पोखराको गैरापाटनस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा कक्षा ११ का विद्यार्थीमाझ उत्प्रेरणामूलक कार्यक्रम गरिएको छ । उत्प्रेरक डा. रविन कटवालले २३८ विद्यार्थी तथा अभिभावकलाई ‘द लाइफ बियोन्ड द लिमिट्स’ शीर्षकमा उत्प्रेरणामूलक कार्यक्रम सञ्चालन गरेका हुन् ।
कार्यक्रममा सीमाभन्दा माथि उठेर जीवनलाई कसरी अर्थपूर्ण र सफल बनाउने भन्नेबारे व्यावहारिक छलफल गरिएको थियो । डा. कटवालले ऊर्जावान् र जीवनोपयोगी शैलीमा विद्यार्थीलाई जीवनका चुनौतीहरूलाई अवसरमा बदल्न प्रेरित गरेका थिए ।
डा. कटवालले विद्यार्थी उमेर नै भविष्यको गोरेटो कोर्ने मुख्य समय भएको उल्लेख गरे । उनले सकारात्मक सोच, निरन्तरको प्रयास र आत्म–अनुशासन नै सफलताको त्रिवेणी भएको प्रस्ट पार्दै किताबी ज्ञानसँगै व्यावहारिक र जीवनोपयोगी सिप सिक्न पनि विद्यार्थीलाई आग्रह गरे । यस्ता कार्यक्रमले विद्यार्थीको मानसिक मनोबल उच्च बनाउन र उनीहरूलाई आफ्नो लक्ष्यमा केन्द्रित हुन ठुलो मद्दत पुग्ने विद्यालयले विश्वास व्यक्त गरेको छ ।