निजगढ नगरपालिकामा पर्यटक आकर्षित गर्ने उद्देश्यसहित कछडिया, माझी र मगर समुदायका महिलाले होमस्टे (घरवास) सञ्चालन गर्ने तयारी थालेका छन्। होमस्टे सञ्चालनसम्बन्धी सिप विकासका लागि आयोजित सातदिने तालिम सम्पन्न भएपछि सहभागी महिलाले गाउँमै होमस्टे सञ्चालन गर्ने उत्साह व्यक्त गरेका छन्।
निजगढ– ११, रतनपुरकी सहभागी सिर्जना चौधरीले तालिमबाट पर्यटकलाई आवश्यक आवास, स्थानीय परिकार, सरसफाइ तथा पर्यटकमैत्री व्यवहारबारे महत्त्वपूर्ण जानकारी प्राप्त भएको बताउँदै अब होमस्टे सञ्चालन गर्ने प्रेरणा मिलेको बताइन्। उनले होमस्टे सफल बनाउन नगरपालिका र स्थानीय समुदायको निरन्तर सहयोग आवश्यक रहने उल्लेख गरिन्।
त्यस्तै, निजगढ– ४ की माया गुरोले यसअघि होमस्टेबारे खास जानकारी नभएको भए पनि तालिमपछि आफ्नै गाउँमा होमस्टे सञ्चालन गर्ने आत्मविश्वास बढेको बताइन्। आवश्यक सहयोग प्राप्त भए गाउँमै पर्यटक स्वागत गर्न आफूहरू तयार रहेको उनको भनाइ थियो।
तालिमपछि सहभागी महिलाले निजगढ– ११ मा कछडिया सामुदायिक होमस्टे, निजगढ– ४ मा कछडिया तथा नमुना माझीगाउँ होमस्टे र निजगढ–७ मा समेत होमस्टे सञ्चालनका लागि समिति गठन गरेका छन्। समितिमार्फत होमस्टे सञ्चालनका लागि आवश्यक पूर्वाधार तथा व्यवस्थापनको काम अगाडि बढाइने जनाइएको छ।
तालिमका प्रशिक्षक मोहन गजुरेल र नकुल धितालले सहभागी महिलामा होमस्टे सञ्चालनप्रति उच्च उत्साह र लगनशीलता देखिएको बताए। प्रशिक्षक गजुरेलका अनुसार महिलाको सक्रियता र प्रतिबद्धताले होमस्टे कार्यक्रमको दिगो विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास गरिएको छ।
सातदिने तालिममा सहभागीहरूलाई विभिन्न स्थानीय तथा आधुनिक परिकार तयार गर्ने विधि, घर तथा वातावरणको सरसफाइ, अतिथि सत्कार, पर्यटकमैत्री व्यवहार र होमस्टे व्यवस्थापनसम्बन्धी व्यावहारिक ज्ञान तथा सिप प्रदान गरिएको थियो।
निजगढ नगरपालिका र नेपाल पर्यटन बोर्डको सहयोगमा सञ्चालन भएको उक्त तालिममा कछडिया, माझी तथा मगर समुदायका ७० जना महिलाको सहभागिता रहेको थियो।
निजगढ– ४ स्थित बाघभैरव सामुदायिक वन समूहको सामुदायिक भवनमा आयोजित समापन कार्यक्रममा सहभागी महिलाले परम्परागत वेशभूषामा गीत तथा नृत्य प्रस्तुत गरेका थिए। साथै, उनीहरूले तालिमका क्रममा सिकेर तयार पारेका विभिन्न स्थानीय परिकार अतिथिहरूलाई चखाएका थिए।
कार्यक्रमका प्रमुख अतिथि तथा निजगढ नगरपालिकाका नगरप्रमुख सुरथ पुरीले निजगढलाई मधेश प्रदेशकै महत्त्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्यअनुसार होमस्टेसम्बन्धी तालिम सञ्चालन गरिएको बताए। उनले तालिमबाट सिकेका सिपलाई व्यवहारमा लागू गर्न आग्रह गर्दै आगामी दिनमा पनि नगरपालिकाले आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नगर उपप्रमुख सोममाया थिङ, प्रमुख प्रशासकीय अधिकृत सूर्यप्रसाद गौतम, वडाध्यक्षहरू विष्णु सापकोटा र सहइया गुरो, बाघभैरव सामुदायिक वन समूहका अध्यक्ष अमरलाल स्याङ्तानलगायत स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उपस्थिति रहेको थियो।
स्थानीय संस्कृति, परम्परा र आतिथ्यतालाई पर्यटनसँग जोड्ने प्रयासस्वरूप सुरु गरिएको होमस्टे कार्यक्रमले निजगढको पर्यटन प्रवर्द्धन, स्थानीय रोजगारी सिर्जना तथा समुदायको आर्थिक सशक्तीकरणमा महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।