विश्व वातावरण दिवसमा सिटिजन्स बैंकको देशव्यापी अभियान, सात प्रदेशमा १५ सय बिरुवा रोपियो

सोमबार, २५ जेठ, २०८३
डिजिटल संस्करण

विश्व वातावरण दिवस २०२६ को मूल मन्त्र ‘क्लाइमेट एक्सन’लाई आत्मसात् गर्दै बढ्दो जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जगेर्ना तथा प्रवर्द्धन गर्ने हेतुले सिटिजन्स बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ०८३ साल जेठ २३ गते शनिबारको दिन चौकीडाँडा पर्यटकीय पार्क, बुढानीलकण्ठ, काठमाडौंमा बृहत् वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।

विश्व वातावरण दिवस २०२६ को अवसरमा बृहत् वृक्षरोपण कार्यक्रम बुढानीलकण्ठको चौकीडाँडा पर्यटकीय पार्क, वडा नम्बर १ मा करिब २५० विभिन्न प्रजातिका बिरुवा रोपिएको छ भने देशव्यापी रूपमा अन्य प्रदेशहरूमा; कोशी दुई सयवटा, मधेश २५० वटा, गण्डकी दुई सयवटा, लुम्बिनी दुई सयवटा, कर्णाली दुई सयवटा र सुदूरपश्चिम दुई सयवटा गरी कुल एक हजार पाँच सयवटा वृक्षरोपण गरिएको छ । यस कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल, बुढानीलकण्ठ वडा कार्यालय– १ का अध्यक्ष सुरेन्द्र लामा तथा बैंकका उच्च व्यवस्थापनलगायतका कर्मचारीहरूको सहभागिता रहेको थियो । संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले यसअघि नै देशका विभिन्न स्थानहरूमा स्वास्थ्य शिविर सञ्चालन एवं सामुदायिक विद्यालयमा सहयोगहरूसमेत गरिसकेको छ ।

उक्त कार्यक्रममा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत गणेशराजले आज रोप्ने प्रत्येक बिरुवाले भोलिका पुस्तालाई स्वच्छ हावा, सुरक्षित वातावरण र स्वस्थ जीवन प्रदान गर्ने विश्वास व्यक्त गरे । सिटिजन्स बैंक इन्टरनेसनलले वित्तीय सेवा प्रदान गर्नुका साथै सामाजिक उत्तरदायित्वलाई पनि आफ्नो संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा लिएको छ । वातावरण संरक्षण, समुदाय विकास तथा दिगो भविष्य निर्माणका लागि बैंकले निरन्तर विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ र आगामी दिनहरूमा पनि यस्ता प्रयासलाई निरन्तरता दिनेछ ।

विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द इयर २०२४ र २०२५ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले यसअघि नै फोनपेसँगको सहकार्यमा नेपालमै पहिलोपटक ‘सिटिजन्स फोनपे क्रेडिट कार्ड’ भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । हालसालै बैंकले नवयुवा लक्षित बचत खाता ‘सिटिजन्स जेन–जी सेभिङ अकाउन्ट’ र ‘सिटिजन्स डिजी बैंक सेवा’ नामक एकीकृत अनलाइन प्लाटफर्म सञ्चालनमा ल्याएको छ । फ्रिलान्सरहरूलाई लक्षित गरी विशेष ‘फ्रिलान्सर सेभिङ अकाउन्ट’ नामक नयाँ बचत खाता सुरु गरेको छ साथै नेपालमै पहिलोपटक मोबाइल बैंकिङ एपमार्फत नै सेयर आवेदन र सिआरएन नम्बर सेवा लिन सकिने सुविधालगायत क्रस बैंक टेलर सुविधा जसमा अन्य बैंकका ग्राहकले सिटिजन्स बैंकको शाखाबाट टेलर क्युआर स्क्यान गरी नगद प्राप्त गर्न सकिने सुविधासमेत ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना दुई सयवटा शाखा, १६९ वटा एटिएम, तीन विस्तारित काउन्टर र ४२ वटा शाखारहित बैंकिङ इकाइहरूबाट २० लाख २८ हजार ग्राहक वर्गलाई आधुनिक बैंकिङ सेवाहरू प्रदान गर्दै आएको छ ।

सुझावित समाचार