‘कुनै पनि सपना आर्थिक अवरोधहरूले सीमित हुनुहुँदैन’ भन्ने नारासहित सिराहा लहानका समाजसेवी तथा व्यवसायी युवाहरूले ‘लहान स्कलर्स– निःशुल्क शिक्षा अभियान’को घोषणा गरेका छन् ।
प्रख्यात समाजसेवी मुरारीलाल मुरारका, चेतन मुरारका, सुभाष जैसवाल, अजित अग्रवालको सहयोगमा निःशुल्क शिक्षा अभियानको घोषणा गरिएको हो। लहानस्थित मारवाडी सेवा सदनमा मंगलबार अपराह्न आयोजित पत्रकार सम्मेलनमार्फत अभियानको घोषणा गर्दै अभियानका परिकल्पनाकार चेतन मुरारकाले भने, ‘गरिब, विपन्न परिवारका विद्यार्थीले देखेको सपना पूरा गर्न खोजेका हौँ।’ ‘लहान क्षेत्रका गरिब विपन्न परिवारका विद्यार्थीहरू राम्रो विषय पढ्ने सपना देख्छन्, तर फी तिर्ने रकम नहुँदा पढ्ने रहर त्याग्न बाध्य हुन्छन् ।’
त्यही समस्या अन्त्यका लागि निःशुल्क शिक्षा अभियानको घोषणा गरिएको उनले बताए । ‘व्यक्तिगत रूपमा मैले लहान सहरबाट धेरै कुरा पाएको छु,’ उनले भने, ‘अब फर्काउने पालो मेरो पनि हो, रकमको अभावमा लहान क्षेत्रका कुनै पनि विद्यार्थीको पढ्ने भावना मर्न दिनेछैनौँ।’
अभियानका अर्का परिकल्पनाकार सुभाष जैसवालका अनुसार यो वर्ष १०+२ तर्फ विज्ञान, शिक्षा, व्यवस्थापनलगायतका विषय पढ्न चाहेका, तर आर्थिक अभावमा नाम दर्तासमेत गर्न नसकेका विद्यार्थीहरूबाट तोकिएको ढाँचामा आवेदन लिई छात्रवृत्तिमा सामेल हुन लिखित तथा मौखिक परीक्षा, सम्बन्धित वडाको गरिब, विपन्नताको सिफारिस, स्थलगत छानबिनपछि मात्र नाम छनोट गरी छात्रवृत्ति उपलब्ध गराइनेछ।
‘यो वर्ष सुरुवात भएकाले २५ जनालाई मात्र क्याम्पसलाई दिइनुपर्ने शुल्क छात्रवृत्तिस्वरूप उपलब्ध गराइनेछ,’ उनले भने, ‘लहानस्थित जे.एस. मुरारका बहुमुखी क्याम्पसमा अध्ययन गर्नेहरूलाई छात्रवृत्ति रकम दिन्छौँ।’ पत्रकार सम्मेलनमा पंकज गोस्वामीले योपटक थालिएको छात्रवृत्ति अभियान हरेक वर्ष निरन्तर रहने र विद्यार्थीका लागि अन्य क्याम्पसहरूसँग पनि कुराकानी भइरहेको बताए। उनका अनुसार छात्रवृत्तिका लागि बुधबारदेखि पाँच दिनभित्र अनलाइन वा सम्बन्धित अभियानकर्ताहरूको समन्वयमा निःशुल्क आवेदन लिइनेछ।