मानव अधिकार तथा सामाजिक न्यायका अभियन्ता प्रदीप परियारको संस्मरणात्मक पुस्तक ‘सियोधागो’ सार्वजनिक गरिएको छ। काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा बिहीबार आयोजित विशेष समारोहबिच पुस्तक लोकार्पण गरिएको हो।
कार्यक्रममा उपस्थित अतिथि एवं पाहुनाहरूले नै उक्त पुस्तक लोकार्पण गरेका हुन्। कार्यक्रममा किरण नेपालीले विशेष सांगीतिक प्रस्तुति दिएका थिए।
सिन्धुलीमा जन्मिएका तथा हाल ललितपुरलाई कर्मथलो बनाएका परियार लामो समयदेखि युवा अधिकार, मानव अधिकार तथा दलित समुदायको हकअधिकारका क्षेत्रमा सक्रिय छन्। ‘सियोधागो’ आफ्नो जीवनयात्रा, सामाजिक अनुभव र न्यायका लागि गरिएको संघर्षको दस्ताबेजका रूपमा तयार गरिएको उनले बताए।
पुस्तकमा जन्मथलो सिन्धुलीदेखि हालसम्मको व्यक्तिगत यात्रा, दलित समुदायले भोग्नुपरेका विभेद, हिंसा तथा हत्याका घटनासँग जोडिएका अनुभूति, न्याय प्राप्तिका संघर्ष र समाजमा विद्यमान असमानताका विविध पक्ष समेटिएका छन्। साथै दलित समुदायको अवस्था र परिवर्तनका सम्भावनालाई कथात्मक शैलीमा प्रस्तुत गरिएको लेखक परियारको भनाइ छ।
‘सियोधागो’ले व्यक्तिगत भोगाइमार्फत समाजका गहिरा संरचनात्मक विभेद र न्यायको खोजीलाई उजागर गरेको फिल्म निर्देशक शान्ता नेपालीले उल्लेख गरिन्। पुस्तकले सामाजिक रूपान्तरणसम्बन्धी बहसलाई थप सशक्त बनाउने उनको विश्वास छ।
‘समता फाउन्डेसन’को कार्यकारी अध्यक्षका रूपमा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका परियार हाल ‘दलित लाइभ्स म्याटर्स’ नेपालको निर्देशकका रूपमा अभियानमा सक्रिय छन्।
जातको प्रश्नलाई दलित लाइभ्स म्याटर आन्दोलनमार्फत विश्वस्तरमा नेतृत्व गरिरहेका परियार समावेशी नेतृत्व, सहभागितामूलक सुशासन र उत्तरदायी समाज निर्माणका कुशल रणनीतिकार हुन्। विश्व आर्थिक मञ्चको योङ ग्लोबल लिडर २०२० परियारले नेपालको युथ भिजन २०२५ निर्माणमा नेतृत्वदायी भूमिका खेलेका छन्।