जापानमा हुने २०औँ एसियन खेलकुद (एसियाड)अन्तर्गत पुरुष क्रिकेट छनोटमा नेपालले चीनविरुद्ध थुप्रै कीर्तिमान बनाएको छ । सिंगापुरमा आइतबार भएको छनोट खेलमा नेपाल पहिलो राष्ट्रका रूपमा अन्तर्राष्ट्रिय टी–२० आईमा दुईपटक तीन सयभन्दा बढीको योगफल बनाउने टोली बनेको छ ।
नेपालका ओपनर कुशल भुर्तेलले नेपाली खेलाडीमध्ये दुईवटा टी–२० आई शतक, एकै ओभरमा ६ छक्का र एकै इनिङ्समा सर्वाधिक १६ छक्काको कीर्तिमान बनाएका छन् । भुर्तेलको आक्रामक इनिङ्सको सहयोगमा नेपालले चीनलाई २२१ रनको फराकिलो अन्तरले हराएको छ । पहिलो ब्याटिङ गरेको नेपालले २० ओभरमा दुई विकेट गुमाएर ३१३ रनको विशाल योगफल बनायो । प्रत्युत्तरमा चीन १९.२ ओभरमा ९२ रनमा समेटियो ।
टी–२० आईमा रनको हिसाबले यो सातौँ ठुलो जित हो । नेपालको भने दोस्रो फराकिलो रह्यो । २०२३ मा नेपालले मंगोलियालाई २७३ रनले हराएको थियो । यो टी–२०आईकै दोस्रो फराकिलो जित हो । जिम्बावेले गाम्बियालाई २९० रनले पराजित गरेको रेकर्ड राखेको छ ।
नेपालको जितमा कुशलले ४३ बलमा १२९ रन बनाए । बलिङमा नेपालका लागि कुशल मल्लले १.२ ओभरम एक मेडन राखी तीन रन खर्चेर सर्वाधिक तीन विकेट लिए । यसैगरी सन्दीप लामिछानेले चार ओभरमा २९ रन खर्चेर दुई तथा सोमपाल कामीले ११ रन खर्चेर दुई विकेट हात पारेका थिए । खेलका म्याच अफ दी म्याच भुर्तेलले एक ओभरमा एक रन मात्र दिए ।
रेकर्ड बराबरी गर्न १ रन कम
चीनसँगको खेलमा नेपाल टी–२० आई फम्र्याटमा आफ्नै सर्वाधिक रनको बराबरी गर्न १ रनले चुकेको छ । नेपालले २०२३ मा चीनको हाङझाउमा भएको १९औँ एसियाडमा मंगोलियाविरुद्ध ३१४ रन बनाएको थियो । सो खेलमा कुशल मल्लले टी–२० आईमा सबैभन्दा कम बलमा शतकीय इनिङ्स खेलेका थिए । उनको यो रेकर्ड अहिले तोडिएको छ । टी–२० आईमा सर्वाधिक योगफल बनाउने सूचीमा नेपाल दोस्रो र तेस्रो स्थानमा छ । शीर्ष स्थानमा जिम्बावे रहेको छ । जिम्बावेले २०२४ मा नैरोबीमा गाम्बियाविरुद्ध ३४४ रनको विश्वकीर्तिमान बनाएको छ । टी–२० आईमा जर्मनी र इंग्ल्यान्डले पनि एकपटक तीन सयभन्दा बढीको स्कोर गरेका छन् ।
भुर्तेलको दोस्रो टी–२० आई शतक
नेपालका ओपनर भुर्तेलले टी–२० आई करिअरमा दोस्रो शतक बनाएका छन् । यस फम्र्याटमा नेपालबाट दुई शतक प्रहार गर्ने उनी पहिलो ब्याट्सम्यान हुन् । उनले चीनको कमजोर बलिङको फाइदा लिँदै १२९ रन बनाए । उनले सय रन ३५ बलमा पूरा गरेका थिए । टी–२० आईमा छिटो शतक लगाउने सूचीमा भुर्तेल पाँचौँ स्थानमा छन् । शतक बनाउँदा उनले चार चौका र १२ छक्का प्रहार गरेका थिए । उनले २३ बलमा ५० रन जोडेका थिए ।
५० रनपछि भुर्तेलले शतकीय इनिङ्स खेल्न केवल १२ बल सामना गरेका थिए । समग्रमा उनले पाँच चौका र सर्वाधिक १६ छक्का प्रहार गरे । टी–२० आईमा नेपालका लागि पारस खड्का, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी र कुशल मल्लले समान एक शतक प्रहार गरेका छन् । भुर्तेलले चीनविरुद्ध बनाएको योगफल नेपालको दोस्रो उच्च हो । यसअघि कुशलले १९औँ एसियाडमा मंगोलियाविरुद्ध अविजित १३७ रन जोडेका थिए ।
एकै ओभरमा ६ छक्का
भुर्तेलले चीनविरुद्ध मैदानको चारैतिर बाउन्ड्री लगाए । उनले चीनका चेन झोउविरुद्ध एकै ओभरमा ६ छक्का हाने । यो रेकर्ड बनाउने उनी नेपालका दोस्रा खेलाडी हुन् । यसअघि दीपेन्द्रसिंहले एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । इनिङ्सको नवौँ ओभरमा चेनको सबै बलमा भुर्तेलले छक्का प्रहार गरेका थिए । उनले पहिलो पाँच बलमा लगातार छक्का प्रहार गरेका थिए । त्यसपछि चेनले छैटौं बल वाइड फ्याँके । अर्को बलमा पनि भुर्तेलले छक्का प्रहार गरे । टी–२० आईमा भारतका बायाँहाते बलर युवराज सिंहले पहिलोपटक एकै ओभरमा ६ छक्का प्रहार गरेका थिए । वेस्ट इन्डिजका किरण पोलार्डले पनि यो उपलब्धि हात पारेका छन् ।
एकै खेलमा २९ छक्का
नेपालले टी–२० आईमा एउटै खेलमा सर्वाधिक छक्काको रेकर्ड बराबरी गरेको छ । नेपालले चीनविरुद्ध समग्रमा २९ छक्का प्रहार गरेको थियो । यसअघि स्पेनले क्रोएसियाविरुद्ध एकै खेलमा २९ छक्काको रेकर्ड राखेको थियो । चीनविरुद्ध भुर्तेल एक्लै १६ छक्का प्रहार गरेका थिए । यसैगरी रोहित पौडेलले सात, कुशल मल्लले पाँच र आसिफ शेखले एक छक्का प्रहार गरे । जिम्बावेले गाम्बियाविरुद्ध २७ छक्का हिर्काएको थियो । मंगोलियाविरुद्ध २६ छक्का प्रहार गरेको थियो ।