मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक भित्रिए

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

सन् २०२६ को मे महिनामा नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको संख्या एक लाख नाघेको छ । नेपाल पर्यटन बोर्डका अनुसार मे महिनामा कुल एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भ्रमणका लागि आएका छन् । यो गत वर्षको सोही अवधिको तुलनामा १९ प्रतिशतले बढी हो । गत वर्ष मेमा ८६ हजार २१६ विदेशी पर्यटक नेपाल आएका थिए । कोरोना महामारीअघि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ पर्यटकले नेपाल भ्रमण गरेका थिए । 

मे महिनामा नेपाल आउने पर्यटकमध्ये भारतबाट सबैभन्दा धेरै ४० हजार ७८२ जना आएका छन्न् । चीनबाट ११ हजार ५१४, संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, बंगलादेशबाट पाँच हजार २९८ तथा संयुक्त अधिराज्यबाट तीन हजार ३७५ पर्यटक नेपाल आएका छन् । क्षेत्रगत विश्लेषणअनुसार कुल पर्यटकमध्ये ४७.२ प्रतिशत सार्क राष्ट्रका नागरिक रहेका छन् । 

त्यस्तै, अन्य एसियाली मुलुकबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत, अस्ट्रेलिया–न्युजिल्यान्ड क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत तथा अन्य मुलुकबाट ४।५ प्रतिशत पर्यटक नेपाल आएका छन् । पश्चिम एसियामा जारी द्वन्द्वका कारण पर्यटन क्षेत्रमा केही प्रभाव परेको देखिए पनि अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको बढ्दो आकर्षणले आगामी महिनाहरूमा पर्यटक आगमन अझ बढ्ने अपेक्षा गरिएको पर्यटन बोर्डले जनाएको छ ।
 

See More On

सुझावित समाचार