अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा पक्राउ परेका कर्मचारी र लेखापढी व्यवसायीले सफाइ पाएका छन्। यातायात व्यवस्था कार्यालय, हेटौँडाका अधिकृत अमृत भेटुवाल र लेखापढी व्यवसायी खगेन्द्र पौडेलले घुस लिएको आरोपमा गत चैत १२ गते आयोगले मुद्दा दायर गरेको हो। बिहीबार विशेष अदालतले उनीहरूलाई सफाइ दिएको छ । विशेषका न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र विदुर कोइरालाको इजलासले उनीहरूलाई सफाइ दिएको हो ।
सवारीसाधनको सरुवा सहमति मिलाइदिने भन्दै सेवाग्राहीसँग ११ हजार पाँच सय रुपैयाँ घुस लिएको आरोपमा हेटौँडास्थित अख्तियारको टोलीले फागुन १३ गते सेवाग्राहीबाट घुस लिइसकेको अवस्थामा लेखापढी व्यवसायी पौडेललाई नियन्त्रणमा लिएको थियो । सोही प्रकरणमा अधिकृत भेटुवालसमेत पछि पक्राउ परेका थिए।
अनुसन्धानका क्रममा भेटुवाल र पौडेलबिच आपसी मिलेमतो तथा पूर्वयोजनामै घुस लेनदेन भएको पुष्टि भएको भन्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम ११ हजार पाँच सय रुपैयाँ बिगो कायम गरी सोहीबराबरको जरिवाना र कैद सजायको मागदाबी लिएर मुद्दा दायर गरेको थियो।