प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको प्रमाण पेस गर्न ज्ञानेन्द्र शाहीको माग

सोमबार, १८ जेठ, २०८३
डिजिटल संस्करण

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले नेपालले भारतको सीमा मिचेको भन्ने विषयमा दिएको अभिव्यक्तिको प्रमाण सार्वजनिक गर्न माग गरेका छन्।

सोमबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै शाहीले लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता महत्त्वपूर्ण भए पनि प्रधानमन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको अभिव्यक्ति तथ्यमा आधारित हुनुपर्ने बताए।

उनले राष्ट्र सञ्चालन अनुमान र भावनाका आधारमा नभई प्रमाण र यथार्थका आधारमा हुनुपर्ने उल्लेख गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाए।

‘अनुमानको आधारमा राष्ट्र चल्दैन, भावनाको आधारमा पनि चल्दैन। प्रधानमन्त्रीले आफ्नो भनाइको प्रमाण पेस गर्नुपर्छ,’ शाहीले भने, ‘तथ्यविनाका अभिव्यक्ति सार्वजनिक रूपमा राखिएको भए ती रेकर्ड हटाइनुपर्छ। यो चिया पसलमा हुने गफ होइन। नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको प्रमाण पेस गर्न आग्रह गर्दछु।’

शाहीले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रिय हित र कूटनीतिक सम्बन्धसँग जोडिएको संवेदनशील विषय भएकाले तथ्यसहित स्पष्ट पार्न सरकारसँग माग गरेका छन्।

सुझावित समाचार