जिल्ला प्रहरी कार्यालय सिन्धुलीले एआईको प्रयोग गरी ट्राफिक प्रहरीको तस्बिर परिमार्जन गरेर सामाजिक सञ्जालमा दुष्प्रचार गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको जनाएको छ।
प्रहरीका अनुसार मिति २०८३ जेठ १९ गते कमलामाई नगरपालिका– ७ स्थित बिपी राजमार्गको गड्यौली पुलनजिक चेकिङमा खटिएका ट्राफिक प्रहरीको भिडियो तथा फोटो खिची एआईको प्रयोगबाट तस्बिर परिमार्जन गरी फेसबुकमा भ्रामक सामग्री पोस्ट गरिएको थियो।
उक्त घटनामा संलग्न रहेको आरोपमा कमलामाई नगरपालिका– १ निवासी २१ वर्षीय हर्कबहादुर स्याङतानलाई प्रहरीले पक्राउ गरेको जनाएको छ। उनलाई अभद्र व्यवहारसम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सिन्धुलीबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनामा प्रयोग गरिएको मोबाइल फोनसमेत बरामद गरेको जनाएको छ। प्रहरीले आमनागरिकलाई सामाजिक सञ्जालमा आउने सामग्रीप्रति सजग रहन तथा सत्यतथ्य बुझेर मात्र प्रतिक्रिया दिन अनुरोध गरेको छ।