कुनैदिन बोध हुनेछः बाँच्नेछैन अब धेरै ।
खै के–के सम्झिउँला,
जीवनको त्यो अन्तिम रेखानिर पुग्दा ?
सम्झिन सकौँला:
सिमलको भुवाजस्तो जोवन
वा रोगले लल्कारिरहेको समय ?
प्रेमले कुत्कुत्याएका दिन
वा विछोडले गालेको क्षण ?
ईश्वरसँग गरिरहेको प्रार्थना
वा आफैँ फसेको हिंसाको दुश्चक्र
सम्झिन सकौँला
अभावले थिचेका अत्यासलाग्दा दिनहरू
वा कुनै मित्रमिलापपछि
‘मैले नै तिर्छु’ भन्दै
उत्साहले अघि बढेको
कुनै फेन्सी रेस्टुरेन्टको काउन्टर ?
चौतारीमा उडाएको बाँसको सुप्लाको हवाईजहाज
वा सुपर कम्प्युटरमा मिलाइरहेको क्वान्टम क्यामेस्ट्रीको सूत्र
खै के पो लेखेछु,
‘भविष्यमा तिमी के बन्छौ ?’ भन्ने, दसैँ विदाको प्रश्नमा ।
उत्तर हेर्दै शिक्षकले गाला सुम्सुम्याएको क्षण सम्झौँला !
वा सम्झौँला
प्रयोगशालामा काम बिग्रेपछि प्रोफेसरको अगाडि लज्जित उभिएको पल
खै के पो सम्झौँला !
कहिले बोल्नै नहुने झुट बोलेर पछुताएको समय
वा कहिले अप्ठ्यारो सत्य बोलेर जोगाएको नैतिकता
साथीसँगै उक्लेका पहाडका थुम्काहरू
वा एक्लै सुमसुम्याएका समुद्रका छालहरू ?
खै के–के आउलान् सम्झनामा ?
पाथीको रुपैयाँको दरले बोकेको धानका थैला
बर्खामा स्कुल जाँदा खोलाले बगाएको नयाँ चप्पल
जन्त जाँदा दक्षिणामा पाएको खाम र खुल्दुली
फोहोर खोलामा पौडिँदा घुटुक्क निलेको पानी
काम सकेर घर पुग्दा सुटुक्क निलेको सोमरस ।
वनमा झरीले निर्थुक्क रुझेपछि
मसँगै टाँसिन आइपुगेका वस्तुभाउ
कुनै सानो निहुँले हप्तौँसम्म नबोलेको साथी
खै कुन इखले महिना दिनसम्म नटेकोको छिमेकी आन्टीको आँगन
घरमा म सुतेँ है भनीकन
नुन्थालामा साथीसँगै छिचोलेको अँध्यारो रात
तिजु र पानी अमला खोज्दै चहारेको रानीवन
रातभर वनभोज खाएको छुचे डाँडो र बाघको डर
खै के पो आउलान् सम्झनामा
नाइल नदीको किनार वा अमेजन जंगलको छेउ ?
सिल्क रोड वा साहाराको यात्रा ?
ग्रान्ड क्यानोन वा ग्रेटवाल अफ चाइना ?
अन्टार्टिकाको पेङुइन वा इटालीको भेसुभियस ज्वालामुखी ?
हतारमा गरेको मेट्रो यात्रा
वा फुर्सदमा गरेको स्काई डाइभिङ ?
ओ हो, जीवनको त्यो अन्तिम रेखानिर पुग्दा
नजिकै भएका बच्चाहरूमा नै अड्किएँ भने
वा
आफैँ बच्चा भएको युगमा फर्किएँ भने त जाती हुन्थ्यो
तर,
यसै–यसै बाँचिरहेर
जीवनको अन्तिम रेखाअघि
यत्तिकै पुगेँ भने र सम्झिएँ भने
आफूले माफी नमागेका ब्यक्तिहरु
आँफूले माफी नदिएका व्यक्तिहरू
खुब अप्ठ्यारो हुनेछ जीवनको त्यो अन्तिम रेखाअघि ।
होस् !
बनाउँदिनँ माफीलाई मेरो जीवनजति लामो
आज नै माग्छु , आज नै दिन्छु
र मुक्त गर्छु आफूलाई
आफ्नै अहंको बन्धनबाट !