बर्दियाको गेरुवा गाउँपालिकामा प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको छ । राजापुर सिँचाइ व्यवस्थापन कार्यालयको आयोजनामा गेरुवा गाउँपालिकामा प्रारम्भिक वातावरणीय परीक्षणसम्बन्धी सार्वजनिक सुनुवाइ कार्यक्रम गरिएको हो ।
राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका करिब १६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्यसहित एसियाली विकास बैंक (ADP) को सहयोग सिँचाइको नहरलाई आधुनिकीकरण गर्ने कामलाई भइरहेको छ । कुल चार अर्ब ५८ करोड ९५ लाख ९९ हजार २६१ रुपैयाँको लागतमा बन्न लागेको सिँचाइ व्यवस्थापनको काम अगाडि बढाएर कृषि उत्पादन बढाउने र किसान जीवनस्तर सुधार गर्ने लक्ष्य आयोजनाको रहेको राजापुर सिँचाइ आयोजना कार्यालयले जनाएको छ ।
सन् २०३० सम्ममा सम्पन्न गर्ने गरी अगाडि बढेको आयोजनाको कामको दुईवटा टेन्डर भएको राजापुर सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख प्रदीप वान्तवाले बताए । उनले भने, ‘सिँचाइ व्यवस्थापनको काम व्यवस्थित रूपमा अगाडि बढाएर कर्णाली नदीको पानी वर्षभरि नै नहरमा बग्ने गरी ल्याउन खोजिएको छ । सिँचाइ व्यवस्थापनको कामलाई सही ढंगले अगाडि बढाउने सके यसले यहाँ स्थानीयको जीवनस्तर सकारात्मक प्रभाव पार्नेछ ।’
सिँचाइ प्रणालीलाई व्यवस्थित गर्न सकेमा कृषि उत्पादन बढ्ने, किसानको आम्दानीमा वृद्धि हुने, कृषि आधारित रोजगारी सिर्जना हुने, स्थानीय सिप तथा क्षमताको विकास हुने परामर्शदाता शेरसिंह ठगुन्नाले बताए ।
सिँचाइ विभागका वातावरण निरीक्षक राजेश्वर पौडेलले आयोजनाको काम अगाडि बढाउँदा देखिएको समस्यालाई न्यूनीकरण गर्नका लागि नदी कटानको समस्या रोक्न संरचना निर्माण गर्ने, जैविक विविधता संरक्षणको उपाय कार्यान्वयन गर्ने कुरामा ध्यान दिनुपर्ने बताए । त्यसैगरी वन्यजन्तु प्रभावित क्षेत्रमा संरचना निर्माण गर्दा ध्यान दिने, नदीजन्य सामग्रीको उत्खनन गर्दा नियमन गर्ने, वातावरणीय अनुगमन नियमित रूपमा सञ्चालन गर्ने कार्यमा ध्यान दिनुपर्ने बताए ।
कार्यक्रममा सहभागी अधिकाँशले सिँचाइ व्यवस्थापनको कामले राजापुर र गेरुवाको नागरिकको जीवनस्तरमा प्रत्यक्ष फाइदा पुग्ने भएको हुँदा यसलाई समयमा निर्माण गर्नुपर्नेमा जोड दिए भने आयोजनाको काममा स्थानीयस्तरमा देखा परेका समस्या समाधान गर्नका लागि लाग्ने जनाए ।