राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाँकेको सभापतिमा विवेककुमार श्रेष्ठ निर्वाचित भएका छन्। रास्वपा बाँकेको नेपालगन्जमा सम्पन्न प्रथम जिल्ला अधिवेशनबाट श्रेष्ठ सभापतिमा निर्वाचित भएका हुन्।
चारजनाबिच भएको प्रतिस्पर्धामा श्रेष्ठ ८५ मत पाएर विजयी हुँदा आनन्दबाबु काफ्लेले ५२, हरिपालसिंह केसीले ३९ र विनोद अग्रहरीले ११ मत पाएका निर्वाचनमण्डलले जनाएको छ।
उपसभापतिमा ईश्वरी लामिछाने ११९ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी रामबहादुर विष्टले ६८ मत पाए। त्यसैगरी, सचिवमा शुभमकुमार गुप्ता एक सय मत ल्याएर विजयी भए। उनका निकतम प्रतिद्वन्द्वी बुद्धिसागर सुवेदीले ८९ मत पाए। सहसचिवमा फाहरुक गुजर निर्विरोध निर्वाचित भएका निर्वाचनमण्डलले जानकारी दिएको छ।
निर्वाचनमण्डलका अनुसार जातीय सदस्यअन्तर्गत मुस्लिमतर्फ भएको निर्वाचनमा कमर जहाँ १२१ मतका साथ विजयी हुँदा उनका प्रतिद्वन्द्वी सहजाद अली जोलाहाले ५७ मत पाए। दलिततर्फ स्मृति नेपालीले १४५ र मनोज नेपालीले ३७ मत पाए भने खुला सदस्यतर्फ एकलाल थापा क्षेत्री, हेमराज बराल र यमुनाकुमारी थापामगर विजयी भएका छन्।
कुल २४६ मतदाता रहेको रास्वपा बाँकेमा १९१ मत खसेको थियो भने दुई मत बदर भएको छ।