एसिया कपमा स्थान बनाइसकेको नेपालले एसियाली खेलकुद छनोट प्रतियोगिताको फाइनल प्रवेश गर्न आज ओमानसँग खेल्दै छ । सिंगापुरमा हुने खेल नेपाली समयअनुसार बिहान ७:१५ मै हुनेछ ।
नेपाल लगातार प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा पुग्ने योजनामा छ । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा नेपालले लगातार दुई खेल जितिसकेको छ । दुबै खेलमा ओपनर कुशल भुर्तेलले शतक बनाउँदा नेपालले सहज जित निकालेको हो । पहिलो खेलमा चीनविरुद्ध नेपाल २२१ रनले विजयी भएको थियो । दोस्रो खेलमा पनि मलेसियाविरुद्ध नेपाल हाबी हुँदै १६७ रनको जित निकाल्यो । नेपाल समूह ‘ए’को विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । समूह ‘बी’ तीनमध्ये दुई खेल जित्दै ओमान उपविजेता बनेको हो ।
ओमानले पहिलो खेलमा डिएलएस पद्धतिमा आयोजक सिंगापुरलाई ७ रनले पराजित गर्यो । दोस्रो खेलमा बहराइनलाई २० रनले पराजित गर्दा तेस्रो खेलमा हङकङसँग भने १५४ रनले पराजित भएको थियो । प्रतियोगिताको दुई समूहको शीर्ष दुईमा रहेको नेपाल र हङकङसँगै ओमान र मलेसिया एसियन्स गेमका लागि छनोट भइसकेका छन् ।