राष्ट्रपति रनिङ सिल्डमा बागमती च्याम्पियन

शनिबार, २३ जेठ, २०८३
डिजिटल संस्करण
  • १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुदको टिम च्याम्पियनको उपाधि जित्दा बागमतीले सर्वाधिक २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्यो

साबिक विजेता बागमती प्रदेशले १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उपाधि जितेको छ । बागमतीले शुक्रबार ६ खेल समावेश प्रतियोगितामा सर्वाधिक २२ स्वर्ण, २१ रजत र १३ कांस्य जित्दै उपाधि रक्षा गरेको हो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा भएको प्रतियोगितामा सुदूरपश्चिम दोस्रो भएको छ । सुदूरपश्चिमले १९ स्वर्ण, नौ रजत र १४ कांस्य हात पार्यो । १२ स्वर्ण, १५ रजत र १८ कांस्य जितेको लुम्बिनी तेस्रो बनेको छ । पाँच स्वर्ण, दुई रजत र १८ कांस्यसाथ गण्डकी चौथो बनेको छ । चार स्वर्ण, सात रजत र १७ कांस्य जितेको कोशी पाँचौँ र तीन स्वर्ण, ६ रजत र ६ कांस्यसाथ मधेश छैटौँ स्थानमा रहेका छन् । कर्णालीले दुई स्वर्ण, पाँच रजत र १२ कांस्य हात पार्दै सातौँ स्थान रक्षा गर्यो । तीन दिनसम्म चलेको १६औँ केन्द्रीय राष्ट्रपति रनिङ सिल्डमा सात प्रदेशबाट ६ सय ८६ खेलाडीले एथलेक्टिस, भलिबल, कबड्डी, तेक्वान्दो, कराँते र उसुमा प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको १७औँ संस्कारण कोशी प्रदेशमा आगामी १९ देखि २२ फागुनसम्म हुने राखेपाले जनाएको छ । उद्घाटन समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेश खेलकुद विकास बोर्ड, कोशीका सदस्य–सचिव विप्लव घोषलाई प्रतियोगिता आयोजनाका लागि झन्डा हस्तान्तरण गरेका थिए ।

भलिबल : गण्डकी र बागमतीलाई उपाधि
भलिबलको उपाधि गण्डकी र बागमतीले जितेका छन् । गण्डकी छात्र तथा बागमती छात्रामा च्याम्पियन बनेका हुन् । निर्णायक सेटमा विजेता बनेका दुवै टोलीले लुम्बिनीलाई पराजित गरेका थिए । गण्डकी र बागमतीले सुरुका दुई सेटमा पछि परेको स्थितिलाई उल्ट्याउँदै उपाधि जितेका हुन् । छात्र फाइनलमा गण्डकीले लुम्बिनीलाई २०–२५, २४–२६, २५–२२, २५–१७ र १५–११ को सेटमा हरायो । छात्राको उपाधि भिडन्तमा बागमतीले लुम्बिनीलाई २१–२५, २२–२५, २५–१२, २५–२१ र १५–८ ले पाखा लगायो ।

कबड्डी : लुम्बिनीलाई दोहोरो उपाधि
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको कबड्डीको छात्र र छात्रा दुवैमा लुम्बिनीले उपाधि चुम्यो । छात्र र छात्रा फाइनलमा लुम्बिनीले प्रतिद्वन्द्वी बागमतीलाई हराएको थियो । छात्रको फाइनलमा लुम्बिनीले बागमतीलाई ३७–३२ ले पराजित गर्यो । कर्णाली र गण्डकी संयुक्त रूपमा तेस्रो भए । छात्राको उपाधि भिडन्तमा लुम्बिनीले बागमतीलाई ३५–२९ ले हरायो । सुदूरपश्चिम र मधेश तेस्रो स्थानमा रहे । यसैगरी, उसुमा सुदूरपश्चिमको वर्चस्व रह्यो । सुदूरपश्चिमले ६ स्वर्ण जित्यो । बागमतीले तीन तथा गण्डकी, लुम्बिनी र कर्णालीले एक–एक स्वर्ण हात पारे ।

एथलेटिक्समा बागमतीलाई सर्वाधिक ११ स्वर्ण
बागमतीले प्रतियोगिताको अन्तिम दिन शुक्रबार एथलेटिक्समा सर्वाधिक ११ स्वर्ण जितेको छ । बागमतीले सात रजत र पाँच कांस्य पनि जित्यो । एथलेटिक्समा विभिन्न २६ स्पर्धा समावेश थिए । सुदूरपश्चिमले आठ स्वर्ण, तीन रजत र चार कांस्य हात पार्यो । लुम्बिनीले पाँच स्वर्ण, नौ रजत र पाँच कांस्य जित्यो । गण्डकीले दुई स्वर्ण, दुई रजत र सात कांस्य जितेको आयोजकले जनाएको छ । कर्णालीले एक स्वर्ण, दुई रजत र तीन कांस्य जित्यो । स्वर्णविहीन कोशीले समान दुई रजत र कांस्य जितेको थियो । यस विधामा मधेश पदकविहीन बन्यो । दशरथ रंगशालामा अन्तिम दिन आठ स्पर्धाको फाइनल भएको थियो । छात्र दुई सय मिटर दौडमा लुम्बिनीका भगवानदास लोहार पहिलो भए । उनले निर्धारित दूरी २२.६४ सेकेन्डमा पूरा गरे । सो स्पर्धाको छात्रामा लुम्बिनीकी गरिमा चौधरीले निर्धारित दूरी २७.३७ सेकेन्डमा तय गर्दै स्वर्ण जितिन् ।

तीनवटा जुनियर रेकर्ड
एथलेटिक्समा दुई व्यक्तिगत र एक टिममा गरी जम्मा तीन जुनियर राष्ट्रिय कीर्तिमान बनेका छन् । छात्र हाइजम्पमा बागमतीका अविनाश सुनारले १.८६ मिटर जम्प गर्दै कीर्तिमान कायम गरे । छात्रा चार सय मिटर दौडमा बागमतीकी भगवती खड्काले हिट चरणमा निर्धारित दूरी ५८.९४ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाइन् । भगवतीले कीर्तिमानी एकसहित जम्मा चार स्वर्ण जितिन् । भगवतीले चार सय मिटर दौडबाहेक आठ सय मिटर दौड, चार गुणा एक सय र चार गुणा चार सय मिटर रिलेमा स्वर्ण जितेकी हुन् । छात्रा चार गुणा चार सय मिटर रिलेमा अतित थापा, आर्यन रानामगर, अंकित रानाभाट र सुदीप भण्डारी सम्मिलित गण्डकी टोलीले निर्धारित दूरी तीन मिनेट २७.९ सेकेन्डमा तय गर्दै कीर्तिमान रचे । यसैगरी, तेक्वान्दोमा बागमतीले पाँच स्वर्ण जित्यो । कराँतेमा कोशीले सर्वाधिक समान तीन स्वर्ण, रजत र कांस्य जित्यो । 

सुझावित समाचार