्दुमा कायम भएको छ। यसअघिका दुई कारोबार दिनमा पनि नेप्से दोहोरो अंकले घटेको थियो।

नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। ९२ लाख ३६ हजार कित्ता सेयर चार अर्ब आठ करोड ४८ लाख ९६ हजार रुपैयाँबराबरमा खरिद–बिक्री भएको हो। शुक्रबार पाँच अर्ब ६२ करोडभन्दा बढीको सेयर किनबेच भएको थियो।

सोमबार वित्त समूह ०.२६ प्रतिशतले वृद्धि हुँदा बाँकी १२ वटै समूहको सूचकमा गिरावट देखिएको छ। व्यापार र अन्य समूह एक प्रतिशतभन्दा धेरैले घट्दा बाँकी समूहको गिरावट एक प्रतिशतभन्दा कम छ।

नेप्से घटे पनि कालिञ्चाेक हाइड्रोको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। क्रेस्ट माइक्रो लाइफ, सोपान फर्मास्युटिकल्स र सामुदायिक लघुवित्तका लगानीकर्ताले क्रमशः १३, ९ र ८ प्रतिशतभन्दा धेरै आर्जन गरेका छन्। तर, उपकार लघुवित्तका लगानीकर्ता सर्वाधिक गुमाउने सूचीको शीर्ष स्थानमा छन्। उक्त कम्पनी सात प्रतिशतभन्दा धेरैले घट्दा सयपत्री हाइड्रोका लगानीकर्ताले ६ प्रतिशत गुमाएका छन्।

कारोबार रकममा आधारमा सेन्ट्रल फाइनान्स तथा कारोबार भएका सेयर संख्याका आधारमा आँखु ओला जलविद्युत् शीर्ष स्थानमा छन्। सेन्ट्रल फाइनान्सको २० करोडभन्दा बढीको कारोबार हुँदा आँखु खोलाको तीन लाख ४१ हजार कित्ता सेयर किनबेच भएको छ।

सुझावित समाचार