राष्ट्रिय स्वतन्त्र पार्टी कैलालीको नयाँ नेतृत्वका लागि भइरहेको निर्वाचन सभापतिका दुई उम्मेदवारले बहिष्कार गरेका छन्। मतदाता नामावलीमा धाँधली भएको र पार्टी विधानअनुसार निर्वाचन समिति गठन नभएको भन्दै सभापतिका उम्मेदवार महेश चौधरी र हरि रेग्मीले चुनाव बहिष्कार गरेका हुन्।
प्रतिनिधि यकिन नगरी र निर्वाचन अधिकृत चयन नगरी चुनाव गर्न खोजिएकाले आफू चुनावबाट अलग भएर निस्किएको निवर्तमान सभापतिसमेत रहेका सभापतिका उम्मेदवार चौधरीले बताए।
सभापतिमा चौधरी, रेग्मी र कवीन्द्र ठकुल्ला उम्मेदवार छन्। तीनजनाको निर्वाचन समिति गठन हुनुपर्नेमा निर्वाचन समितिको संयोजक नै नबनाई निर्वाचन समितिका दुई सदस्यले निर्वाचन गराउन खोजेको चौधरीले बताए। जिल्लाले प्रतिनिधिको सूची प्रदेशलाई पठाएको थियो, तर प्रदेशले त्यो सूची स्वीकृत गरेर पठाएन।
‘जिल्लाले पठाएको सूचीमा नामै नभएकालाई प्रतिनिधि बनाएर मतदाता नामावलीमा राखिएको छ,’ चौधरीले भने, ‘त्यही कारण निर्वाचन प्रक्रियामा सहभागी नभई म निस्किएँ ।’ जिल्लाबाहिरबाट आएका अधिकांश प्रतिनिधि फर्केपछि निर्वाचन सुरु गरिएको र विधानअनुसार प्रक्रियामा जाऊँ भन्दा सुनुवाइ नभएको उनले बताए।
आज भएको अधिवेशनमा पार्टीका केन्द्रीय सदस्य लक्ष्मण थारू प्रमुख अतिथि रहेका थिए ।
अधिवेशन उद्घाटन समाराेहमा कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवाली, क्षेत्र नं. २ का सांसद किरणपी केपी खनाल, क्षेत्र नं. ३ का सांसद जगतप्रसाद जोशी, क्षेत्र नं. ४ का सांसद खेमराज कोइराला, क्षेत्र नं. ५ का सांसद डा. आनन्दकुमार चन्द तथा सांसद करिश्मा कठरिया उपस्थिति थिए ।