फ्लाई दुबई पोखरामा उडान भर्न इच्छुक

कम्पनीले गर्‍यो विमानस्थलको प्राविधिक निरीक्षण

बिहिबार, २१ जेठ, २०८३
डिजिटल संस्करण

संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक अन्तर्राष्ट्रिय उडान सञ्चालनका लागि इच्छुक भएको जनाएको छ । उडान सुरु गर्नका लागि फ्लाई दुबईका जोखिम व्यवस्थापन हेर्ने उपाध्यक्ष एड्रियन लुकास नेतृत्वको टोली पोखरा आइपुगेको छ । पोखरा आएको प्राविधिक टोलीले विमानस्थलको विस्तृत स्थलगत निरीक्षणसँगै विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलासहितका अन्य अधिकारीहरूसँग छलफल गरेको छ ।

लुकास नेतृत्वको टोलीले विमानस्थलको धावनमार्ग, विमानस्थलको सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार, उडान सञ्चालनका विविधलगायतका पक्षहरूका बारेमा करिब ६ घण्टा स्थलगत जानकारी लिएको थियो । सो टोलीले पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यसँग समेत भेट गरेको छ । स्थलगत निरीक्षण पछि लुकासले विमानस्थलमा नियमित उडानका लागि प्राविधिक र सुरक्षाका हिसाबले सक्षम रहेको प्रतिक्रिया दिए । पूर्वाधार र विदेश उडानका लागि गरिएको तयारी राम्रो रहेको भन्दै फ्लाई दुबई पोखरा–दुबई दैनिक सिधा उडान गर्न इच्छुक रहेको उनले बताए । 

फ्लाई दुबई विश्वकै प्रतिष्ठित वायुसेवा कम्पनी इमिरेट्सको भगिनी एयरलाइन्स हो । फ्लाई दुबईले पोखराबाट उडान सुरु गर्नासाथ पोखराको कनेक्टिभिटी सिधै विश्व सञ्जालसँग जोडिने र यसले पोखरा विश्वका तीन सयभन्दा बढी प्रमुख सहरहरूसँग सिधा जोडिने उनले बताए । उडान सुरु भएमा युरोप, अमेरिका र अफ्रिकाका पर्यटकहरू दुबई हुँदै सिधै सहज रूपमा पोखरा आउन सक्ने उनले बताए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री, फ्लाई दुबईका उच्च अधिकारीहरू, कम्पनीका नेपाली प्रतिनिधिहरूसँगै पोखराका मेयरसहितको छलफल एवं बैठकहरू भइसकेकाले उडानका लागि आफूहरू उत्साहित रहेको उनले जानकारी दिए ।

सुझावित समाचार