भुर्तेलको कीर्तिमानी खेलमा नेपालले मलेसियालाई हरायो

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

ओपनर कुशल भुर्तेलले कीर्तिमानी शतक बनाएको खेलमा मलेसियालाई १६७ रनले हराउँदै नेपाल एसियाली खेलकुद छनोटको समूह ‘ए’को विजेता बनेको छ । नेपालको जितमा कुशलले ५४ बलमा १२६ रन बनाएका हुन् । उनी लगातार शतक बनाउने पहिलो खेलाडीसमेत यही खेलबाट बने । 

बिहीबार सिंगापुरमा टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै २७६ रनको लक्ष्य दिएको थियो । प्रत्युत्तरमा मलेसियाले २० ओभरमा नाै विकेट गुमाउँदै १०८ रन बनायो । 

अब, नेपालले समूह ‘बी’को उपविजेतासँग फाइनल प्रवेशका लागि आइतबार खेल्नेछ । समूह ‘बी’मा ओमान र हङकङ सेमिफाइनल पुगे पनि समूह विजेताकाे टुंगो लाग्न बाँकी छ । 

लिग चरणमा उत्कृष्ट प्रदर्शन गरेका नेपाल र मलेसियासँगै ओमान र हङकङले पनि एसियाली खेलकुदमा स्थान बनाइसकेका छन् । मलेसियाको इनिङ्समा कप्तान साइद अजिजले सर्वाधिक ५४ रन बनाए । ४५ बलमा ६ चौका र दुई छक्का हिर्काएका अजिजलाई दीपेन्द्रसिंह ऐरीले बोल्ड गरेका थिए । त्यस्तै, शार्विन मुयान्डीले १८ तथा ओपनर मोहम्मद हजिव ऐमनले १३ रन जोडे । 

नेपालका शेर मल्लले सर्वाधिक तीन विकेट लिए । उनले चार ओभरमा १४ रन खर्चिएका थिए । त्यसबाहेक करण केसी, सोमपाल कामी, सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक विकेट लिए । 

यसअघि नेपालको इनिङ्समा ओपनर कुशलले ५४ बलमा १२६ रन बनाए । साइद अजिजको बलमा पवनदीप सिंहबाट क्याच हुनुअघि उनले १४ चौका र आठ छक्का हिर्काएका थिए । यसअघि उनले ४४ बलमा शतक बनाएका थिए । कुशल लगातार शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । यसअघि चीनसँग पनि उनले १२९ रन बनाएका थिए ।

पछिल्लो एक महिनामा उनले तेस्रो शतक बनाएका छन् । यसअघि एकदिवसीय खेलमा कीर्तिपुरमै अमेरिकाविरुद्ध अविजित १२० रन बनाएका थिए । उनी नेपालका लागि लगातार तीन शतक बनाउने पहिलो खेलाडी भएका छन् । यस्तै, उनले टी–२० आईमा दुई सय चौका र एक सय छक्का पनि पूरा गरेका छन् । 

त्यस्तै, ओनपर आसिफ शेखले २४ बलमा ६८ रन बनाए । वीरन्दीप सिंहको बलमा साइद अजिजबाट क्याच हुनुअघि उनले पाँच चौका र सात छक्का हानेका थिए । कप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा ३१ रन जोडे । सन्दीप जोराले १४ बलमा १५ तथा लोकेश बमले ६ बलमा १० रनको योगदान गरेका हुन् । पूर्वकप्तान रोहितकुमार पौडेल भने डक भए ।  कुशल मल्ल नाै रनमा अविजित रहे । 

पहिलो विकेटका लागि आसिफ र कुशलबिच ५२ बलमा १३४ रनको साझेदारी भएको थियो । तेस्रो विकेटका लागि भुर्तेल र दीपेन्द्रबिच पनि २२ बलमा ५१ रनको दोस्रो ठुलो साझेदारी भएको हो । मलेसियाका वीरन्दीपले सर्वाधिक तीन तथा साइद अजिज र विजय उनीले समान दुई विकेट लिएका थिए ।

सुझावित समाचार