सोलुदेखि अस्ट्रियासम्म आङछुटिनको यात्रा

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण
  • सोलुबाट अस्ट्रिया पुगेकी आङछुटिन शेर्पा त्यहाँ प्रतिष्ठित जागिर गरेपछि फर्केर नेपालका गाउँगाउँका स्कुल बनाइरहेकी छिन्

उमेरले सात दशक टेक्नै आँट्यो । तर, आङछुटिन शेर्पाको जोस, जाँगर भने अझै तन्नेरी छ । त्यही जोशले उनलाई कहिले कर्णालीको जाजरकोट पुर्याउँछ । कहिले धादिङको चेपाङ बस्ती । ती ठाउँमा उनी कहिले विद्यालय बनाउन पुग्छिन्, कहिले विद्यार्थीका लागि शैक्षिक सामग्री लिएर पुग्छिन् । कहिले स्वास्थ्य सामग्रीसँगै प्राथमिक उपचारमा समेत संलग्न हुन्छिन् । विनाहोहल्ला उनी चुपचाप ती बस्तीहरूमा पुग्छिन् । आफ्नो बुताले भ्याएको काम गरेर फर्किन्छिन् ।

सहयोगी हृदयकी आङछुटिन करिब चार दशकदेखि अस्ट्रिया बस्दै आएकी छिन् । नेपाल आएको मेसोमा सोमबार मध्य दिनमा भेट्दा उनी पुनः अस्ट्रिया फर्कने तरखरमा थिइन् । सोधेँ, ‘जीवनको लामो समय युरोपमा बिताउनुभयो । बुढेसकालमा जन्मभूमिको उकालो, ओरालो गर्दै हुनुहुन्छ । किन ?’

जन्मथलो सोलुदेखि अस्ट्रिया पुग्नुको अन्तरकथा, त्यसपछि त्यहाँको बसाइ र जीवनको उत्तरार्द्धमा जन्मभूमिको कुनाकन्दरा घुम्दाका कथाहरू उनले बेलिविस्तार लगाइन् ।

सोलुदेखि अस्ट्रियासम्म
माथिल्लो सोलुको खुम्बु क्षेत्रमा विश्वकै अग्लो शिखर सगरमाथासँगै उभिएका ल्होत्से, नुप्से, चोयु, अमादब्लम, पुमरी, थाम्सेर्कु आदि हिमचुचुराका छायामा उनी हुर्किन् । कक्षा आठसम्म ती हिमालकै काखमा दिनहरू बिताइन् । त्यसपछि विद्यालय शिक्षा पूरा गर्न उनी काठमाडौं आइन् । सन् १९७७ मा एसएलसी पास गरेपछि सोलुखुम्बु नै फर्किन् । उनी गाउँकी छोरीमध्ये पहिलो एसएलसी पास गर्ने छोरी थिइन् । ‘मेरो बुबाआमा अहिले हुनुहुन्न । तर, उहाँहरूले देखाएको शिक्षाको बाटोले म अहिले यहाँसम्म पुगेको छु । उहाँहरू नरहे पनि कृतज्ञ छु,’ उनले भनिन् । 

त्यो वेला सगरमाथा आरोहण गर्ने लहर सुरु भइसकेको थियो । हिमाल चढ्ने रुटमा उनीहरूको सानो होटेल थियो । त्यहीवेला अस्ट्रियाबाट पुगेका पर्यटकहरू उनको होटेलमा पुगे । फर्किँदा एकजनाले अस्ट्रिया लैजाने भए । त्यही नै वेला उनलाई युरोप पुग्ने अवसर मिल्यो । 

अस्ट्रिया पुगेपछि उनलाई डाक्टर बन्ने रहर थियो । तर, आर्थिक अवस्था बाधक बन्यो । छिट्टै पैसा कमाएर घर हेर्नुपर्ने भयो । उनी सबैभन्दा छिट्टै पैसा कसरी कमाउने भन्नेतिर लागिन् । त्यसपछि उनी नर्सिङ पढ्न थालिन् । चार वर्ष नर्सिङ पढेर उनी त्यहीँको अस्पतालमा नर्सको रूपमा जागिरे भइन् ।

नयाँ देश, नयाँ भाषा र फरक संस्कृतिबिच उनले नर्सिङ पेसामा आफूलाई स्थापित गरिन् । अस्ट्रियामा नर्सको रूपमा काम गर्दागर्दै चार दशक बित्यो । उनले अस्ट्रियाको अस्पतालमा करिब ४० वर्ष काम गरिन् । त्यहाँ अप्रेसन नर्सको रूपमा काम गरिन् । ‘अस्ट्रियामा धेरै सिकेँ । ठुला अप्रेसनमा सहभागी भएँ,’ उनले भनिन् । उनले पेट र नसासम्बन्धी क्षेत्रमा विशेषज्ञता हासिल गरिन् । कुनै पनि विषयको अप्रेसन विशेषज्ञ नर्स स्वास्थ्य क्षेत्रमा निकै महत्वपूर्ण मानिन्छ । बिरामीको सेवा गर्दै बितेका वर्षहरूले उनलाई केवल दक्ष स्वास्थ्यकर्मी मात्र बनाएन, मान्छेको दुःख बुझ्ने संवेदनशील मन पनि दियो । यही संवेदनशीलताले उनलाई पटक–पटक नेपाल फर्किन घच्घच्यायो ।

वर्षौँपछि नेपाल फर्किंदा उनले आफ्नो देशको अवस्था उस्तै देखिन् । फेरिएको थियो केवल क्यालेन्डरमा समय । त्यसपछि उनलाई लाग्यो, युरोपको केही अनुभव नेपालमा बाँड्नुपर्छ । त्यहीँबाट सुरु भयो उनको नेपालका गाउँहरू घुम्ने, शिक्षा र स्वास्थ्यमा काम गर्ने सिलसिला ।

अस्ट्रिया गएको दुई वर्षपछि उनी सन् १९८१ उनी नेपाल आइन् । पटक–पटक नेपाल आउने क्रममा नेपाल र यहाँको अवस्था देखेर उनलाई केही गर्न मन लाग्यो । सन् २००४ तिर नेपाल आउने क्रममा नै उनले ठमेल, लैनचौर क्षेत्रमा बस्ने सडक बालबालिका लागि खाना खुवाउने गर्थिन् । सन् २०१५ को भूकम्पको वेला पनि उनी वर्षको दुईपटक नेपाल आइन् । साथीहरूले दिएको पैसाले सिन्धुपाल्चोकका केही ठाउँमा सहयोग गरिन् । सोही वर्ष नेपालमा भारतले नाकाबन्दी गर्दा खाद्यान्नलगायतको अभाव भयो । त्यतिवेला पनि केही ठाउँमा सहयोग गरिन् । वर्षको दुईपटक अप्रिल र नोभेम्बरमा नेपाल आएर विभिन्न ठाउँमा पुगेर कपडा, खाना वितरण गरिन् । २०१९ तिर नेपाल आउने क्रममा एक गैरसरकारी संस्थासँग उनको भेट भयो । त्यही भेटले उनलाई धादिङको चेपाङ बस्ती पुर्याएको थियो ।

तीन वर्षअघि जाजरकोटमा भूकम्प जाँदा पनि उनी यत्तिकै बस्न सकिनन् । किनभने त्यहाँको अवस्था झनै दयनीय थियो । त्यसमाथि भूकम्पका कारण त्यहाँका केही घर, विद्यालय बस्न नमिल्ने भएको थियो । जाजरकोटको विद्यालय बनाउनका लािग उनीसँगै उनका छोरा र अन्य सहयोगीहरूले महत्वपूर्ण भूमिका खेलेका थिए । उनीहरूले त्यहाँ तीनवटा विद्यालय बनाए । भूकम्पपछि अस्थायी रूपमा टेन्टमा बसेको विद्यालय उनीहरूको प्राथमिकतामा पर्यो । महिला प्रधानाध्यापक भएको अर्को विद्यालय पनि उनीहरूको रोजाइमा पर्यो ।

जाजरकोट पुग्नकै लागि उनले जागिरबाट पनि राजीनामा दिइन् । अस्ट्रियामा अवकाश पाउने उमेर ६५ वर्ष हो, उनी विद्यालय बनाउनकै लागि ६२ वर्षमै राजीनामा दिएर नेपाल फर्केकी थिइन् । 

स्वास्थ्य चेतना, शिक्षा सहयोग र स्थानीय समुदायका साना आवश्यकतामा उनले निरन्तर सहयोग गर्न थालिन् । ‘अस्ट्रियाले मलाई धेरै कुरा दियो,’ उनी भन्छिन्, ‘आफ्नो देश सम्झिने मन कहिल्यै हराएन । किनभने ममााथि मेरो बुबाआमाको सेवामुखी व्यवहारको छाया परेको थियो ।’

चार दशक युरोपमा बिताउँदा उनले आधुनिक स्वास्थ्य प्रणाली नजिकबाट देखिन् । तर, नेपालको दुर्गम भेगमा अझै सामान्य उपचारको पहुँच कठिन रहेको यथार्थले उनलाई बारम्बार छोयो । त्यसैले नेपाल आउँदा उनी सकेसम्म स्वास्थ्य सामग्री, औषधि र सहयोग लिएर आउँछिन् ।

महत्वपूर्ण भूमिकामा काम गरेर विशेषज्ञता हासिल गरेकी उनलाई जीवनको उत्तरार्द्धमा दौडधुप गर्नुपर्ने कुनै जरुरी छैन । तर, उनलाई आफ्नो जन्मूमिनजिकबाट चिन्नुछ । गाउँ–गाउँ पुगेर आफूले सक्दो सहयोग गर्नुछ । विकट, कुनाकन्दरा देख्नुछ । ‘मैले यस्तो ठाउँ रोज्नुको कारण नेपालका यस्ता धेरै ठाउँ छन्, जो प्रकृतिले भरिपूर्ण छन् । त्यहाँका मानिसलाई लोभ, डाह, ईर्ष्या छैन । उनीहरूको मन सफा छ । जस्तोसुकै परिस्थितिमा रमाउन सक्ने मन छ,’ उनी भन्छिन्, ‘मैले सोलुखुम्बु, काठमाडौंबाहेक अझै धेरै ठाउँ चिन्न सकेको छैन । मलाई ती ठाउँमा नजिक भएर हेर्न मन छ ।’

केही वर्षअघि उनी धादिङस्थित कोस्राङको कोस्राङ आधारभूत विद्यालय पुगिन् । जहाँ एक सय ४० विद्यार्थी थिए । ती विद्यार्थीलाई देखेर उनी जति चकित भइन्, त्यति नै कहिले नौलो मान्छे नदेखेका ती विद्यार्थी पनि चकित भए । त्यहाँका सबैजसो बालबालिका घाउ, खटिरा बोकेर पढ्न आएको देखिन् । ती घाउ, खटिरा फोहोरले पुरिएको थियो । यो सबै देखेपछि उनले विद्यालयको शिक्षिकाको सहयोगमा सबै बालबालिकालाई नुहाइदिइन् । उनीहरूका घाउ सजिलै देखिन सक्ने भए । उनीहरूको प्राथमिक उपचार गरिन् । पाँच कक्षा पढ्ने विद्यार्थीलाई प्राथमिक उपचार गर्ने तरिका सिकाइन् ।

आङछुटिनलाई त्यहाँको चेपाङ संस्कृतिले चकित बनायो । भौगोलिक विकटता, अभावका बिच उनीहरू आफ्ना समृद्ध संस्कृतिलाई जोगाएर राख्न सफल थिए । चेपाङ समुदायले प्रकृतिलाई पूजा गरेको थाहा पाइन् । बाली पाकिसकेपछि सबैभन्दा पहिले नजिकको थानी भूमिलाई चढाइसकेपछि मात्र मकै खान्छन् भन्ने थाहा पाइन् । यो कुराले उनलाई अचम्ममा पार्यो । उनी भन्छिन्, ‘उनीहरूले मबाट होइन, मैले पो उनीहरूबाट धेरै सिकेँ ।’

अर्कोपटक फेरि चेपाङ गाउँ जाँदा अस्ट्रियाबाट ल्याएको लुगा वितरण गरिन् । गरिबीले थिलथिलो भएको त्यो बस्तीमा इमान्दारिता भने साँच्चै सगरमाथाजस्तै अग्लो पाइन् । उनलाई त्यो घटना अझै ताजै लाग्छ । ‘बाबु र आमा नै नभएको बच्चालाई एकजना विपन्न महिलाले आफ्नो छोराका लागि छुट्याएको लुगा दिइन्,’ उनले भनिन् । त्यो घटनाले मलाई झनै अचम्मित बनायो । ती चेपाङ महिलाबाट निस्वार्थपन के हो भन्ने सिकिन् । उनलाई लाग्यो, ‘युरोपमा मान्छेहरू दगुरेको दगुर्यै गर्छन् । जिन्दगी के हो ? थाहै छैन । यो ठाउँ त जिन्दगी बुझ्नकै लागि भए पनि आउनुपर्ने रहेछ । हाँस्न सिक्नका लागि यी ठाउँ आउनुपर्ने रहेछ ।’

ती बस्तीमा उनी पहिलोपटक एक हप्ता बसिन् । पटक–पटक आउने–जाने गरिरहिन् । त्यसपछि कोस्राङभन्दा विकट चेपाङ बस्ती रोवाङ, बोमराङ र ओर्बाङ पुगिन् ।

ती बस्तीका बालबालिकाहरूको विद्यालय जान सक्ने अवस्था छैन । गइहाले पनि विद्यालय शिक्षा पूरा गर्न सक्ने अवस्था छैन । केही विद्यार्थीमा थप शिक्षा हासिल गर्ने हुटहुटी भए पनि उनीहरू कक्षा पाँचमै रोकिन्छन् । बालबालिकालाई पढाउने, लेखाउने विषयमा अभिभावक सचेत छैनन् । त्यसैले उनको मनमा लाग्यो, ‘यहाँको धेरै बच्चालाई मास्टर बनाउनुपर्छ ।’

त्यहाँको अवस्थालाई नजिकबाट देखेकी उनले केही विपन्न बालबालिकालाई पढाउने योजना बनाइन् । सोहीअनुरूप बेनीघाट रोराङ गाउँपालिकाभित्र पर्ने एक विद्यालयमा पढाउने व्यवस्था गरिन् । ती बालबालिकाका लागि आवश्यक केही शुल्क, किताब, कापी, पोसाक, खाजा सहयोग गर्दै आएकी छिन् । २२ जना विद्यार्थीका लागि उनले आवश्यक सामग्री उपलब्ध गराउँदै आएकी छिन् । ती सबै चेपाङ समुदायका हुन् । त्योभन्दा अघि तीनजनालाई निजी विद्यालयमै पढ्नका लागि सहयोग गरेकी थिइन् । 

एक जना विद्यार्थी अहिले कक्षा १२ पढ्दै छिन् । उनलाई आशा छ, ‘त्यो बच्चा १२ कक्षा पास गरेपछि विद्यालयमा मास्टरी गर्नेछिन् ।’ उनी मास्टर बनेपछि अरूले पनि आफ्ना बालबालिकालाई विद्यालय पठाउने सोच बनाउने विश्वास लिएकी छिन् ।

उनले बस्तीमा भोक, रोग र अभावको ठुलो खाडल देखिन् । जुन पुर्न सकिन्छ कि भनेर उनी लागिरहेकी छिन् । उनी आफैँ ती विद्यार्थीसँग भेटेर कुरा गर्छिन् । उनीहरूको पढाइको अवस्थाबारे बुझ्छिन् । उनलाई लाग्छ, एक व्यक्तिले विद्यालय बनाएरभन्दा व्यक्तिलाई विद्यालयमा टिकिरहने वातावरण बनाउने सके उपलब्धि हुन्छ । ‘मजस्तो एउटा व्यक्तिले स्कुल बनाएर धेरै फाइदा छैन,’ उनी भन्छिन्, ‘सबैभन्दा ठुलो शिक्षा हो । शिक्षा नभएको भए म पनि अस्ट्रियासम्म पुग्ने थिइनँ । त्यसैले जति सक्छु, पढ्नका लागि सहयोग गर्छु ।’

चेपाङ बस्तीमा आङछुटिन र हात धुनु पर्याय नै बनेको छ । उनी देख्नेबित्तिकै बालबालिका हात धुन गइहाल्छिन् । ‘पटक–पटक ती बस्तीमा पुगेर हात धुन सिकाएँ । फोहोर हातकै कारण धेरै रोगको संक्र्रमण हुन्छ,’ उनी भन्छिन्,‘एकपटक हात धुन सिकाएर त्यसको नतिजा आउन सक्दैन । समय लाग्छ । त्यसैले म बारम्बार पुग्ने गरेको छु ।’

आङछुटिलाई आफ्नो जन्मथलो सोलुखुम्बुमा पनि अझै केही गर्न मन छ । तर, त्यहाँ विकासका नाममा भएका अनावश्यक गतिविधिले भने पिरोल्छ । ‘मेरो पालाको भन्दा अहिले गाउँ धेरै फरक भएको छ । गाउँ अहिले तल्लो सोलुजस्तै विकसित भइसकेको छ । मलाईचाहिँ यो विकासले त्यति राम्रो अनुभव गराएको छैन । मलाई मेरो सात दसकअघिकै गाउँ मन पर्छ,’ उनले भनिन्, ‘विकास राम्रो हो । तर, आफ्नो संस्कृतिलाई जगेर्ना गरेर विकास गर्नुपर्छ । आफ्नो भाषा, संस्कृतिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ । युरोप, अमेरिकाको जस्तो विकास हामीलाई किन चाहियो ?’

See More On

सुझावित समाचार