गजलमा समर्पित जितेन्द्र

शनिबार, २८ कार्तिक, २०८३
प्रिन्ट संस्करण
  • गजल मुसायरा परिवारले अस्ट्रेलियाका विभिन्न सहरमा हरेक वर्ष जितेन्द्र मल्लको सक्रियतामा नेपालीभाषीलाई गजल सुनाइरहेको छ, गजलकारहरूलाई सम्मान पनि गरिरहेको छ ।

आधा नाम बालुवामा, अझै बाँकी छ
केही त सम्झनामा, अझै बाँकी छ ।

हाम्रो घर बग्यो भनी, ढाँट्यो कसैले,
हेर्नुस् न बा नक्सामा अझै बाँकी छ ।

भोटेकोशीमा आएको विनाशकारी बाढीले देश शोकमा डुबेको वेला मैले गजलका सेरहरू पढेको हुँ । हजारौँको संख्यामा मान्छेहरूको ज्यान गएको, हजारौँ बेपत्ता रहेको, सारा गाउँ सहर नै बगरमा परिणत भएको वेला मलाई यी गजलका सेरले भक्कानो छुटायो । मैले गजलका सेरमा रसुवा र नुवाकोटको पीडालाई देखेँ, नक्सामा घर भएर पनि ओत लाग्ने छानो नभएर होल्डिङ सेन्टरमा भोक, शोक र रोगसँग जुधिरहेका नागरिकहरूको आलाप विलाप भेटेँ । अकस्मात् अकल्पनीय कहरको जाँतोमा पिसिएका जनताको दर्दलाई उही भाव र अनूभुतिकासाथ सजीव शब्दमा उतार्ने गजलकार जितेन्द्र मल्लका सेरहरू पंक्तिकारले यहाँ उद्धरण गरेको हो ।

कुशेऔँसीको दिन नेपाली साहित्यका आदि गजलकार राष्ट्रिय विभूति मोतीराम भट्टको सम्झनामा मोतीजयन्ती मनाइन्छ । देशमा आएको विपत्तिको कारण यो वर्ष उल्लेख्य रूपमा देश वा देशबाहिर रहेका नेपालीभाषी साहित्य अनुरागीहरूले गजलसँग सम्बन्धित कार्यक्रम गरेर मोतीजयन्ती मनाउन पाएनन्, तर पनि अस्ट्रेलियाको क्यानबेरामा गत सेप्टेम्बर १९ तारिख शनिबारको दिन अस्ट्रेलियाको विभिन्न राज्यबाट प्रतिनिधित्व गर्ने २५ जना गजलकारहरूले मुसायारा परिवारको मञ्चमा गजलवाचन गरेका छन् । गजलगायन पनि रहेको उक्त क्यानबेरा मुसायाराको मुख्य आकर्षणको रूपमा थिए मुसायाराका संस्थापक जितेन्द्र मल्ल । किनकि उनकै एकल गजलसंग्रह ‘शाजिक’को लोकार्पण पनि उक्त कार्यक्रममै भएको थियो । प्रवासमा रहेर पनि नेपाली साहित्य विशेषतः नेपाली गजलको श्रीवृद्धिमा अहोरात्र खटेर अतुलनीय योगदान दिएका युवा गजलकार जितेन्द्रको कर्मको इतिवृत्तान्त यो आलेखमार्फत गरिँदै छ ।

हुन त नेपाली गजलमा रुचि हुनेहरूलाई जितेन्द्र मल्ल कुनै अपरिचित नाम होइन । युवा गजलकार, कवि तथा कथाकार कृष्ण कुसुमले कुनै दिन पंक्तिकारसँग गजलकार जितेन्द्र मल्लका बारेमा सुनाएका थिए । उनैले हाम्रो चिनाजानी गराइदिएका थिए । त्यसयता म जितेन्द्र मल्ललाई गजलमा सुनिरहेको छु, पढिरहेको छु र उनले नेपाली गजललाई दिएको गुनको पोका फुकाइरहेको छु ।

१२ वर्षमा खोलो पनि फर्कन्छ भन्ने उखान छ । १२ वर्षमा एउटा मान्छेले के–के गर्न सक्छ भनेर घोत्लियो भने उसले आफू र आफ्नो परिवार या नातागोताका लागि गरेका कर्म संघर्ष र परिणामको फेहरिस्त तयार गर्न सक्छ । तर, केही मान्छेहरू यस्ता हुन्छन् जसले समाजका लागि आफ्नो विचार, कला या सिर्जनामार्फत जुगौँजुग अजर रहने कृतित्व छोडेर जान्छन् । बितेका १२ वर्षमा अस्ट्रेलियामा रहेर नेपाली गजललाई पढ्न र सुन्न उत्सुकताको बिज छर्ने काममा मल्ल तल्लीन छन् ।

मुसायारा परिवारले अस्ट्रेलियाका विभिन्न राज्य र सहरमा हरेक वर्ष यिनै मल्लको अगुवाइ तथा सक्रियतामा नेपालीजाति र नेपालीभाषीहरूलाई गजल सुनाइरहेको छ । स्थापित गजलकारहरूलाई सम्मान गरेको छ र नवोदित गजलकारहरूलाई ऊर्जा र हौसला भरिरहेको छ । कोरोना महामारीको प्रकोपका दुई वर्ष भौतिक मञ्चमा कार्यक्रम गर्न नपाएको मुसायाराले त्यो वेला पनि विभिन्न देशमा छरिएर रहेका नेपालीभाषी गजल अनुरागी मनहरूलाई विभिन्न डिजिटल मञ्चबाट जोड्ने काम गरेको थियो । अस्ट्रेलियाको सिड्नीबाट सुरु भएको यो गजल अभियान मलेसिया र नेपालसम्म पनि पुगिसकेको छ । सन् २०१८ मा मलेसियाको क्वालालम्पुर र नेपालको विदुर नुवाकोटमा पनि सोही वर्ष मुसायाराले मुसायारा संस्करण गरेको छ ।

डोटीको तल्कोटदेखि कञ्चनपुरको महेन्द्रनगर, महेन्द्रनगरदेखि काठमाडौंको इन्जिनियरिङ कलेज, कलेजदेखि युएई र युएईदेखि अस्ट्रेलियाको सिड्नीसम्म नेपाली गजल साथमै बोकिरहेका छन्, जितेन्द्रले । यो प्रेरणाको जग सोध्दा जितेन्द्र सुदूरपश्चिमको डोटी पुग्छन् र फर्कन्छन् आफ्नै जिन्दगीको सुदुरपूर्वमा । उनका बुबाले पद्य श्लोकमा डायरी लेख्थे । जितेन्द्रमा कहीँकतै बुबाको काव्यिक चेत पसिसकेको थियो । कक्षा ६ मै पढ्दा कविता लेखेर दोस्रो भई शिक्षकबाट पुरस्कृत भएको सम्झना पनि छ उनीसँग । उनी भन्छन्, ‘मैले पहिलोपटक गजल लेखेको ०५७ सालमा हो जतिवेला गजलसँग सम्बन्धित सामग्री विरलै पाइन्थे त्यो पनि काठमाडौंबाट निकै टाढा महेन्द्रनगरमा ।’ 

काठमाडौं इन्जिनियरिङ कलेजमा पढ्दा ‘इन्जिनियरिङ साहित्य समाज’ (इन्सास)को संयुक्त कवितासंग्रह ‘अञ्जुलीमा अभियन्ता’को १० अभियन्तामध्ये एक भए जितेन्द्र । मासिक भित्ते पत्रिका ‘प्रतिध्वनि’को सम्पादन गरे । पढाइ सकेर रोजगारीका लागि युएई गए । सामाजिक सञ्जालमार्फत नेदरल्यान्डमा रहेका रवीन्द्र रिजाल, जापानमा रहेका दिनेशराज ज्ञवाली र नेपालमा रहेका सविन एकतारेसहित आफू सम्मिलित चार गजलकारको संयुक्त गजलसंग्रह सन् २०१० मा प्रकाशन गरे ।

जितेन्द्र सन् २०१२ मा अध्ययनकै सिलसिलामा अस्ट्रेलिया पुगे । सन् २०१४ मा ‘नेपाली कलासंस्कृति तथा साहित्य प्रतिष्ठान’को कार्यकारी सदस्य बने । तर, उनलाई वितृष्णा लाग्न थाल्यो । किनकि प्रतिष्ठानमा साहित्यिक गतिविधि कम र अन्य गतिविधिहरू ज्यादा हुन्थे । मल्लको गजलप्रतिको हुटहुटीले सन् २०१४ मा एउटा आकार ग्रहण गर्यो र जन्मियो ‘गजल मुसायारा’ जसलाई साथ दिए सुरेन्द्र दवाडी, विज्ञान कँडेल र रवीन्द्र शर्माले । 

‘गजल मुसायारा’ले नेपालीभाषी भुटानी समुदायलाई पनि जोडेको छ । परदेशमा आफ्नो भाषा, कला, साहित्यको सगोत्री खोजिरहेको भुटानी समुदायलाई अपनत्व दिलाएको छ । भुटानी नेपालीभाषी बहुल क्षेत्र अल्बेरीमा साहित्यकार दुर्गाप्रसाद रिमालको अगुवाइमा सन् २०१९ मा ‘गजल मुसायारा’ सम्पन्न गरेको छ । सन् २०१४ मा सिड्नीबाट सुरु भएको मुसायारा अभियानले विभिन्न उल्झन्, बाधा र समस्याहरूलाई छिचोल्दै आफ्नो गौरवमय सफल १० वर्ष २०२४ मा पुरा गर्यो । त्यो अवसरमा विभिन्न देशमा छरिएर रहेका ५५ जना गजलकारहरूको गजल समाविष्ट गरी ‘गजल मुसायारा विशेषांक’ नामक स्मारिका पनि प्रकाशन गरेको छ ।

गत सेप्टेम्बर १९ तारिखको दिन क्यानबेरामा आयोजना भएको गजल मुसायारामा यिनै गजल साधक जितेन्द्र मल्लका १०८ गजल संग्रहित संग्रह ‘साजिक’को विमोचन भएको छ र आगामी नोभेम्बर १४ तारिखको दिन राजधानी काठमाडौंमा पनि विमोचन हुनेछ ।

सुझावित समाचार