आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बालक्ष्य डेभलपमेन्ट एन्ड केयर प्रालिलाई आर्थिक सहयोग गरेको छ । कम्पनीले बालक्ष्य डेभलपमेन्टलाई तीन लाख रुपैयाँ सहयोग गरेको हो ।
उक्त सहयोग न्युरो डेभलपमेन्टल डिसअर्डरबाट प्रभावित बालबालिकाको उपचार तथा पुनर्स्थापना सेवाका लागि उपयोग गरिने बताइएको छ । प्रभावित बालबालिकाले आवश्यक थेरापी तथा विशेष हेरचाह सेवा प्राप्त गर्नेछन् ।
यस्तो समस्याबाट प्रभावित बालबालिकालाई समयमै आवश्यक उपचार तथा थेरापी उपलब्ध गराउन सके उनीहरूको शारीरिक, मानसिक तथा सामाजिक विकासमा सकारात्मक प्रभाव पर्ने विश्वास गरिएको छ ।
यस सहयोगले आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका परिवारलाई राहत पुग्ने अपेक्षा कम्पनीको छ । संस्थाको विशेषज्ञता र आइएमई लाइफ इन्स्योरेन्सको सामाजिक प्रतिबद्धताले बालबालिकाको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । आइएमई लाइफले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता तथा सामाजिक उत्थानका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको छ ।