नेपाल दक्षिण एसियाली महिला फुटबल (साफ) च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । आइतबार भारतको गोवास्थित नेहरू रंगशालामा श्रीलंकालाई २–० ले हराउँदै नेपालले अन्तिम चारको स्थान सुरक्षित गरेको हो । नेपाल समूह ‘ए’को विजेता बनेको छ । नेपालले लगातार दुई खेलबाट ६ अंक बटुल्यो । पहिलो खेलमा नेपालले भुटानलाई १–० ले हराएको थियो । नेपाललाई जित दिलाउन रश्मिकुमारी घिसिङ र कप्तान रेनुका नगरकोटेले समान एक गोल गरेका थिए ।
मिडफिल्डर रेनुकाले नेपाली राष्ट्रिय टोलीबाट पहिलो अन्तर्राष्ट्रिय गोल गरेकी हुन् । उनले ६२औँ अन्तर्राष्ट्रिय खेल खेलेकी छिन् । श्रीलंकाविरुद्ध मिडफिल्डर बिर्सना चौधरीले अन्तर्राष्ट्रिय डेब्यु गरेकी छिन् । भुटानविरुद्ध डिफेन्डर गीता रानाले निर्णायक एक मात्र गोल गरेकी थिइन् । दोस्रो खेलमा नेपाल जित वा बराबरले समूह विजेता बन्ने थियो ।
समूह ‘ए’मा भुटान एक खेल जितेर तीन अंकसहित उपविजेता बन्यो । नेपालको जितपछि भुटान अन्तिम चारमा पुगेको हो । श्रीलंका भने दुवै खेलमा पराजित भयो । अब, नेपालले सेमिफाइनलमा भारत र बंगलादेशबिचको विजेताविरुद्ध फाइनल प्रवेशका लागि खेल्नेछ ।
दुवै हाफमा समान एक गोल
रश्मिले खेलको पहिलो हाफमा नेपाललाई १–० को अग्रता दिलाइन् । उनले पहिलो हाफको इन्जुरी समयमा रेखा पौडेलको पासमा गोल गरिन् । डिबक्सभित्रबाट रेखाले चलाखीपूर्ण रूपमा दिएको पासलाई पेनाल्टी क्षेत्रबाट रश्मिले सानदार गोल गरेकी हुन् । रश्मिको प्रहार श्रीलंकन डिफेन्डर र गोलरक्षकले रोक्न सकेनन् । नेपालले दोस्रो गोल खेलको ६२औँ मिनेटमा सम्भव पा¥यो । रेनुकाले नेपाललाई २–० ले अगाडि बढाइन् । रश्मिले मिलाएको पासलाई रेनुकाले बक्सबाहिरबाट सुन्दर भली गोल गरेकी थिइन् । बाँकी समय नेपालले थुप्रै गोलको प्रयास गरे पनि सफल भएन ।
चार खेलाडी परिवर्तन
पहिलो खेलमा सोचेजस्तो गोल स्कोर नभएपछि दोस्रो खेलमा प्रशिक्षक नवीन न्यौपानेले चार खेलाडी परिवर्तन गरे । श्रीलंकाविरुद्ध बल पोसेसन बनाए पनि नेपालले गोल गर्न संघर्ष गर्नुपरेको थियो । रश्मिसँगै रेखा पौडेल, मीना देउवाले पाएको थुप्रै अवसर गुमाएका थिए । यसपटक मीनासहित गोलरक्षक अञ्जना रानामगर, प्रतीक्षा चौधरी, सरु लिम्बूले अवसर पाएका हुन् । प्रशिक्षक न्यौपानेले कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बा, अनिता लम्जेल, पूजा राना र अनिता बस्नेतलाई विश्राम दिएका थिए । अञ्जिलालाई विश्राम दिएपछि नेपालको आर्म ब्यान्ड रेनुकाले पाएकी थिइन् ।