पाथीभरा याङ्वरक गाउँपालिका ताप्लेजुङमा तेस्राे कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
पाथीभरा ब्याडमिन्टन संघको प्राविधिक सहयोग तथा गाउँपालिकाको आयोजनमा सुरु भएको प्रतियोगिताको उदघाटन गाउँपालिकाका अध्यक्ष केशरकुमार सुब्बा र उपाध्यक्ष रनमाया गुरुङले संयुक्त रूपमा गरेका थिए।
आगामी जेठ २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कोशी प्रदेशस्तरीय मेन्स डबल सिनियर, भेट्रान्स मेन्स डबल तथा जिल्लास्तरीय मेन्स डबल जुनियर, कर्मचारी डबल्स र जनप्रतिनिधि डबल्स गरी विभिन्न ६ विधाका प्रतिस्पर्धी समावेश गरिएको छ । गाउँपालिकास्तरीय प्रतियोगितासमेत सञ्चालन भइरहेको आयोजक पालिका अध्यक्ष सुब्बाले जानकारी दिए ।
गाउँपालिकाका शिक्षा तथा खेलकुद शाखाका प्रमुख ठाकुर प्रधानले कोशी प्रदेशस्तरीय सिनियरतर्फ प्रथम हुनेलाई ४० हजार, उपविजेताले २५ हजार तथा सेमिफाइनल पुग्ने टोलीलाई सात हजार पाँच सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिने जानकारी दिए ।
विजेतालाई २० हजार, उपविजेतालाई १० हजार र सेमिफाइनलमा पुग्नेलाई पाँच हजार रुपैयाँ पुरस्कार दिइने शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख प्रधानले जानकारी दिए । गाउँपालिकास्तरीय विजेता र उपविजेतालाई १० हजार र पाँच हजार पुरस्कार दिइने बताए ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष सुब्बाले खेलाडी उत्पादन, प्रतिभा पहिचान र खेलकुद विकासका लागि पालिकाले निरन्तर यस्ता प्रतियोगिता आयोजना गर्दै आएको बताए । खेलकुद स्वास्थ्यका लागि मात्र नभई राष्ट्र निर्माण र योगदानसँग समेत जोडिएको क्षेत्र भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको उनले बताए ।