टिआइएमा १५ मिनेट ‘पिक एन्ड ड्रप’ निःशुल्क

आइतबार, २४ जेठ, २०८३
डिजिटल संस्करण

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु लिन तथा पुर्याउन आउने सवारीसाधनका लागि १५ मिनेटसम्म नि:शुल्क पार्किङ सुविधा लागू गरिएको छ । विमानस्थल कार्यालयले यात्रुहरूको आवतजावतलाई थप सहज बनाउने उद्देश्यले ‘पिक एन्ड ड्रप’ सेवाअन्तर्गत पार्किङ शुल्क नलाग्ने समयसीमा विस्तार गरेको हो ।

नयाँ व्यवस्थाअनुसार यात्रु छोड्न वा लिन आउने सवारीसाधनले विमानस्थलपरिसरभित्र प्रवेश गरेपछि १५ मिनेटभित्र बाहिरिएमा कुनै पनि पार्किङ शुल्क तिर्नुपर्नेछैन ।

विमानस्थलले यात्रु सेवाको आवश्यकता र भिड व्यवस्थापनलाई ध्यानमा राख्दै यो निर्णय गरिएको जनाएको छ । यसअघि उक्त सुविधा सात मिनेटसम्म मात्र सीमित थियो । सेवाग्राहीको गुनासोलाई मध्यनजर गर्दै उक्त सेवा सञ्चालनमा ल्याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी तेजबहादुर पौडेलले बताए ।

उनका अनुसार उक्त सेवा १ जेठदेखि सञ्चालन गरिएको हो । ‘परीक्षणका लागि हामीले एक महिना १५ मिनेट ‘पिक एन्ड ड्रप’ गरेको पार्किङ शुल्क नलिने व्यवस्था गरेका छौँ । यस व्यवस्थाविपरीत शुल्क लिनेलाई कारबाही गरिनेछ,’ उनले भने ।

See More On

सुझावित समाचार